लिम्बुवान पार्टीमा तीब्र मतभेद



धरान । किरात याक्थुङ चुम्लुङको संयोजनमा भईरहेको संयुक्त लिम्बुवान संघर्ष समितिको आन्दोलनलाई लिएर प्रमुख घटक संघीय लिम्बुवान पार्टी नेपालभित्र तीब्र मतभेद उत्पन्न भएको छ ।
पार्टी अध्यक्ष कुमार लिंदेन संघर्ष समितिमा रहेर नै लिम्बुवानी आन्दोलनलाई शान्तिपुर्णरुपमा अघि बढाउनुपर्ने पक्षमा छन् भने पार्टीका अन्य शीर्ष नेताहरु सशक्तढंगले अलग्गै आन्दोलन अघि बढाउनुपर्ने पक्षमा छन् । शुक्रबार अध्यक्ष लिदेंनबाहेक सर्वमान्य नेता वीर नेम्बाङ, वरिष्ठ नेता सञ्जुहाङ पालुंवा, महासचिव सुर्य माखिम, सचिव छवि सम्बाहाम्फेलगायत नेताहरुले दमकमा पत्रकार सम्मेलन गर्दै अलग्गै आन्दोलनको घोषणासमेत गरिसकेको छ । यसले पार्टीभित्रको असन्तुष्टी र मतभेद सतहमा देखिएको थियो । अध्यक्ष लिंदेनले संघर्ष समितिमा आवद्ध भएर आन्दोलन अघि बढाइरहेकोप्रति अन्य नेताहरु सन्तुष्ट छैनन् । पार्टीका सर्वोच्च नेता कमल छाराहाङले त लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिबाट राजिनामासमेत दिइसकेका छन् । त्यसो त गत बर्ष भेडेटारमा पाँच लिम्बुवानवादी पार्टीबीच एकता भएर अध्यक्ष बनेपछि लिंदेनले आन्दोलन उठाउन नसकेको भन्दै अन्य नेताहरु सन्तुष्ट थिएनन् ।
 असन्तुष्टीको मुल कारण एकतापछि एमाओवादीको ३० दलीय मोर्चामा अध्यक्ष लिंदेनले पार्टीलाई समावेश गर्नु पनि थियो । एमाओवादीले तीन दलसँग १६ बुँदे सहमति गरेर पहिचानर र लिम्बुवानलाई धोका दिएको भन्दै उक्त मोर्चामा पार्टीलाई समावेश गराउनु नै गलत भएको अन्य नेताहरुको बुझाई छ । यस्तै, पद्मरत्न तुलाधार संयोजक रहेको मोर्चामा पनि पार्टी थियो । संघर्ष समितिमा लिम्बुवानी आन्दोलनलाई धोका दिने एमाओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा पनि आवद्ध छ । यसकारण पनि अन्य नेताहरु संघर्ष समितिमा रहनु हुन्न भन्ने पक्षमा छन् । पार्टीको निर्णय बेगर नै अध्यक्ष संघर्ष समिति गएको शीर्ष नेताहरुको भनाई छ ।
पार्टीमा उत्पन्न मतभेद र अध्यक्षबाहेक अलग्गै आन्दोलन घोषणाले पार्टी फुटको संघारमा पुगेको चर्चा एवं टिकाटिप्पणी शुरु भएको छ । तर, पार्टी नेताहरु मतभेद र आन्तरिक विवाद रहेको स्वीकार गरेपनि पार्टीमा विभाजनको अवस्थामा भने नपुगेको जिकिर गर्छन् । ‘पार्टी एकताकै चरणमा रहेकोले फरकमतहरु छन्, कतिको विगतले पनि काम गरेको छ’–संयुक्त संघर्ष समितिद्धारा शनिबार धरानमा आयोजित पत्रकार सम्मेलन अध्यक्ष लिदेंनले भने–‘अहिले नेता के चाहन्छ, त्यो ठुलो कुरा होइन । जनता एकीकृत र संयुक्त आन्दोलन चाहन्छ । पार्टी फुटिसकेको होइन, २, ३ वटा मत आ आफ्नो छ ।’
उनका अनुसार अन्य नेताहरुले चुम्लुङसँग सहकार्य नगरी पार्टी एक्लैले आन्दोलन हाँक्नुपर्ने, समानान्तर सरकार, जनमत संग्रह र ग्रेटर लिम्बुवानमा अघि बढ्नुपर्ने लविङ गरिरहेका छन् । तर, आफु भने शान्तिपुर्ण आन्दोलनबाट नै लिम्बुवानी आन्दोलन उठाउनुपर्ने पक्षमा रहेको उनले बताए । ‘सञ्जुहाङ पालुङ्वा हिजो पनि पार्टी ३० दलीय मोर्चामा हुदा सन्तुष्ट थिएनन्, आज पनि चुम्लुङ नेतृत्वमा सन्तुष्ट छैनन् । पाँच पार्टी एकता भएकोले केही समयसम्म मतभेद त रहन्छ नै । पार्टी फुटिसकेको होइन’–उनले भने ।
उता सर्वमान्य नेता वीर नेम्बाङ लिम्बुवानी आन्दोलनलाई सशक्तरुपमा उठानकै लागि पार्टी एकता भएपनि अध्यक्ष लिंदेनले आन्दोलन गर्न वास्तै नगरेको बताउछन् । चुम्लुङ जातीय, सामाजिक संस्था भएकोले लिम्बुवानी आन्दोलनको नेतृत्व लिनु नहुने आफुहरुको धारणा रहेको उनले बताए । चुम्लुङ नेतृत्वको संघर्ष समितिमा पनि अध्यक्षले पार्टीमा निर्णय नै नगरी समाहित भएको उनले बताए । महासचिव सुर्य माखिमले भने सहमतिमा नै अध्यक्ष संयुक्त संघर्ष समितिबाट आन्दोलन अघि बढाउने र पार्टीले छुट्टै आन्दोलन गर्ने घोषणा गरेको बताउछन् । ‘हिजोको दिनमा प्रचण्ड नेतृत्वको मोर्चा, पद्मारत्न तुलाधरको मोर्चामा पनि रह्यौं । त्यसबाट धेरै धोका खाइयो’–महासचिव माखिमले भने–‘चुम्लुङ समाज कल्याणमा दर्ता भएको संस्था हो, भोली संविधान जारी भएपछि चुम्लुङ आन्दोलन फितलो हुनसक्छ । त्यसैले पार्टीले नै स्थायी किसिमको मुल आन्दोलन अघि बढाउने निर्णय लिएको हो ।’ पार्टी एकताको चरणमा रहेकोले मतभेद देखिनु स्वाभाविक भएको उनले बताए ।

वरिष्ठ नेता पालुङ्वाको संयोजनमा घोषित आन्दोलन कार्यक्रममा असोज ३ गतेलाई कालो दिन घोषणा गरी ४ गतेदेखि अनिश्चितकालीन आमहडतालको घोषणा गरेको छ । तेस्रो चरणको आन्दोलनअन्र्तगत सरकारी, सर्वजनिक कार्यालय एवं सवारी साधानहरुमा लिम्बुवान राज्य लेख्नेदेखि सदरमुकाम र नगरहरु कब्जा गर्ने, समानान्तर संविधान र सरकार घोषणा गर्नेसम्मका कार्यक्रमहरु रहेको छ । अरुण सप्तकोशी पुर्वका ९ जिल्लालाई ऐतिहासिक पृष्ठभुमी र शासकीय भुगोलको आधारमा आत्मनिर्णयको अधिकारसहित लिम्बुवान राज्य सुनिश्चित नगरेकोले संविधान जारी हुने दिनलाई कालो दिनकोरुपमा मान्दै ३ गते साँझ ५ बजे सबै जिल्ला सदरमुकाम र नगरमा संविधान जलाउने उल्लेख छ । साथै, लिम्बुवान विनाको संविधान आएकोले ४ गतेदेखि अनिश्चितकालीन आमहडताल गर्ने पनि पार्टीले जनाएको छ । यस्तै, संघर्ष समितिले पनि २ गते राके जुलुस, ३ गतेदेखि अनिश्चितकालीन आम हडताल, असोज ४ गते संविधान जलाउनेलगायतको कार्यक्रम सार्वजनिक गरेको छ ।

शिङ्सा, याक्खा छुम्मा र याक्खालेन लिम्बुवान आन्दोलनमा
किरात याक्थुङ चुम्लुङको संयोजनमा जारी रहेको लिम्बुवान आन्दोलनमा शिङ्सा कल्याण केन्द्र, किरात याक्खा छुम्मा र याक्खालेन बिशेष स्वायत्त परिषदले ऐक्यवद्धता जनाएको छ । शनिबार लिम्बुवान संयुक्त संघर्ष समितिको लिम्बुवान कब्जा कार्यक्रमा संयुक्त पत्रकार सम्मेलन गर्दै लिम्बुवान आन्दोलनमा एक्यवद्धता जनाएको हो । चुम्लुङसँग भएको वार्तामा शिङ्सा बिशेष स्वायत्त क्षेत्र, याक्खा बिशेष स्वायत्त क्षेत्र स्थापित गर्न प्रतिवद्धता जनाउदै लिम्बुवान आन्दोलनमा एकाकार भएको जनाए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे