पाँच जना जुनियर गल्फरलाई बिशेष छात्रवृत्ति
धरान । यहाँका पाँच जना जुनियर गल्फ खेलाडीहरुले निर्वाणा कन्टी क्लबको तीन महिनासम्म निःशुल्क सदस्या छात्रवृत्ति एवं प्रशिक्षणको अवसर पाएका छन् ।जर्मन खेलाडी आन्द्रेइज फ्लेइसरको सहयोगमा एक साता प्रशिक्षण समापन गर्दै धरान गल्फ क्लबले शुक्रबार छात्रवृत्तिको घोषणा गरेको हो । क्लबले ती पाँच जुनियर खेलाडीहरुलाई निर्वाणा कन्टी क्लबको तीन महिनाको सदस्यता दिलाउनेछ र त्यसको सम्पुर्ण खर्च गल्फ क्लबले नै व्यहोर्नेछ । कन्ट्री क्लबको सदस्यता लिएर अथवा शुल्क तिरेर मात्रै गल्फ कोर्षमा खेल्न एवं अभ्यास गर्न पाइन्छ । छात्रवृत्ति पाएका खेलाडीहरुले तीन महिनासम्म निःशुल्क गल्फ कोर्षमा खेल्न पाउछनेछन् । गल्फरहरुले भने मासिक एघार सय सदस्यता शुल्क तिरीरहेका छन् । ‘तीन महिनासम्म छनौट भएका खेलाडीहरुलाई हामीले सदस्यता दिलाउछौं, त्यसको सबै खर्च हामीले नै व्यहोछौं’–गल्फ क्लबका अध्यक्ष पुर्ण लिम्बूले भने ।
छात्रवृत्ति पाउने खेलाडीहरुमा जेम्स बोर्डिङ स्कुलका छात्राद्धय निर्मला राई र सविता राई छिन् भने किरातेश्वर माविका छात्रद्धय विश्वराज लिम्बू, दिनेश लिम्बू छन् । यस्तै, सनराइज बोर्डिङ स्कुलका तुसाल कन्दङ्वाले पनि यो अवसर पाएका छन् । उनीहरुलाई हाल जर्मनमा प्रशिक्षक रहेका नेपालका प्रोफेसनल गल्फर सविन सापकोटाले प्रत्येक बुधबार बिशेष प्रशिक्षण पनि दिनेछन् । ‘म जनवरीसम्म यही रहन्छ, त्यसबेलासम्म बुधबार बुधबार म आफै उनीहरुलाई प्रशिक्षण दिनेछु’–प्रो.सापकोटाले भने ।
विगत १३ बर्षदेखि जर्मनीमा रहेर गल्फ प्रशिक्षण दिइरहेका सापकोटाकै पहलमा जुनियर खेलाडीहरुलाई एक साताको प्रशिक्षण सम्भव भएको थियो । उनीसँग प्रशिक्षण लिइरहेका जर्मन गल्फर आन्द्रेइसले अन्य मुलुकमा सहयोग गरिरहेको थाह पाएपछि नेपालमा पनि गल्फ खेलको विकासमा सहयोग गर्न आग्रह गरे । उनको आग्रह वमोजिम आन्द्रेइसले ३ सय युरो सहयोग पठाइदिए । ‘यो शुरुवात मात्रै हो, प्रत्येक बर्ष यस्तै ट्रेनिङ गराउनको लागि जर्मनमा पहल गरिरहन्छु’–उनले भने । एक साताको प्रशिक्षणमा धरान क्षेत्रका २० बर्षमुनिका २८ जना विद्यार्थी एवं किसोरकिसोरीहरु सहभागी भएका थिए ।

Comments
Post a Comment