साइक्लिङको मज्जा लिदै आउटसाइडर्स ब्याण्ड

धरानमा हुने प्रायः सांगीतिक कार्यक्रममा आउटसाइर्डस ब्याण्ड छुट्दैन । लोकगीतलाई रक शैलीमा प्रस्तुत गर्ने यही ब्याडका सदस्यहरु धरानदेखि चतरा हुदै बराहक्षेत्रसम्म पुगेका थिए । यात्राको क्रममा नौलो अनुभवका साथै शहरको कोलाहलबाट एकदिनको लागि भएपनि छुटकारा मिलेको ब्याण्डका गायक डिल्ली फोम्बोले बताए । उनका अनुसार घण्टौं उभिएर गिटार, ड्रम बजाउनु र गाउनु पर्ने हुदा कलाकारहरुलाई शारीरिकरुपमा फिट रहन पनि साइक्लिङले मद्दत पुग्नेछ । ‘फिजिकलरुपमा हामी कति फिट छौं भन्ने थाह भयो, वातावरण र स्वास्थ्यको हिसाबले पनि साइक्लिङ गर्नु राम्रो हो’–साइक्लिङ टिमको नेतृत्वसमेत गरेका फोम्बोले भने–‘प्रकृत्तिसँगको मजा पनि लुट्यौं, शहरबजारबाट बाहिर पुग्दाको बेग्लै आनन्द पनि भयो ।’

साइक्लिङप्रति गीत,संगीत क्षेत्रबाट पनि रुचि बढेपछि धरानलाई साइकल सिटि बनाउने अभियानमा जुटेका साइक्लिष्ट युवाहरु थप उत्साहित बनेका छन् । ‘साइकल सिटि अभियानमा कलाकारहरुको पनि समर्थन र सहभागीता हो’–ब्याण्ड सदस्यसँगै राइडमा गएका केसीले भने । ग्रिनह्विल्सका प्रमुख कार्यकारी अधिकृत हेम लिम्बुले ब्याण्ड सदस्यहरु साइक्लिङमा जादा अन्य क्षेत्रको पनि ध्यानाकर्षण हुने आशा व्यक्त गरे । ‘अहिले धेरै क्षेत्रबाट साइक्लिङप्रति आर्कषित भइरहेको छ, यो सुखद कुरा हो’–लिम्बूले भने–‘यसले धरानलाई साइकल सिटि बनाउन मात्रै होइन, पर्यटन प्रर्वद्धनमा पनि थप मद्दत पुग्छ ।’
Comments
Post a Comment