धरानमा खानेपानी आयोजनाको टेष्ट ड्रिलिङ काम शुरु

धरान १७ स्थित जंगलमा पर्ने कुम्भीआहालमा भुमिगत पानीको क्षमता, अवस्था र गुणस्तर पत्ता लगाउन टेष्ट ड्रिलिङको काम शुरु भएको हो । टेष्ट ड्रिलिङस्थलमा हालै निर्वाचित सभासद कृष्णकुमार राई, नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडालगायतले पूजाआजा गरेर कामको विधिवत् शुरुवात गरेका थिए । त्यहाँ यसअघि नै एसियाली विकास बैंकको भुगर्भविद्को टोलीले टेष्ट साउण्डिङ गर्दा पानी भएको निष्कर्ष निकालेको थियो । त्यससँगै, थप दुई स्थानमा पनि टेष्ट साउण्डिङबाट भुमिगत पानी भएको पत्ता लागेको थियो ।
ड्रिलिङको काम काठमाण्डौंस्थित सगरमाथा ड्रिलिङ कम्पनीले पाएको छ । कम्पनीका प्राविधिक रामनाथ यादवका अनुसार बढीमा २ सय मिटर गहिराइसम्ममा पानीको सतह भेटिने अनुमान गरिएको छ । त्यहाँबाट निस्किएको पानीलाई जाँच गरेपछि प्रतिसेकेण्ड कति लिटर पानी निस्कन्छ भन्ने मापन गर्न सकिने उनले बताए । साथै, पानीको गुणस्तरीय जाँच पनि त्यसबेला नै हुनेछ । ‘ड्रिलिङको काम दुई महिनासम्म लाग्नसक्छ, टेष्ट साउण्डिङ राम्रोसँग भएको हो भने अवश्य नै पानी भेटिन्छ’–यादवले भने । जमिनमुनि विद्युतीय तरंग पठाएर गरीने जाँच नै टेष्ट साउण्डिङ हो । टेष्ट साउण्डिङबाट भुमिगत पानीको स्रोत भएको निष्कर्ष निकालिएपनि त्यसलाई पुष्टि गर्न टेष्ट ड्रिलिङ गर्न आवश्यक हुन्छ ।

खानेपानीको चर्को अभाव झेल्दै आएको धरानबासीलाई राहत पुर्याउन एसियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्र्तगत खानेपानी आयोजना शुरु भएको हो । सम्झौता अनुसार यो आयोजना सन् २०१७ को जुन महिनासम्म पुरा हुनुपर्नेछ । हाल ८३ प्रतिशत मात्रै नगरबासीले खानेपानीको सुविधा उपभोग गर्न पाएकोमा यो आयोजनाले जनसंख्याको सत प्रतिशत र त्यतिपनि नभए ९५ प्रतिशतलाई सुविधा दिलाउने लक्ष्य राखेको छ । एकीकृत शहरी विकास आयोजनाको लागि कुल २२ मिलियन डलरको एडिबिसँग सम्झौता छ । जसको करिब ७५ प्रतिशत बजेट खानेपानी आयोजनाको लागि भएको आयोजना प्रमुख राजु पोख्रेलले बताए । उनका अनुसार घरधुरी सर्वेका साथै कति पाइपलाइन बिछ्याउनु पर्ने भनेर सर्वे पनि सम्पन्न भइसकेको छ ।
यहाँ आयोजना सञ्चालन अघि नौ महिनासम्म भुमिगत पानीको स्रोतको अध्ययन भएको थियो । सो अध्ययनबाट सन् २०३१ सम्मको धरानको जनसंख्यालाई दैनिक १६ घण्टा पानी वितरण गर्न सकिने देखिएको थियो । आयोजनाबाट दैनिक २ करोड ३० लाख लिटर पानी संकलन हुने अनुमान छ । सन् २०३१ सम्म धरानको जनसंख्या दुई लाख ११ हजार पुग्ने अनुमान छ । दैनिक २ करोड २० लाख लिटर पानीको माग रहेको धरानमा अहिले दैनिक १ लाख २० हजार लिटर मात्रै पानी खानेपानी संस्थानले वितरण गरिरहेको छ ।
(०७० मंसिर १८ गते नागरिक दैनिकमा प्रकाशित)

yo kaam pura hos vanne kaamana
ReplyDelete