पूर्वाञ्चलमा हुलाकको टेलिसेन्टर सेवा असफल

 धरान । हुलाक सेवालाई आधुनिकीकरण गर्दै सर्वसाधारणलाई आकर्षित गर्ने उद्देश्यले पूर्व क्षेत्रमा पनि शुरु भएको टेलिसेन्टर सेवा असफल भएको छ ।
हुलाक सेवा विभागले आफ्नो सेवालाई आधुनिक प्रविधिसँग जोड्दै जाने र त्यसैको माध्यमबाट सर्वसाधारणहरुमा पहुँच पुर्याउने उद्देश्यले टेलिसेन्टर सेवाको शुरुवात गरेको थियो । तर, कार्यालय प्रमुख एवं कर्मचारीहरुको चाडो चाडो हुने फेरवदल र प्राविधिक समस्याले गर्दा आधा दशकभित्रै पूर्वी जिल्लाहरुमा यो सेवा अवरुद्ध हुनपुग्यो । धरानस्थित जिल्ला हुलाक कार्यालयलाई आधार क्षेत्र बनाएर ०६४ सालदेखि विभिन्न पाँच जिल्लामा यो सेवा शुरु गरिएको थियो । कर्मचारी अभाव र प्राविधिक समस्याले पूर्वी जिल्लामा यो सेवा प्रभावकारी हुन नसकेको विभागको भनाई छ ।
‘सबै ठाउँमा कर्मचारी पर्याप्त भएन । पूर्वमा बढी नै कार्यालय प्रमुख, इलाका प्रमुखहरु सरुवा,काजमा गए’–विभागका सुचना प्रविधि शाखा अधिकृत शारदा पौडेलले भने–‘सरुवा भएका पनि समयमै नआइदिने, काजमा मिलाएर अन्यत्र जानेहरु भए । कर्मचारीकै कारणले पनि यो सेवा सफल नभएको हो । पश्चिमतिर यस्तो अवस्था छैन ।’ पूर्वका तेह्रथुम, भोजपुर, धनकुटा, ताप्लेजुङ र संखुवासभाका ग्रामिण क्षेत्रका जनतालाई सुचना प्रविधिको पहुच पुर्याउन धरानस्थित जिल्ला हुलाक कार्यालय सुनसरीमा टावर र इन्टरनेटको मोडुलेटर डिभाइस राखिएको थियो । साथै, ती जिल्लाहरुमा इन्टरनेट पावर सप्लाई धनकुटाको भेडेटारमा सब स्टेशन बनाइएको थियो ।
हुलाक सेवा सरकारको प्राथमिकतामा कहिल्यै पनि नपरेको कारणले पनि सेवालाई समयानुकुल बनाउन नसकिएको अधिकृत पौडेलले बताए । ‘धरानलाई बेस बनाएर दुर्गम जिल्लालाई सुलभरुपमा इन्टरनेट र अन्य सेवाहरु पुर्याउन खोज्यौं,तर हुलाक कहिल्यै प्राथमिकतामा परेन, स्रोत साधनको अभाव भइनै रह्यो’–उनले भने । सुचना प्रविधिको तीब्र विकासले सन्देश प्रवाह गर्नेे परम्परागत शैली(चिट्ठी पत्र)बाट सर्वसाधारणको ध्यान हटेपछि हुलाक सेवा नै संकटमा पर्यो । त्यसैले आधुनिकीकरण गर्दै गाउँ गाउँमा सुचना प्रविधिको पहुँच पर्याउने र ग्रामिण भेगका रहेको आफ्नो इलाका कार्यालयबाट इन्टरनेटसँगै अन्य सेवासुविधा प्रदान गर्ने अवधारणा विभागले अघि बढाएको थियो ।
जिल्ला हुलाक कार्यालय सुनसरीका अनुसार टेलिसेन्टर सेवाअन्र्तगत एउटा इलाका कार्यालयमा २ वटा कम्प्युटर, फोटोकपी सुविधासहितको प्रिन्टर र एउटा लेमुनेशन मेशिन उपलब्ध गराइएको थियो । त्यहाँ ८ सय रुपैयामा कम्प्युटरको वेसिक कोर्ष प्रशिक्षण गराउने सुविधा पनि थियो । इलाकामा सर्वसाधारणले सस्तो मुल्यमा इन्टरनेट सेवा पाउथे । चिट्ठीपत्रको विकल्प खोज्नेहरुलाई आफै कम्प्युटर चलाउन वा कर्मचारीमार्फत इमेल गर्ने सुविधा पनि उपलब्ध हुन्थ्यो । तर, टेलिसेन्टर सेवा सञ्चालन भएका इलाकाहरुमा हाल इन्टरनेट सेवा ठप्प छ भने फोटोकपी, प्रिन्टर,लेमुनेशनको काम मात्रै भइरहेको जिल्ला हुलाक कार्यालय सुनसरीका प्रमुख बद्री बजगाई बताउछन् । ‘समय अनुकुल सेवा दिने प्रयास गर्यौं तर धेरै समस्या र कमीकमजोरीहरु भए’–उनी भन्छन्–‘मुख्य त इन्टरनेटको समस्या भयो ।’ उनका अनुसार सुनसरीमा १६ वटा इलाका कार्यालयमध्ये ग्रामिण भेगका ८ इलाका कार्यालयमा टेलिसेन्टर सेवा सञ्चालन गरिएको थियो ।
हुलाकले टेलिसेन्टर सेवा सञ्चालन गर्न नेपाल टेलिकमबाट इन्टरनेट सेवा लिएको थियो । यो सेवा अवरुद्ध हुनुलाई जिल्ला हुलाकले टेलिकमको इन्टरनेट सेवालाई दोष दिने गरेको छ । तर, टेलिकमका धरानस्थित कार्यालयले भने हुलाकले शुरुमा लिज सर्किटअन्र्तगतको इन्टरनेट सेवा लिएपनि अहिले कुनै सुविधा नलिएको जनाएको छ । ‘पहिला लिज सर्किटमा नेट चलाएको हो, तर अहिले हुलाकसँग सम्पर्क छैन’–प्रमुख धनबहादुर थापाले भने–‘इन्टरनेटको समस्या भए हल गर्न सक्थ्यौं, अन्य विकल्प खोजी गछौं ।’











तस्वीर क्याप्सन: जिल्ला हुलाक कार्यालय सुनसरीका प्रमुख टेलिसेन्टरको मोडुलेटर डिभाइस देखाउदै ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे