एम्बुलेन्स चालकलाई प्राथमिक उपचार तालिम


धरान । धेरैअघिदेखि ड्राइभिङ पेशामा भएपनि वामन राईले सन् २००१ देखि इटहरीस्थित परिवार स्वास्थ्य केन्द्रको एम्बुलेन्स चलाउन थालेका थिए । एमबुलेन्स चालकलाई प्राथमिक उपचारको ज्ञान अनिवार्य हुनुपर्ने भएपनि उनले उक्त तालिम लिएका थिएनन् । उनको एमबुलेन्समा अक्सिजन सिलिण्डर थियो, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने उनलाई ज्ञान थिएन ।
तिनै एमबुलेन्स चालक राई शनिबार भने विरामीको ज्यान जोगाउन आफ्नो भुमिका कति महत्वपुर्ण छ भन्ने थाह पाउदा छक्क परे । उनकै भनाईमा एमबुलेन्स चालकको लापरवाहीले विरामीको ज्यान पनि जानसक्ने रहेछ । ‘हामी त चालक मात्रै होइनौं रहेछ, विरामीको ज्यान बचाउन पनि हाम्रो भुमिका हुदो रहेछ’–प्राथमिक उपचार तालिम लिएपछि राईले भने–‘यो कुरा बुझेकै रहेनछौं, तालिमले जिम्मेवार बनायो ।’ उनका अनुसार विगतमा विरामीलाई घटनास्थल एवं घरदेखि अस्पतालसम्म चाडो पुर्याउन मात्रै ध्यान दिन्थे । अब भने विरामीको अवस्था बुझेर तत्काल आवश्यकता अनुसार प्राथमिक उपचार दिनतर्फ पनि ध्यान दिने उनले बताए ।
राई मात्रै होइन, शनिबार धरान १ स्थित नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखा कार्यालयमा प्राथमिक उपचार तालिम लिने एमबुलेन्स चालकहरुको अवस्था समान थियो । अधिकांशले लामो समयदेखि विभिन्न संस्थाका एमबुलेन्स चलाइ रहेपनि प्राथमिक उपचार तालिम लिएका थिएनन् । कतिसम्म भने अक्सिजन सिलिण्डरमा हुने बोटलको पानी दिनहु फेरिनुपर्ने भएपनि चालकहरुले बर्षदिनसम्म पनि नफेरेको बताए । कतिलाई त विरामीलाई अक्सिजन कति र कसरी दिने भन्ने पनि ज्ञानै थिएन । पुर्वमा ग श्रेणीका मात्रै एमबुलेन्स सञ्चालनमा छ । एमबुलेन्स सेवा सञ्चालन नीतिअनुसार ग श्रेणीको एमबुलेन्स चालकले अनिवार्य प्राथमिक उपचार तालिम लिएको हुनुपर्छ भने एमबुलेन्समा फ्रष्टएड बक्स, अक्सिजन सिलिण्डर, फ्लो मिटर र मास्क जडान गरिएको हुनुपर्छ भने आइ.भि.इनजेक्सन दिने व्यवस्थासँगै स्टेथेस्कोप, बि.पि.अपार्टस्, टर्च लाइट हुनुपर्छ ।
रेडक्रस जिल्ला शाखाका अनुसार सुनसरीमा चल्ने एम्बुलेन्स मध्ये ८० प्रतिशत चालकले प्राथमिक उपचार तालिम लिएका छैनन् भने अधिकांश एमबुलेन्समा प्राथमिक उपचारको आवश्यक सामग्रीहरु पनि छैन । गत असारमा रेडक्रसले गरेको अनुगमनको क्रममा ८० प्रतिशत बढी चालकहरुले तालिम नलिएको फेला परेको थियो । ‘एमबुलेन्सको चालक अरु गाडी जस्ता हुदै होइन, यो त स्वास्थ्यसँग जोडिएको हुनाले विशिष्ट सेवा दिने पेशा हो’–रेडक्रसका जिल्ला सभापति उमेश थापाले भने–‘चालकले स्वास्थ्य सम्बन्धी जानकारी लिएको हुनुपर्छ, विरामी अस्पतालसम्म सहज र सुरक्षितरुपमा पुगोस् भनेर तालिम दिएका हौं ।’ तालिम लिन बाँकी चालकलाई पनि चाडै दिइने उनले बताए । सुनसरी रेडक्रसमा कुल ७९ वटा एमबुलेन्स सम्पर्कमा रही सञ्चालनमा रहेको छ ।

प्राथमिक उपचार तालिममा विभिन्न सेवा प्रदायक संस्थाका २९ जना चालकहरु सहभागी थिए । चालकहरुलाई दुर्घटनामा घाइते भएकालाई कसरी काम्रो बाध्ने, स्टेचरमा कसरी सुताउने, दमका रोगीलाई कस्तो आसनमा राख्ने, अक्सिजन कुन मात्रामा र कसरी प्रयोग गर्ने, बेहोसी हुदादेखि एम्बुलेन्समै बच्चा जन्मिएमा के गर्ने सम्मका व्यावहारिक ज्ञान दिलाइएको थियो । गम्भीर प्रकृतिका विरामीको अवस्था बिग्रन नदिई अस्पतालसम्म पुर्याउन एमबुलेन्स चालकको भुमिका महत्वपुर्ण हुने भएकोले तालिम लाभदायक हुने प्रशिक्षक एवं बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेडियाट्रिक विभागकी सिनियर स्टाफ नर्स निर्मला अधिकारीले बताइन् । ‘चालकको थोरै सावधानीले पनि विरामीको अवस्था बिग्रन दिदैन र ज्यान बचाउन सकिन्छ । लामो बाटो छ भने प्राथमिक उपचारको विधि अपनाएर सुरक्षितढंगले अस्प्ताल पुर्याउन चालकको भुमिका हुन्छ’–उनले भनिन् । उनले चालकहरुलाई अक्सिजन सिलिण्डरको प्रयोग र उपयोगिताबारे प्रशिक्षण दिएकी थिइन् । यसैगरि, जिल्ला शाखा उपसभापति डम्बर प्रसाद सिग्देलले भच्चाई र खुस्काई, पाँचकन्या रेडक्रसका सालिग्राम शर्मा बजगाईले बेहोसी, प्राथमिक उपचार प्रशिक्षक उमेश सुवेदीले रक्तस्राव र घाइतेको ओसारपसार, सुजता श्रेष्ठले रोड सेफ्टी र चालकको सावधानीबारे तालिम दिलाएकी थिइन् ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे