संविधान बनाउन आग्रह गर्दै सभासदलाई कलम र डायरी

धरान । राजनीतिक दलहरुले घोषणा गरेअनुसार एक बर्षभित्र संविधान लेख्न आग्रह गर्दै उद्योगी, व्यावसायीहरुले सुनसरीबाट निर्वाचित सभासद्हरुलाई कलम र डायरी उपहार दिएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजित संविधानसभाको निर्वाचनमा विजयी भएका जिल्लाका सभासदहरुको स्वागत एवं बधाई कार्यक्रममा उद्योगी एवं व्यावसायीहरुले कलम र डायरी दिएका हुन् । उद्योगी, व्यावसायीहरुले निर्वाचनअघि दलहरुले गरेका प्रतिवद्धताहरु नर्बिसन आग्रह गर्दै बन्द हडताल नगर्न, विद्युत समस्या पाँच बर्षभित्र समाधान गर्न, रोजगारको अभिवृत गर्न एवं शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन मागसमेत गरे । विगतमा संविधानसभालाई संविधान बनाउन भन्दा पनि सरकार बनाउन र गिराउने खेलमा मात्रै दलहरुले प्रयोग गरेकोप्रति असन्तुष्टी जनाउदै उनीहरुले नयाँ संविधानसभाबाट त्यस्तो आशा नगरिएको स्पष्ट पारे ।
‘विगतमा संविधान बनाउन भन्दा राजनैतिक दलहरु सरकार बनाउन र गिराउने गृहकार्यमा मात्रै लागेको देखियो, तर यो पटक त्यस्तो खेल खेलिने छैन भन्ने हाम्रो विश्वास रहेको छ’–निर्वाचित सभासदहरुलाई स्वागत गर्दै संघका निवर्तमान अध्यक्ष मोहनकाजी शाक्यले भने–‘दलहरुले घोषणा गरेको एक बर्षभित्र संधिवान बनाउने, बन्द हडताल नगर्ने, अर्थतन्त्र चल्न दिने, विद्युत समस्यालाई ५ बर्षभित्र समाधान गर्ने, शान्ति सुरक्षा प्रत्यभुति गर्नेआदि घोषणाहरु कार्यान्वयन गर्ने जिम्मेवारी यहाँहरुको रहेको छ ।’ सुनसरी क्षेत्रको वृहत विकास योजना बनाउन कार्यगत एकता गरी आउने बार्षिक बजेटमा आफ्नो जिल्लामा विकास योजना पार्न सभासदहरु एकजुट हुन पनि उनले आग्रह गरे । साथै, उद्योगी, व्यावसायीहरुले गरीखाने वातावरण चाहेको उल्लेख गर्दै उनले मागी खाने तथा धम्क्याएर लुटीखानेहरुलाई कानुनी कठघरामा ल्याउन र दण्डहीनताको अन्त्य गर्न पनि शाक्यले आग्रह गरे ।
सभासदहरुसमक्ष व्यावसायीहरुका विभिन्न २८ बुँदे माग प्रस्तुत गर्ने क्रममा शाक्यले राज्यको पूर्नसंरचना गरिदा आर्थिक सम्भावनालाई बिषेश ध्यान दिनुपर्नेमा जोडदिए । धरान नगरपालिकाका कार्यकारी अधिकृत भोजराज खतिवडाले जनताले संविधान चाहेकोले चाडै संविधान दिन सभासदहरुलाई आग्रह गरे । यस्तै उनले खानेपानी, अव्यवस्थित बसोबास, पर्यटन पूर्वाधार विकासलगायत विविध समस्याहरु समाधान गर्न सभासदहरुबीच समन्वयात्मक भुमिका हुने आशा व्यक्त गरे । पत्रकार महासंघका अध्यक्ष केशव घिमिरले दलहरुको प्रतिवद्धता अनुरुप बर्षदिनभित्रै संविधान नबने जनतामा निराशा छाउनेतर्फ सचेत गराए ।
कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं ६ का सभासद भीम आचार्यले सबै राजनीतिक दललाई जनताको अभिमत स्वीकार गरेर अघि बढ्न आग्रह गर्दै एकबर्षभित्र संविधान बनाएर जनताको हातमा पुर्याउने दाबी गरे । निर्वाचनमा सहभागी र बहिष्कारवादी दलहरुलाईसमेत कुनै न कुनै रुपमा समेटेर अघि बढ्ने उल्लेख गर्दै आचार्यले सहमतिबाटै संविधान बनाउन हरसम्भव प्रयत्न गर्ने बताए । सहमतिबाट नभए संविधानसभाको प्रक्रियाबाट र त्यसरी पनि सम्भव नभए जनमत संग्रहको विकल्पबाट भएपनि बर्षदिनभित्रै संविधान बनाउने उनले जिकिर गरे । क्षेत्र न.४ का सभासद सीताराम मेहताले जनताले दिएको म्याण्डेटभित्र रहेर सहकार्य, सहमति र एकताबाट नै संघीय एवं लोकतान्त्रिक संविधान लेखिने बताए । विगतमा दलीय स्वार्थ भन्दा माथि उठ्न नसक्दा संविधान नबनेको भन्दै नेता मेहताले निर्वाचित सभासदहरुलाई दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको स्वार्थबारे सोच्न आग्रह गरे । ‘अब हाम्रो सोच र व्यावहारमा परिवर्तन हुन जरुरी छ, सबैले कसम खाउ एक बर्षभित्र संविधान बन्छ’–मेहताले भने ।
सुनसरी क्षेत्र २ का सभासद रेवतीरमण भण्डारीले जनताले कस्तो आधारमा संविधान बनाउने भनेर अभिमत प्रकट गरिसकेकोले त्यही म्याण्डेड वमोजिम संविधान एक बर्षभित्र संविधान बन्ने बताए । सुनसरी १ का सभासद कृष्णकुमार राईले पनि लोकतान्त्रिक मुल्य, मान्यताको संविधान जनतालाई दिनु नै संविधानसभाको पहिलो कार्यभार भएको बताए । मंसिर ४ गतेको निर्वाचनबाट सुनसरीमा ६ वटा निर्वाचन क्षेत्रबाट ६ जना सभासदहरु विजयी भएपनि मंगलबार भने ४ जना सभासदहरु मात्रै उपस्थित थिए । सुनसरी क्षेत्र नं ३ बाट विजयी सभासद एवं मधेशी जनाधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छेदार र सुनसरी ५ बाट विजयी सभासद तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने पार्टी काम बिशेषले आउन नपाएको आयोजकले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे