पुर्वमै पर्यटक उडाउने टेण्डम पाइलटको चाहना
धरान । पुर्वका छ जना युवाहरुले साहसिक खेल पर्यटन प्याराग्लाइडिङमा टेण्डम पाइलटको उडान अनुमति पत्र(लाइसेन्स) पाएका छन् । नेपालमा प्याराग्लाइडिङ शुरु भएको झण्डै दुई दकशमा पहिलो पटक सरकारले लाइसेन्स दिदा पुर्वका ६ पाइलटले पनि पाएका हुन् । लाइसेन्स युवाहरुमा पुर्वका पहिलो टेण्डम पाइलट देशवीर जिमी, मणीराज तामाङ, एरोन राई(प्रज्वल), जीवनकुमार थेवे, लाक्पा शेर्पा र नरेश राई छन् । देशवीर, मणीराज र नरेश धराने हुन् भने एरोन झापा, जीवन ताप्लेजुङ र लाक्पा सोलुखुम्बुका हुन् ।

भर्खर लाइसेन्स पाएका पुर्वेली युवाहरुले पोखरास्थित विभिन्न कम्पनीबाट कोर्ष पुरा गरेर व्यावसायिक उडान गरिरहेका थिए । नेपाल सरकारले लाइसेन्स नदिए पनि विभिन्न मुलुकको एशोसिएशनले दिएको लाइसेन्सको आधारमा प्याराग्लाइडरहरु पर्यटकलाई उडाइरहेका थिए । आफ्नै सरकारबाट लाइसेन्स पाएपछि पाइलटहरु खुशी छन् भने सरकारलाई मासिकरुपमा राजश्व पनि बुझाउनेछन् । पाइलटहरुका अनुसार मासिकरुपमा ९ हजार ४० रुपैया एयरपोर्ट परमिट तिर्नुपर्ने हुन्छ । सरकारले प्याराग्लाइडिङलाई पनि नियमन गर्न नयाँ खेलकुद हवाई नियमावली पनि लागु गरेको थियो । नेपाल हवाई खेलकुद संस्थासँग समन्वय गरी प्राधिकरणले पहिलो पटक लाइसेन्स दिएको हो ।
पुर्वको धरानमा उडान परीक्षण सफल भइसके पनि व्यावसायिक उडान भने हुन सकेको छैन । लामो समयदेखि व्यावसायिक उडानको पहल गरिरहेको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले सरकारबाट एओसि पाउन बाँकी छ भने एओसी पाइसकेको भनिएको धरान स्काई एडभेञ्चर प्रालिले व्यावसायिक उडानको शुरुवात गर्न भने सकेको छैन । पाइलटहरु भने पुर्वलाई साहसिक खेल पर्यटनको गन्तव्यकोरुपमा प्रर्वद्धन र विकास गर्न आफुहरु तयार रहेको बताउछन् । उनीहरु विगतमा पनि बेला बेला धरानमा आएर परीक्षण उडान गरिरहेका थिए । धरानमा सर्दु जलाधार क्षेत्रको छोटिमोरङस्थित डाँडाबाट प्याराग्लाइडिङ उडान हुने गरेको छ भने बुढासुब्बाले धरान २४(विष्णुपादुका) स्थित डाँडाबाट पनि परीक्षण उडान गर्ने गरेको छ ।
टेण्डम पाइलट देशविर र मणि बैशाख १२ को भुकम्प पछि धरान आएर प्रि–मनसुन टेस्ट फ्लाइट पनि परेका थिए । त्यतिबेला बुढासुब्बा प्याराग्लाइडिङ कम्पनीले विष्णुपादुकास्थित चिण्डेडाँडाको टेकअफ प्वाइन्ट र ल्याण्डिङ स्पट अध्ययन एवं तयारी गरेको थियो । नेपालमा पोखराबाहेक भर्खर मात्रै तनहुको बन्दीपुर, स्याङजाको सोरेक श्रीकोट, सुर्खेत, दाङ र पाल्पामा पनि उडान अनुमति पाएको छ ।
बुढासुब्बा प्याराग्लाइडिङ कम्पनीमा आवद्ध राम राई पनि अबको ४ बर्षपछि पोखरा केन्द्रीत प्याराग्लाइडिङ विमानस्थलको कारण विस्थापित हुने भएकोले त्यसको लाभ पुर्वको पर्यटनले लिनसक्ने बताउछन् । पुर्वेली टेण्डम पाइटल पनि उत्पादन भइसकेकोले साहसिक पर्यटकहरुलाई पुर्वमा भित्र्याउन सकिने उनको भनाई छ । ‘धरान एडभेञ्चर हब बन्नसक्छ । भारतीय पर्यटकहरु एडभेञ्चरप्रति आर्कर्षित भइरहेकोले धेरै फाइदा लिनसकिन्छ’–उनी भन्छन् ।
Comments
Post a Comment