अपहरण गरी भारत पुर्याएका बालकको उद्दार
धरान । अपहरणमा गरी भारत पुर्याएको दुई दिनपछि प्रहरीले एक वालकलाई सकशुल उद्दार गर्न सफल भएको छ । धरानमा कवाडी व्यापार गर्ने भारतको पश्चिम वंगालका शर्फुल शेखका एघार बर्षिय छोरा ऋतिक शेखलाई प्रहरीले भारतमा पुगेर अपहरणमुक्त गरेको हो ।अपहरणकारी भारतको पुर्णिया जिल्लास्थित खोरवारी जेलगंगका २४ बर्षीय आतावुल शेख भने पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ । उद्दार गरी ल्याइएका वालकलाई सोमबार इलाका प्रहरी कार्यालयले अभिभावकको जिम्मा लगाएको छ । अपराहणकारी भारतीय भएपनि मुद्दा दर्ता गरिने र नेपाल प्रवेश गरेमा कानुनी दायरामा ल्याइने डिएसपी सञ्जयसिंह थापाले बताए । ‘भारतको पुर्णिया पुगेर अपहरणमा परेका वालकलाई ल्याउन सफल भएका छौं, अपहरणकारी समाउन सकेनौं, तर पछि नेपाल प्रवेश गरेकोबेला कानुनी दायरामा आउने गरी मुद्दा दर्ता हुन्छ’–डिएसपी थापाले भने ।
बालक शनिबार बिहान १० बजेतिर अपहरणमा परेपनि उनका बुबाले भने प्रहरीलाई आइतबार मात्रै जानकारी गराएको थियो । बालक अपहरण भएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मुकुन्दप्रसाद रिजालको कमाण्डमा पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर र अञ्चल प्रहरी कार्यालय, कोशीबाट ७ जनाको संयुक्त टोली आइतबार एघार बजेतिर भारततर्फ गएको थियो । प्रहरी निरीक्षक रिजालका अनुसार पुर्णियास्थित कसवा थानासँग समन्वय गरेर अपहरणकारीको घरमा राती करिब साढे ९ बजेतिर छापा मारिएको थियो । अहपरणकारीको घरमा नै बालक फेला परेपनि शेख भने घरमा भेटिएनन् । ‘छापा मार्दा अपहरणकारी घरमा थिएन, बालकलाई लिएर राती नै नेपालतर्फ आयौं’–प्रहरी निरीक्षक रिजालले भने ।
अपहरणकारी शेख पनि धरानमा कवाडीको व्यापार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । अपहरित बालकका बुबा शर्फुल र अहपरणकारी शेखबीच पनि कारोबार हुने गथ्र्यो । शर्फुलले अपहरणकारी शेखलाई ६ हजार ५ सय रुपैया तिर्नुपर्ने अनुसन्धानबाट खुलेकोले त्यसैको रिसमा पनि अपहरण भएको हुनसक्ने प्रहरीको अनुमान छ । अपहरणमुक्त भएका ऋतिकका अनुसार बुबा नभएको समयमा खेशले उनलाई फालाम दिन्छु, राम्रो कमाइ हुन्छ भन्दै फकाएर टेम्पोमा हालेर लगेका थिए । उनको बुबा धरान ७, राममन्दिर नजिकै डेरा गरेर बस्छन् । ऋतिक भने एक साता अघि मात्रै वेष्टवंगालबाट धरान आएका थिए ।अपहरणकारी शेखले शुरुमा फोन गरेर ऋतिकका बुबासँग तीन लाख फिरौती मागेका थिए । त्यसबेलासम्म आफ्ना नातेदारहरुसँग मात्रै खोजी गरिरहेका उनी फिरौती मागेपछि मात्रै प्रहरीलाई गुहार्न पुगे । प्रहरीले अपहरणकारी शेखसँग कवाडको करोबार गर्ने उनकै गाउँका दुई व्यक्तिमार्फत घरसम्म पुग्न सकेको थियो । आइतबार भारत प्रवेश गर्नुअघि प्रहरीसँग भएको फोन सम्पर्कमा पनि अपहरणकारी शेखले फिरौतीबापत ३ लाख २० हजार मागेका थिए । छोरा हराएपनि शर्फुलले भने प्रहरीलाई एक दिन ढिलो खबर गरेका थिए । सोमबार उनलाई छोरा जिम्मा लगाउदै डिएसपी थापाले भने–‘बच्चाको अभिभावक जिम्मेवार हुनुपर्छ, आफ्नो छोराछोरी हराएपछि समयमै प्रहरीमा खबर गर्नुपर्छ ।’


Comments
Post a Comment