क्रिसमसको अवसरमा असहाय एवं अनाथ बालबालिकाहरुलाई सहयोग



















धरान । क्रिसमसको अवसर पारेर बुधबार एक परिवारले असहाय एवं निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुलाई सहयोग वितरण गरेका छन् ।
धरानका होटल व्यावसायी महेश श्रेष्ठ‘बिकी’को परिवारले विभिन्न तीन स्थानमा बालबालिकालाई शैक्षिक सामग्री र लत्ताकपडा वितरण गरेको हो । क्रिसमसको अवसर पारेर हाल अमेरिकामा रहेकी आमा धर्मलक्ष्मी श्रेष्ठ र दाजु मुकेश श्रेष्ठको आर्थिक सहयोगमा उनले बुधबार बालबालिकाहरुलाई ती सामग्री प्रदान गरेका हुन् । उनका आमा र दाजु क्रिष्चियन धर्मावलम्बी हुन् ।
दुवैको सहयोगमा बुधबार धरान ८ स्थित चर्च अफ क्राइष्टमा २ सय जनालाई खाना खुवाइएको थियो भने ३० जना बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरिएको थियो । यस्तै, धरान १७ स्थित सयपत्री बालबिकास केन्द्रमा अध्ययन गर्ने २५ जना सुकुम्बासी बस्तीका बालबालिकाहरुलाई पनि लत्ताकपडा, किताबकपी, पेन्सिललगायत चलकेट र बिस्कुटसमेत वितरण गरिएको थियो । ती दुवै स्थानमा व्यावसायी श्रेष्ठकी ९१ बर्षीय हजुरआमा सुर्यलक्ष्मी श्रेष्ठको हातबाट सहयोग हस्तान्तरण गरिएको थियो ।
यस्तै, बुधबार साँझ नै धरान ११ स्थित विष्णुपादुका सडकखण्डमा असहाय एवं अनाथ बालबालिकाहरुलाई आश्रय दिइरहेको घरमा पुगेर श्रेष्ठ आफैले सहयोग हस्तान्तरण गरेका थिए । उनले त्यहाँ चामल, दाल, तेल, साबुनलगायतका खाद्य सामग्रीका साथै नगद ४ हजार प्रदान गरे । त्यहाँ भिम देवा र सिता देवान दम्पत्तिले १५ जना असहाय एवं अनाथ बालबालिकाहरुलाई पाल्दै आइरहेका छन् । सहयोगी श्रेष्ठका अनुसार आमा र दाजुबाट प्राप्त ८५ हजार भन्दा बढी रकम बराबारको सहयोग प्रदान गरिएको छ ।
श्रेष्ठ परिवारबाट सहयोग पाएपछि खुशी हुदै भिम देवानले सबैको हातेमालोको कारणले नै बालबालिकाहरुलाई राख्न सकेको बताए । ‘उहाँहरुजस्तै सहयोगी मन भएका व्यक्तिहरुको कारणले नै यी बालबालिकाहरुले खान,लाउन र पढ्न पाएका छन्’–देवानले भने–‘उहाँहरुलाई धेरै धेरै धन्यवाद छ ।’






तस्वीर क्याप्सन : धरान ११ विष्णुपादुका सडकखण्डमा असहाय बालबालिका पाल्दै आएका भिम देवानलाई नगद र खाद्यान्न हस्तान्तरण गर्दै होटल व्यावसायी महेश श्रेष्ठ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे