क्रिटिकल मास राइडमा बाल अभियन्ता
धरान । भर्खर ९ बर्ष पाइला टेकेका सदिप राई साइकल चढ्न भनेपछि हुरुक्कै हुन्छन् । ग्रीनह्विल्स माउण्टेन बाइक शोरुम नजिकै घर भएका उनी स्कुल र होमवर्क सकेर हरदम साइकलमा साइक्लिष्टहरुसँगै हुन्छन् ।
अर्का, दश बर्षीय युप्फो लिम्बू र एघार बर्षीय युनिस भुषाल पनि धरानका फुच्चे साइक्लिष्ट हुन् । धरानलाई साइकल सिटि अभियानले गति लिन थालेपछि यी कलिलाहरुमा पनि साइकल मोह ह्वात्तै बढेको छ । साइकलप्रतिको रुचि देखेर उनीहरुलाई अभिभावकले पनि माउण्टेन बाइक किनिदिएका छन् । स्कुलबाहेक घरबाट बाहिर कतै निस्कनु पर्दा उनीहरु आफ्नै माउण्टेनबाइकमा निस्कन्छन् । यिनै फुच्चे साइक्लिष्टहरु शुक्रबार साइकल सिटि अभियानका दाजुदिदीहरुसँग माउण्टेन बाइकमा धरान बजारमा निस्किए । मास राइडमा १६ बर्षीय नेहा राई, १५ बर्ष मिकहाङमा लिम्बू, १६ बर्षीय नेहा श्रेष्ठ, अभिषेक सोनी, विकेक श्रेष्ठ, किरण राई, सन्तोष लिम्बू, कृष्ण केसी, विज्ञ नेपाललगायत सहभागी थिए ।

विश्वभर अंग्रेजी महिनाको अन्तिम शुक्रबार साँझमा ‘क्रिटिकल मास राइड’ हुने गरेको छ । सबैभन्दा पहिला सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा २० जना साइक्लिष्टहरुले क्रिटिकल मास साइक्लिङको नाममा यो अभियान शुरुवात गरेका थिए । पछि, सन् २००३ मा विश्वका ३ सय शहरमा यो अभियान विस्तार भएको थियो । नेपालमा यसअघि यो अभियान काठमाण्डौंमा मात्रै थियो । धरानमा पनि साइकल सिटि अभियन्ताहरुले साइकल लेनको माग गर्दै आइरहेका छन् ।
शुक्रबार आयोजित ‘क्रिटिकल मास राइड’ मा सहभागी बालबालिका तथा युवायुवतीहरु ।
Comments
Post a Comment