एउटै नम्बरको थुप्रै जाली नोट, एक पक्राउ

संखुवासभा चेपुवा गाविस ८ का सनम टासी भोटे जाली नोटसहित धरानमा समातिएका हुन् । उनको साथबाट दुई लाख रुपैया पनि वरामद भएको छ । जसमध्ये ७४ हजार रुपैया नक्कली भएको प्रहरीले जनाएको छ । जाली नोट भएको वण्डिलमा भने एउटै नम्बर भएको हजार र पाँच सयको ५ वटा भन्दा बढी नोट भेटिएको छ ।मंगलबार धरानस्थित सनराइज बैंकबाट समातिएका भोटेलाई इलाका प्रहरी कार्यालयले बुधबार जालीनोटसहित सार्वजनिक गर्यो ।
भारतको खर्साङमा रहेकी श्रीमति खुदा भोटेलाई पैसा पठाउन मंगलबार सनराइज बैंकमा पुगेका भोटेलाई प्रहरीले त्यहीबाट पक्राउ गरेको हो । बैंकका कर्मचारीले शंका लागेर प्रहरीलाई खबर दिएका थिए । भोटेको साथबाट वरामद भएको एक हजारको ५० थान(५० हजार) र ५ सयको ४८ थान(२४ हजार) गरी कुल ७४ हजार जाली नोट फेला परेको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । भोटे जाली नोटसहित समातिएपनि मुख्य कारोबारी भने अरु नै भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र खोजी भइरहेको डिएसपी थापाले बताए ।

पक्राउ परेका भोटे नेपाली(पर्वते) भाषा राम्रो बुझ्न र बोल्न सक्दैनन् । उनको साथबाट एक हजारको नोटको एक बण्डिल र पाँच सयको नोटको दुई वण्डिल नोट फेला परेको थियो । त्यसमध्ये पाँच सयको एक वण्डिल भने सक्कली नोट भएको प्रहरीले जनाएको छ । जाली नोट भएको वण्डिलमा भने एउटै नम्बर भएको हजार र पाँच सयको ५ वटा भन्दा बढी नोट भेटिएको प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
Comments
Post a Comment