धरानमा तिजको रौनक(फोटोफिचर)


धरान । हिन्दु महिलाहरुको महान् चाड भनिएको हरितालिका तिज आउन अझै साता दिन बाँकी नै छ । तर, महिलाहरुलाई भने तिजको रौनकले छोपिसकेको छ । विभिन्न संघसंस्थाहरुले दिनहुजसो आयोजना गरिरहेको तिज उत्सवहरुमा महिलाहरु रमाउन थालिसकेका छन् ।

धरानमा आइतबार मनिहारी तथा उपहार व्यापार संघले मनिहारी तिज उत्सव आयोजना गर्यो । सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा महिलाहरु साडी, चोली र गरगहनामा सजिएर नाचगान गरे । त्यही हलमा सोमबार सौन्दर्य कला व्यावसायी संघ नगर समितिले तीज कार्यक्रम आयोजना गर्यो । संघले दैवि प्रकोप पीडितलाई सहयोग जुटाउने उद्देश्यले तीज कार्यक्रम आयोजना गरेको जनाएको थियो । उक्त कार्यक्रममा पनि धरानका सौदन्र्य व्यावसायी र विभिन्न पेशा, व्यावसायका महिलाहरुको उल्लेख्य सहभागीता थियो । कार्यक्रममा सहभागी अगुवा महिलाहरुले तिज सँस्कृति भएपनि पछिल्लो समय खर्चिलो र भड्किलो हुदै गएको प्रति पनि सहभागी महिलाहरुलाई सजग गराए ।
महिला समाजसेवी एवं परिवार नियोजन संघकी जिल्ला सभापति श्यामा रेग्मीले तिजले महिलाको पहिचान झल्काउने एवं माइती र चेलीबीच अगाध प्रेम दर्साउने भएपनि पछिल्लो समय भड्किलो हुदै गएको भन्दै चिन्ता जताए । ‘तिज सँस्कृति मात्रै होइन, महिला स्वतन्त्रताको प्रतिक पनि हो । जहानीय शासनको बेला पनि महिलाहरु गीत गाएर आफ्नो दुखेसो पोख्थे र मन हलुका पार्थे’–उनले भनिन्–‘तर, अचेल तीज तडक भडक, भड्किलो हुदैछ, यसतर्फ तपाई हामीले सचेत हुनुपर्छ ।’ देशमा जाति, धर्मको नाममा द्धन्द चलिरहेको बेला तिजमा भने सबै जाति, समुदायका महिलाहरु हर्ष उल्लासले सहभागी हुने भन्दै उनले जातीय सद्भावको उदाहरण भएको बताइन् । यो सद्भाव र महिला एकताको सन्देशलाई अन्यत्र पनि फैलाउनुपर्ने उनको सुझाव थियो ।
आयोजक संघकी अध्यक्ष अम्बिका घिमिरे आचार्यले सँस्कृति जोगाउदै समाजसेवा पनि गर्ने उद्देश्यले जित कार्यक्रम आयोजना गरिएको बताइन् । कार्यक्रममा संकलित रकम खर्च कटाएर पुर्वकै कुनै ठाउमा सहयोग पठाउने उनको भनाई छ । कामकाजी ब्युटिसियन महिलाहरु सधै ब्यस्त रहने र तिजको दिन पनि घरमा फुर्सद नहुने भएकोले बर्षमा एक पटक साथीसंगी मिलेर रमाइलो गर्ने उद्देश्य पनि रहेको उनले बताइन् । तिजलाई धेरै भड्किलो बनाउन नहुनेतर्फ आफुहरु सचेत रहेको उनको भनाई थियो । तिज कार्यक्रममा मिस तिजसँगै विभिन्न विधामा पुरस्कार पनि दिइएको उनले बताइन् । कार्यक्रममा दुई सय बढीको सहभागीता थियो ।
...............

                                  तीन दिने जेसिज तीज उत्सव हुने 

धरान जेसीजको आयोजना तथा धरान जेसीज प्रथम महिला समुहको संयोजनमा यही भदौ २४ देखि २६ गतेसम्म तीन दिने तीज उत्सव आयोजना गरिने भएको छ ।
जेसिजले सोमबार पत्रकार सम्मलेन गर्दै स्थानीय स्रोत र साधनबाट उत्पादित सामग्री, तीज तथा कुशे औशीलक्षित उपभोग्य सामग्री तथा महिला समुहको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ । उत्सवमा राखिने स्टलहरुमा तीज पर्व र कुशे औशीको लागि सहुलियत दरको बजार र स्वास्थ्य पारिवारिक मनोरञ्जन हुने धरान जेसिजका अध्यक्ष प्रेमराज शाक्यले बताए । ‘महिलाहरुको उत्पादनलाई बजारीकरण हुन्छ । साथै, कुशे औशी र तिजलाई आवश्यक सामग्रीहरु एकै थलोमा सस्तो, सुलभ मुल्यमा किनमेल गराउने र भेटघाटलाई व्यवस्थित गराउने उद्देश्यले आयोजना गर्न लागेको हो’–उनले भने ।
आयोजकका अनुसार धरान १० स्थित सैनिक भवनमा हुने उत्सवमा ३० वटा स्टल रहनेछ । जसमा मेहन्दीको सामग्री, रेष्टुरेष्ट, सौदन्र्य प्रशासनका सामग्री, घरेलु सामग्री, नेल आर्ट, खाद्यान्न तथा हल्का पेय पदार्थ, साडी, कुर्ता, बालबालिकाको मनोरञ्जन खेलहरु रहेनछ । यसबाहेक गरिमा डान्स सेन्टरको साँस्कृतिक प्रस्तुती, स्थानीय र राष्ट्रिय कलाकारहरु, महिला समुहबाट पनि सांगीतिक प्रस्तुती हुने संयोजक लक्ष्मी राईले बताइन् । उनका अनुसार ४ वटा स्टल विभिन्न महिला एवं असहाय, अशक्तहरुको उत्पादन प्रर्वद्धन गर्नको लागि निःशुल्क प्रदान गरिनेछ । तीज भड्किलो नहोस् भनेर नै स्थानीयस्तरको उत्पादनलाई प्रर्वद्धन गर्न र सस्तोमा उपलब्ध गराउन उत्सव गर्न लागेको प्रथम महिला समुहकी संयोजक रेवा श्रेष्ठले बताइन् ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे