सहमतिपछि बीपीका सुरक्षा गार्डहरुको आन्दोलत फिर्ता
धरान । सरकारले वृद्धि गरेको तलब पाउनु पर्ने एक सुत्रिय माग राखेर आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा गार्डहरुले आन्दोलन फिर्ता गरेका छन् । प्रतिष्ठानको सुरक्षा ठेक्का पाएको जिफोरएसको व्यावस्थापनसँग बिहिबार भएको वार्तामा सहमति भएपछि सुरक्षा गार्डहरुले आन्दोलन फिर्ता गरेका हुन् ।
दिनभर जसो भएको वार्तामा राती करिब ७ बजेतिर मात्रै सहमति भएको थियो । सुरक्षा गार्डहरु आन्दोलनमा उत्रिएपछि अस्पतालको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै निन्दा हुन थालेपछि ठेकेदार कम्पनीको व्यावस्थापनको टिम दुई दिन अघि समस्या हल गर्न धरान आएको थियो । उक्त वार्तामा सम्झौता नसकेसम्म मासिक रुपमा ८ सय रुपैया थप गर्न कम्पनी सहमत भएपछि दुवै पक्षबीच सहमति भएको वार्तामा एमालेका तर्फबाट सहभागी युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्बूले बताए । उनका अनुसार ७ महिनापछि जिफोरएसको सम्झौता सकिने र त्यसपछि पुनः यही कम्पनीले सुरक्षा ठेक्का पाएमा भने गार्डहरुको माग वमोजिम नै तलब बृद्धि गर्ने पनि दुवै पक्षबीच सहमति भएको छ । प्रतिष्ठानका सुरक्षा गार्डहरुले सरकारले बृद्धि गरेको १८ सय रुपैया मासिक रुपमा वृद्धि गरिनुपर्ने माग गर्दै मंसिर २९ गतेदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका थिए ।
.jpg)
प्रतिष्ठानमा स्थापनाकालदेखि नै कार्यरत सुरक्षागार्डहरुसमेत गरेर हाल एक सय २३ जना छन् । स्थापनाकालमा प्रतिष्ठान आफैले गार्ड राखेर तलब खुवाएपनि ०५७ सालदेखि भने सुरक्षागार्ड ठेक्कामा लगाएको थियो । हाल प्रतिष्ठानका सुरक्षागार्डहरुले ठेक्केदार कम्पनी जिफोरएसबाट दैनिक १ सय ९० रुपैयाको दरले मासिक ५ हजार ७ सय तलब र २ हजार ६ सय भत्ता गरेर एकमुष्ठ ८ हजार ३ सय रुपैया पाउदै आएका छन् । यो तलब भत्ता मजदुरको लागि सरकारले निर्धारण गरेको भन्दा ३ सय बढी हो । सरकारले मजदुरको लागि मात्रै ८ हजार रुपैया न्युनतम मासिक तलब निर्धारण गरेको छ ।
Comments
Post a Comment