सरकारले बढाएको तलब माग गर्दै बीपीका सुरक्षागार्ड आन्दोलित

धरान । सरकारले वृद्धि गरेको तलब पाउनु पर्ने एक सुत्रिय माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सुरक्षा श्रमिक(गार्ड)हरु आन्दोलित बनेका छन् ।
मंसिर २९ गतेदेखि कालेपट्टी बाँधेर चरणवद्ध आन्दोलनमा उत्रिएका सुरक्षागार्डहरुले शुक्रबारदेखि भने बिहान र दिउँसो दुवै सिफ्टमा २÷२ घण्टा डिउटीमा बस्न छाडेका छन् । स्वास्थ्य जस्तो संवेदनशील संस्थाका सुरक्षागार्डहरु डिउटी छाडेर आन्दोलनमा उत्रिएपछि अस्पतालमा सुरक्षा चिन्ता पनि बढेको छ । तथापी, आन्दोलित सुरक्षागार्डहरुले आकस्मिक कक्ष, बच्चाको आकस्मिक कक्ष, गाइनो आकस्मिक कक्ष र उपकुलपति क्वार्टरमा भने डिउटी यथावत राखेको जनाएका छन् । एकसुत्रिय माग पुरा नभए आइतबार थप सशक्त आन्दोलनको घोषणा गर्ने संयुक्त सुरक्षागार्ड संघर्ष समितिले जनाएको छ ।
‘श्रम ऐनअन्र्तगत सरकारले बढाएको तलब पाउनुपर्छ भन्ने मात्रै हाम्रो माग हो, प्रतिष्ठानको व्यवस्थापनले अहिलेसम्म सुनुवाई नै गरेको छैन’–संघर्ष समितिका संयोजक प्रेमबहादुर कँुवरले भने–‘आइतबारसम्म पनि सुनुवाई नभए थप सशक्त आन्दोलनको घोषणा गछौं ।’ आन्दोलित सुरक्षागार्डहरुले मंसिर २९ गतेदेखि पुष १ गतेसम्म हातमा कालोपट्टी लगाएर काम गरेका थिए भने पुष २ गतेदेखि ४ गतेसम्म बिहानको पहिलो सिफ्टमा २ घण्टा डिउटी छाडेका थिए । उनीहरुले बिहान ६ बजेदेखि ८ बजेसम्म डिउटी छोडेर जिओपिडी भवनअघि धर्ना दिएका थिए ।
यस्तै, पुष ५ गते शुक्रबारदेखि भने थप आन्दोलनको कार्यक्रम बढाएर बिहान २ घण्टा र दिउँसो २ बजेदेखि ४ बजेसम्म डिउटी छाडेर धर्ना बस्न शुरु गरेका छन् । शुक्रबार उनीहरुले प्रतिष्ठान परिसरमा र्यालीसमेत निकाले । शान्तिपुर्ण आन्दोलनमा प्रतिष्ठानले प्रहरी पठाएर पक्राउ गरेर लैजाने धम्की दिएको भन्दै संघर्ष समितिले शुक्रबार नै एक विज्ञप्ती निकालेर विरोधसमेत जनाएको छ । सुरक्षागार्डहरुले यसअघि भएको सम्झौतावमोजिम सरकारले वृद्धि गरेको एक हजार ८ सय रुपैया पाउनुपर्ने अडान राखेको छ । ठेक्का प्रथा अन्त्यको माग गर्दै आन्दोलित सुरक्षागार्डसँग प्रतिष्ठानले श्रमऐनअन्र्तगत वृद्धि भएको तलब पाउने भन्ने सहमति यसअघि नै गरेको थियो । त्यही सहमतिलाई नजिर बनाउदै सुरक्षागार्डहरु अहिले आन्दोलित बनेका हुन् ।
प्रतिष्ठानमा स्थापनाकालदेखि नै कार्यरत सुरक्षागार्डहरुसमेत गरेर हाल एक सय २३ जना छन् । स्थापनाकालमा प्रतिष्ठान आफैले गार्ड राखेर तलब खुवाएपनि ०५७ सालदेखि भने सुरक्षागार्ड ठेक्कामा लगाएको थियो । त्यतिबेला ३ हजार ६ सय तलब पाउदै आएका गार्डहरुले ठेक्काप्रथा सुरु भएपछि भने ठेकेदारबाट दुई हजार ५ सय ५२ रुपैया मात्रै पाउथे । हाल प्रतिष्ठानका सुरक्षागार्डहरुले ठेक्केदार कम्पनी जिफोरएसबाट दैनिक १ सय ९० रुपैयाको दरले मासिक ५ हजार ७ सय तलब र २ हजार ६ सय भत्ता गरेर एकमुष्ठ ८ हजार ३ सय रुपैया पाउदै आएका छन् ।
ठेकेदार कम्पनी जिफोरएसका सुरक्षा इञ्चार्ज वलराम निरौला माग जायज भएपनि यहाँका सुरक्षागार्डहरुले सरकारले तोकेको न्युनतम तलब पाइराखेको हुनाले वृद्धि नगर्ने भनि प्रतिष्ठानबाट पत्र पाएकोले माग पुरा हुनेसम्भवना नदेखिएको बताए । तर, कम्पनीले आफ्नै तहबाट केही रकम बढाउन भने तयार रहेको उनले बताए । ‘हामीले प्रतिष्ठानलाई यस बिषयमा पत्राचार गर्यौं । सरकारले तोकेको न्युनतम तलब ८ हजार हो, यहाँका गार्डहरुले ८ हजार ३ सय पाइराखेको छ, वृद्धि गर्न नसक्ने भनेर जवाफ आयो’–निरौलाले भने–‘प्रतिष्ठानले नथप्ने भनेपछि हामी पनि बढाउन सक्दैनौं, बरु कम्पनीले केही रकम वृद्धि गर्न सक्छ, तर १८ सय नै सम्भव छैन ।’
प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले सुरक्षाको जिम्मा बोकेकाहरु डिउटी छोडेर आन्दोलन गर्नु आश्चर्य भएको भन्दै सुरक्षागार्डहरु जिफोरएसका कर्मचारी भएकोले प्रतिष्ठानले माग पुरा गर्ननसक्ने बताए । डिउटीमा नबसी आन्दोलन गर्दा कुनै उच्छृंखल घटना भएमा प्रतिष्ठान कानुनी कारबाहीमा जाने उनले चेतावनी दिए । ‘सरकारले तोकेको भन्दा बढी तलब पाइराखेकै छन्, तर पनि तलब बढाउनुपर्छ भन्नु कतिको उचित हो ?’–उपकुलपति दासले भने–‘कुनै उच्छृंखल घटना भयो भने प्रतिष्ठान कानुनी कारबाहीमा जान्छ ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे