केःलाङ प्रतियोगितामा छथरे समाज विजेता

धरान । यहाँ जारी चासोक तङ्नाम साँस्कृतिक उत्सव ०७० मा आयोजना भएको केःलाङ च्याब्रुङ प्रतियोगितामा धरानको छ थरे समाज केलाङ समुह विजेता बनेको छ ।  धरान १५ स्थित चुम्लुङ हिम परिसरमा आयोजित उत्सवको चौथो दिन शुक्रबार आयोजित प्रतियोगितामा विजेता हुदै छथरे समाजको समुहले रनिङ सिल्डसँगै नगद १० हजार पनि हात पार्यो । अघिल्लो बर्ष भने छ थरे समाजको समुह प्रतियोगितामा तेस्रो भएको थियो । सोही प्रतियोगितामा धरानको फागो चोङवाङ तथा याक्थुङ केलाङ समुह दोस्रो भयो भने इटहरीको फक्ताङलुङ केलाङ समुह तेस्रो भयो । दुवै समुहले क्रमशः सिल्ड एवं नगद ६ हजार र ४ हजार हात पार्यो । प्रतियोगितामा दोस्रो भएको फागो चोङवाङको समुह अघिल्लो बर्ष भने विजेता भएको थियो ।
केलाङ प्रतियोगिताको निर्णायकहरुमा दिलु सुब्बा, बालकृष्ण सिंगक र मानबहादुर साँवा रहेका थिए । प्रतियोगी समुहहरुको साँस्कृतिक भेषभुषा, गहना, कलाकार संख्या, चलकता, हाउभाउ र तालको आधारमा विजेता घोषणा गरिएको निर्णायकहरुको भनाई छ । किरात याक्थुङ चुम्लुङको रजत जयन्तीसँगै मौलिक चाड चासोक तङ्नामको अवसरमा पुष २ गतेदेखि पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सव भइरहेको छ । प्रविधिको तीब्र विकाससँगै युवा पुस्ता पश्चिमी सँस्कृतिप्रति आर्कषित हुदै गएकोले उनीहरुलाई आफ्नो जातीय सँस्कार,सँस्कृतिप्रति मोह बढाउन तथा चासोक तङनामलाई लिम्बुहरुको मौलिक चाडकोरुपमा स्थापित गराउन बर्षेनी उत्सव आयोजना गरेको किरात याक्थुङ चुम्लुङले बताएको छ ।
उत्सवअवधिभर विभिन्न परम्परागत साँस्कृतिक खेलहरु, च्याब्रुङ नाच, पालाम गाउदै धान नाच, हाक्पारे ख्यालीलगायतले धरानका लिम्बू समुदाय र अन्यमा पनि रौनक छाएको छ । उत्सवस्थलमा निर्माण गरिएको लिम्बू जातिको परम्परागत घर याक्थुङ हिम सबैको आर्कषण बनेको छ । आधुनिकीकरणले लोप हुदै गएको र गाउँघरमा मात्रै सिमित हुन पुगेको घरबारे युवा पुस्तालाई जानकारी गराउन राखिएको आयोजकको भनाई छ । उक्त घरमा खेतीपाती गर्दा प्रयोग हुने कृर्षि सामग्रीहरुसँगै हलो, जुवा, ढिकी जातो, पेरोङ्गो, झोलालगायतका सँस्कृतिक बस्तु एवं सामानहरु प्रर्दशनीमा राखिएका छन् ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे