खाद्य प्रविधिका उत्कृष्ट दुई विद्यार्थीलाई अवार्ड

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारकी छात्रा समिक्षा शर्मालाई अवार्ड वितरण गर्दै सभासद कृष्णकुमार राई ।
धरान । खाद्य प्राविधिको स्नातकतहका उत्कृष्ट दुई विद्यार्थी गोविन्द बल्लभ पन्त स्मृति–नेफ्सा अवार्ड पाएका छन् । गोविन्द बल्लभ पन्त मेमोरियल ट्रष्टले स्थापना गरेको अवार्डबाट त्रिविअन्र्तगतका विद्यार्थी समीक्षा शर्मा र पूर्वाञ्चल विश्वविद्यालयअन्र्तगतबाट राजेश श्रेष्ठ सम्मानित भएका हुन् ।
उनीहरुलाई मंगलबार धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसन हात्तिसारमा आयोजित एक समारोहमा नगदसहित अवार्ड वितरण गरिएको थियो । सोही क्याम्पसकी छात्रा शर्माले अवार्डसँगै नगद १० हजार हात थापिन् भने पूर्वाञ्चल विश्वविद्यालयका छात्र श्रेष्ठले अवार्डसहित नगद २ हजार पाए । अवार्ड वितरण समारोहका छात्रा शर्मा मात्रै उपस्थित थिइन् । उनीहरुलाई सुनसरी क्षेत्र नं १ का सभासद कृष्णकुमार राई र नेपाल खाद्य प्रविधि विद्यार्थी संघ(नेफ्सा)का संस्थापक अध्यक्ष एवं ट्रष्टका अध्यक्ष हिक्मतबहादुर थापाले अवार्ड वितरण गरेका थिए ।

खाद्य प्रविधिका विद्यार्थीहरुलाई प्रोत्साहन दिनको लागि अवार्ड वितरण गरिन थालिएको ट्रष्टका अध्यक्ष थापाले बताए । उनले अध्ययनसँगै अन्य शैक्षिक एवं अतिरिक्त गतिविधिहरुमा सक्रिय रहन विद्यार्थीहरुलाई आग्रह गरे । ट्रष्टका उपाध्यक्ष हरिहर गुरागाईका अनुसार विद्यार्थीको ८० प्रतिशत शैक्षिक र २० प्रतिशत नेतृत्वलाई हेरेर अवार्ड दिइन्छ । त्रिविवि अन्र्तगतका विद्यार्थीलाई नगद १० हजार र पियुअन्र्तगतका विद्यार्थीलाई २ हजार पनि अवार्डसँगै दिइन्छ । अवार्डको लागि पन्तको परिवारबाट नगद एक लाख प्राप्त भएको र कम्तीमा ३ लाखको कोष बनाउने लक्ष्य राखिएको गुरागाईले बताए ।
Comments
Post a Comment