अदुवाको मुल्य भारतीय बजारमा निर्भर

 धरान । पूर्वी क्षेत्रमा ठुलो परिमाणमा उत्पादन हुने अदुवाको मुल्य भारतीय बजारको मागमा निर्भर हुने गरेको छ । भारततर्फ निकासी हुन नपाउदा भने स्वदेशमा अदुवाको मुल्य नपाएर कृषकहरु समस्यामा पर्ने गरेका छन् ।
पूर्वी नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशतजति भारततर्फ निकासी हुने गरेको छ । सरकारले निर्यातजन्य कृर्षि उत्पादनमा राखेको अदुवाको स्थानीय बजार १० प्रतिशत मात्रै छ । भारतीय बजारमा अदुवाको माग बढी हुँदा यताका किसानहरुले राम्रो भाउ पाउछन् । माग नहुदा भने बिक्री नभएर अदुवा कुहिएर खेर फाल्नुपर्ने व्यापारीहरुको भनाई छ । सरकारले तेस्रो मुलुकमा निर्यात गर्ने सहज वातावरण तयार नगरे वा स्वदेशमा प्रशोधनजन्य उद्योग स्थापना नगरेसम्म अदुवा खेती कृषकहरुको लागी जोखिममा परिरहने उनीहरु व्यापारीहरु बताउछन् ।
‘भारतमा माग भयो भने किसानहरुले भाउ पनि राम्रो पाउछन्, तर भारत लैजान पाएनौं भने बिक्री नभएर त्यसै कुहिएर खेर जान्छ’–धरानको कृर्षि उपज बजारस्थलका थोक बिक्रेता विनोद कुलुङ भन्छन्–‘भारतमा अदुवा धेरै उत्पादन हुदा यताबाट माग कम हुन्छ, नेपालको बजार सानो छ, त्यसबेला किसानहरु साह्रै मारमा पर्छन् ।’ उनका अनुसार भारतीय बजारमा अदुवाको माग हुदा प्रतिकिलो एक सय ६० रुपैयासम्म बिक्री भएको छ भने भारत निकासी गर्न नपाउदा प्रतिकिलो ५ रुपैयामा पनि स्थानीय बजारमा बिक्री हुदैन । ‘अदुवाको उत्पादन राम्रो छ, तर सरकारले बजारीकरणमा ध्यान दिनुपर्छ । अदुवालाई नेपालमै प्रशोधन गरेर त्यसबाट अन्य उत्पादन गर्नेतर्फ सरकारले ध्यान पुर्याउनुपर्छ’–दुई दशकदेखि थोक व्यापार गरिरहेका उनको सुझाव छ ।
पूर्वमा इलाम र धनकुटा जिल्लामा अत्यधिकरुपमा अदुवा उत्पादन हुने गर्छ । यस्तै, सुनसरीको बिष्णुपादुका गाविस, मोरङको उत्तरी गाविस,तेह्रथुम,भोजपुर,सखुवासभा,उदयपुर र खोटाङ्गबाट उत्पादन हुने अदुवा धरानको कृर्षि उपज बजारमा आउने गरेको छ । बजार सञ्चालक समितिका अनुसार यहाँ आएका अदुवा ९० प्रतिशत भारततर्फ निकासी हुन्छ । आर्थिक बर्ष ०६९।७० मा ५ हजार ६ सय ५० मेट्रिकटन अदुवाको कारोबार भएकोमा ५ हजार मेट्रिक टन भारततर्फ निकासी भएको समितिका सदस्य सचिव एवं व्यावस्थापक लक्ष्मण भटराईले जानकारी दिए । उनका अनुसार गत आर्थिक बर्षमा भारतीय बजारमा अदुवाको माग अत्यधिक भएकोले यताका किसानहरुले अदुवाको भाउ पनि राम्रो पाएका थिए । ‘गत साउनमा प्रतिकेजी १६० रुपैयासम्म बिक्री भयो, तर सधैं यस्तो हुदैन’–व्यावस्थापक भटराईले भने–‘गत बर्षको फागुन, चैतमा भारत निकासी नहुदा यहाँको अदुवा कुहिएर त्यसै खेर पनि गयो, किसानहरुले किलोको ५, ६ रुपैयामा दिदा पनि बिक्री भएन ।’
भारतमा निकासी हुने अदुवालाई प्रशोधन त्यहाँका व्यापारीहरुले तेस्रो मुलुकतिर पठाउने गरेको यहाँका व्यापारीहरुको भनाई छ । नेपालले पनि सरकारीस्तरबाट क्वारेन्टाइन र प्रशोधनको व्यवस्था गरेर तेस्रो मुलुकतर्फ निकासी गर्न पहल आवश्यक भएको कृर्षि उपजका व्यावस्थापक भटराईको भनाई छ । त्यसबाहेक, स्थानीयस्तरमा अदुवाबाट सेन्ट, अचार, जाम, मसला उत्पादन गर्ने उद्योगहरु स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । ‘उत्पादन भएको अदुवा बिक्री गर्न किसानहरु भारतको बजारमा भर पर्नुपर्ने अवस्था अन्त्य हुनुजरुरी छ, यसको लागि प्रशोधन कारखाना स्थापनासँगै किसानहरुलाई सुठो बनाएर मसला बनाउने र अन्य थप तालिमहरु दिलाउनुपर्छ’–उनले भने । स्वदेशमा अदुवा पखाल्ने वा प्रशोधन गर्ने व्यवस्था नहुदा किसानले माटोसँगै कृषि उपजसम्म ल्याउने गरेका छन् । त्यहाँबाट व्यापारीहरुले अदुवा धुन पूर्वीभारतको नक्सलबाढी पुर्याउनुपर्दा थप आर्थिक भार खेप्नुपर्छ ।
विगत चार बर्षयता अदुवाको उत्पादन र कारोबारमा वृद्धि हुदै गएको देखिन्छ । आर्थिक बर्ष ०६५। ६६ मा २ हजार ५ सय १८ मेट्रिकटन अदुवाको कारोबार भएकोमा आर्थिक बर्ष ०६६। ६७ मा ३ हजार १ सय ९५ मेट्रिकटन, ०६७।६८ मा ३ हजार ४ सय २० मेट्रिकटन, ०६८।६९ मा ३ हजार ९ सय ५० मेट्रिकटन कारोबार भएको थियो । यस्तै, आर्थिक बर्ष ०६९। ७० मा अहिलेसम्मकै अत्यधिक ५ हजार ६ सय ५० मेट््िरकटन अदुवाको कारोबार भएको कृर्षि उपज बजारस्थलले जनाएको छ । बजारस्थल सञ्चालक समितिका अनुसार आर्थिक बर्ष ०६८।६९ मा जम्मा १० करोड मात्रै अदुवाको कारोबार भएकोमा आर्थिक बर्ष ०६९।७० मा ३२ करोड बराबारको अदुवाको कारोबार भएको थियो ।

(०७० मंसिर १७ गतेको नागरिक दैनिकमा प्रकाशित) 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे