यु-१३ गल्र्स फुटबलमा सुनसरी फाइनल पुग्यो

समुह विजेता बनेर सेमीफाइनल पुगेको सुनसरीले बिहिबार काठमाण्डौं जिल्लालाई २–१ गोलअन्तरले हराउदै प्रतियोगिताको फाइनल पुगेको हो । वन विभाग क्याम्पसको खेलमैदानमा जारी प्रतियोगिताको सेमीफाइनलमा सुनसरीको जितको लागि पहिलो हाफमा रेखा पौडेल र विमला थापाले गोल गरेको सुनसरीकी प्रशिक्षक भगवती रानाले टेलिफोनमा जानकारी दिइन् । उनका अनुसार काठमाण्डौं जिल्लाको लागि सान्त्वना गोल दोस्रो हाफको ५५ औं मिनेटमा भएको थियो ।
सुनसरीले शनिबार फाइनलमा रौतहट जिल्लाको सामना गर्नेछ । रौतहटले बिहिबार नै भएको दोस्रो सेमीफाइनल खेलमा नवलपरासीलाई ३–१ गोलअन्तरले हराउदै फाइनलमा सुनसरीसँगको भेट पक्का गरेको हो । आगामी बर्ष हुने एएफसी यु–१४ गल्र्स टुर्नामेन्टकोलागि राष्टिय टिम तयार गर्न यो प्रतियोगिता आयोजना भइरहेको हो । मंसिर ३० गतेदेखि जारी प्रतियोगितामा विभिन्न १२ वटा जिल्लाले भाग लिएको थियो ।

सुनसरीको टिममा कप्तान दुर्गा मगर, जानुका परियार, स्वास्तिका राई, मनि डोल्मा शेर्पा, सगुन तामाङ, अस्मिता राई, शान्ति लिम्बू छन् । यस्तै, अनिता तामाङ, हिनिता राई, विमला थापा, मुना मगर, सुस्मिता राई, रेखा पौडेल, गीता चौधरी, सोमिका राई र प्रिति गुरुङ छन् । यो प्रतियोगितामा सहभागी जिल्लाका उत्कृष्ट खेलाडीहरु छनौट गरेर एन्फाले आगामी बर्ष हुने एएफसी गल्र्स टुर्नामेन्टको लागि एन्फाले यु–१४ राष्टिय टिम बनाउनेछ ।
Comments
Post a Comment