दुई दिनदेखि पुर्व ठप्प(फोटोफिचर)


धरान । संघीय प्रदेशको सिमांकनप्रति असन्तुष्ट लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको आमहड्तालले दुई दिनदेखि अरुण कोशी पुर्वका ९ जिल्ला ठप्प भयो । आमहड्तालको कारण यातायात, बजार, शैक्षिक संघसंस्था एवं उद्योग व्यावसाय पनि बन्द छ । सडकमा मोटरसाइकल, रिक्सा र साइकल मात्रै गुड्न पाएको छ । बन्दकर्ताहरुले बिहिबार राती पनि सडकमा टायर बालेर प्रर्दशन गरे भने गाडी पनि रातको समयमा चल्न दिएन ।
संघर्ष समितिले अरुण कोशी पुर्वका ९ जिल्ला ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान स्वायत्त राज्य घोषणा हुनुपर्ने माग राख्दै बिहिबार र शुक्रबार दुई दिने आमहड्ताल गरेको हो । पुर्वको धरान, इटहरी, दमक, विर्तामोडलगायत मुख्य शहर र चोकमा बन्दकर्ताहरुको बाक्लो उपस्थिति थियो । मुख्य चोकमा डोरी टागेर बन्दकर्ताहरुले मोटरसाइकलसमेत गुड्न दिएको छैन । सर्वसाधारणहरु सहायक बाटोबाट यात्रा गर्न बाध्य छन् । चार दलको सहमतिमा अरुण कोशी पश्चिमका उदयपुर, खोटाङ, भोजपुर, ओखलढुंगा र सोलुखुम्बुसमेत समेटेर पुर्वमा १ नम्बर प्रदेशको सिमांकन गरेपछि कोशी पुर्वका ९ जिल्लामात्रै लिम्बुवान राज्य घोषणाको माग गरिरहेका लिम्बुवानवादी संगठनहरु आन्दोलनमा छ ।
सिमांकनप्रति असन्तुष्टी जनाउदै लिम्बु जातिको साझा संस्था किरात याक्थुङ चुम्लुङको पहलमा भदौ पहिलो साता लिम्बुवानवादी दल र संगठनहरुको संयुक्त संघर्ष समिति गठन भएको थियो । समितिमा एमाओवादीसम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेकपा(एकीकृत)सम्बद्ध लिम्बुवान स्वशासित संघ(एकीकृत), राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध लिम्बुवान राज्य परिषद, नेकपा–माओवादीसम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, संघीय लिम्बुवान पार्टी, संघीय समाजवादी फोरमसम्बद्ध लिम्बुवान प्रदेश समिति र सामाजिक लोकतान्त्रिक पार्टीसमेत छ ।
संघर्ष समितिले भदौ पहिलो सातादेखि नै धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीबाट लिम्बुवान कब्जा अभियान पनि शुरु गरेको छ । समितिले निर्णायक आन्दोलन शुरु गरेको उद्घोष गरेपनि आन्दोलन शान्तिपुर्ण हुने जनाएको थियो ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे