बीपीका सुरक्षा गार्ड काममा फर्के
धरान । आर्थिक बर्ष ०७०/०७१ मा नेपाल सरकारले बृद्धि गरेको तलब भत्ता पाउनुपर्ने माग गर्दै आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेक्युरिटी गाडीहरु सोमबार साँझदेखि काममा फर्किएका छन् ।
ठेकेदार कम्पनीले जिफोरएसले चालु सेप्टेम्बर महिनाको भत्ता वृद्धि गर्न सहमति जनाएपछि सुरक्षा गार्डहरु काममा फर्किन सहमत भएका हुन् । गत भदौ २८ गतेदेखि सुरक्षा गार्डहरुले २४ घण्टा नै काम छोडेर आन्दोलनमा होमिएका थिए । जसले गर्दा प्रतिष्ठानको आन्तरिक सुरक्षा अस्तब्यस्त बनेको थियो । सुरक्षा गार्डहरु डिउटी छोडेर ठेकेदार कम्पनीको कन्ट्रोलरुम अघि धर्नामा बस्ने गरेका थिए । उनीहरुले जिफोरएसको कन्ट्रोल रुममा तालासमेत लगाइदिएका थिए ।
आन्दोलन लम्बिदा अस्पतालजस्तो संवेदनशील ठाउँको सरक्षा अस्तब्यस्त हुदै गएपछि समाधान गर्न जिफोरए डाइरेक्टर गार्डिङ सुन्दर प्रताप राना र एचआर विभागका प्रबन्धक विनोदप्रसाद मिश्र केही दिनदेखि धरानमा थिए । बुधबार भएको वार्तामा सेप्टेम्बर महिनाको भत्ता एक हजार बढाईदिन कम्पनी सहमत भएपछि गार्डहरु पनि आन्दोलन फिर्ता लिन सहमत भई काममा फर्किएको जिफोरएसका इञ्चार्ज वलराम निरौलाले बताए ।
सरकारले वृद्धि गरेको भत्ता १८ सय पाउनुपर्ने माग गर्दै गार्डहरुले आन्दोलन गरेपछि कम्पनीले गत बर्ष नै ८ सय भत्ता बढाईदिएको थियो । बाँकी एक हजार पाउन प्रतिष्ठानसँग पहल गर्ने सम्झौता थियो । उक्त बाँकी भत्ता एक हजार पनि पाउनुपर्ने भन्दै गार्डहरु भदौ दोस्रो सातादेखि चरणवद्ध आन्दोलनमा थिए । ‘हाम्रो दुई बुदे मागमध्ये एक हजार भत्ता बढाउनुपर्ने माग पुरा भएकोले आजै साँझदेखि डिउटीमा फर्कियौं । कन्ट्रोलरुमको ताला पनि खोलिसक्यौं’–संघर्ष समितिका संयोजक उमेश दाहालले भने । सुरक्षा गार्डहरुले खाईखाई आएको ९ हजार ५ सय ४० रुपैयालाई बेसिक सेलरी कायम गरिनुपर्ने माग भने पुरा हुन सकेको छैन ।

Comments
Post a Comment