एकमहिने पञ्चकुमारी देवी नाच हुने


धरान । नेवार जातिको कला, सँस्कृतिको जर्गेना एवं विकास गर्ने उद्देश्यले पुर्वका विभिन्न स्थानमा पञ्चकुमारी देवी नाच प्रस्तुत गरिने भएको छ । नेवाः साँस्कृतिक उत्थान मञ्चले शुक्रबार पत्रकार सम्मेलन गर्दै यही असोज १० गते विधिवतरुपमा उद्घाटन हुने नाच कार्तिक १० गते विधिवतरुपमा समापन हुने जानकारी दिएको छ ।
मञ्चका अनुसार असोज १० गते धरान १ स्थित सिंहदेवीमा नाचको विधिवतरुपमा वैदिक विधिबाट शुभारम्भ गरिनेछ । त्यसपछि महिनादिनसम्म धरान र पुर्वका विभिन्न स्थानमा पनि नाच प्रर्दशन गरिने जानकारी दिएको छ । ‘नेवारी भाषा, कला,सँस्कृति लोप हुन नदिउ, संरक्षण गरौं भन्ने उद्देश्यले नै पञ्चकुमारी नाच प्रस्तुत गर्दै आइरहेका छौं । अहिलेका युवा पुस्ता कला,सँस्कृति विर्सदै गएकोमा हामी चिन्तित पनि छौं’–मञ्चकी कार्यबाहक अध्यक्ष सल्मा जोशीले भनिन् । उनका अनुसार ३० जना कलाकारहरुले पञ्चकुमारी सँगै विभिन्न नाचको रिहर्सल सकेर तयारी गरिसकेका छन् ।
संस्थापक अध्यक्ष एवं परिकल्पनाकार नविनकिशोर तमोटका अनुसार विगत तीन बर्षदेखि धरानमा पञ्चकुमारी नाच प्रस्तुत गरिदै आएको थियो । यसपाली पञ्च भगवती नृत्य,अष्ठकुमारी नृत्य, दिजिमा नृत्य, दन्तकाली नृत्य,माता विद्याधरी नृत्य, विन्दवासिन(वनदेवी) नृत्यलगायत पनि प्रर्दशन गरिनेछ । यसबाहेक लिम्बु जातिको च्याब्रुङ, तामाङ सेलो, मारुनीलगायत अन्य आदिबासी जनजातिको सँस्कृतिलाई पनि प्रर्दशन गरिने उनले खुलाए । उनका अनुसार कुमारी नृत्य र अष्ठकुमारी नृत्य प्रत्येक १२ बर्षमा एक पटक मात्रै नाचिने गरिन्छ । धरानको करिब आधा दर्जन स्थानमा नाच प्रस्तुत गरिनेछ भने झापाको धुलाबारी, विर्तामोड, दमकमा र मोरङको उर्लाबारी, विराटचोक, इटहरीमा पनि देखाइनेछ ।
सल्लाहकार चन्द्रकुमार उदाशले असोज १८ गते भने धरान सभागृहमा भव्यरुपमा टिकट शो कार्यक्रम गर्ने बताए । धरानलाई आधार क्षेत्र बनाएर भविष्यमा पुर्वका पहाडी जिल्लाहरुमा पनि नेवारी सँस्कृतिलाई फैलाउन प्रयास गरिरहने उनको भनाई छ । ‘नेवारी कला,सँस्कृति उपत्यकामा मात्रै सिमित भयो । बाहिर पनि नेवार जातिको बसोबास छ, तर आफ्नो सँस्कृति विर्सदै गए’–उदासले भने–‘त्यही भएर पुर्वमा पनि नेवारी कला,भाषा, सँस्कृति स्थापित गर्न मञ्च स्थापना भएको हो । धरानलाई आधार बनाएर पुर्वमा पनि विस्तारै कला,सँस्कृति उत्थानमा जुट्छौं ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे