धरानमा चासोक तङनाम उत्सवको रौनक(फोटो फिचर)

धरान । साँस्कृतिक पहिनर र श्रृंगारले सजिएका लिम्बू युवा युवतीहरु हात समाएर पालाम गाउदै यालाङ(धान नाच) नाचिरहेका छन् । अर्काेतर्फ, वृद्धहरु स्टेजमा पुगेर पालैसँग हाक्पारे ख्याली गाइरहेका छन् ।
लिम्बू पहिरनमा सजिएका युवायुवती, वृद्धवृद्धा र केटाकेटीहरु पनि यालाङ र हाक्पारे ख्यालीमा मुग्ध देखिन्छन् । कोही लिम्बू जातिको परम्परागत घर याक्थुङ हिमलाई नियाली रहेका छन् भने कोही भित्रै पसेर खाजा खाइरहेका छन् । धरान १५ चुम्लुङ हिम परिसरमा मंगलबारदेखि धरानभरिका लिम्बू जातिमात्रै होइन, अन्य समुदाय पनि लिम्बू जातिको साँस्कृति नियाल्न ब्यस्त छन् । किरात याक्थुङ चुम्लुङको रजत जयन्तीसँगै मौलिक चाड चासोक तङ्नामको अवसरमा आयोजित पाँच दिने चासोक तङ्नाम साँस्कृतिक उत्सवले यतिबेला धरानमा रौनक छाएको छ ।
प्रविधिको तीब्र विकाससँगै युवा पुस्ता पश्चिमी सँस्कृतिप्रति आर्कषित हुदै गएकोले उनीहरुलाई आफ्नो जातीय सँस्कार,सँस्कृतिप्रति मोह बढाउन र चासोक तङनामलाई लिम्बुहरुको मौलिक चाडकोरुपमा स्थापित गराउन उत्सव आयोजना गरेको कियाचुका नगरअध्यक्ष एवं संयोजक सुवास हुक्पा चोङबाङले बताए । उनका अनुसार पाँच दिनसम्म विभिन्न परम्परागत साँस्कृतिक खेलहरु, च्याब्रुङ नाच आयोजना हुन्छन् भने अन्य जातीय संघसंस्थाहरुको सहभागितामा साँस्कृति आदनप्रदान गर्न सामुहिक झाँकी प्रर्दशनी पनि गरिनेछ । ‘युवा पुस्तामा आफ्नो सँस्कृतिप्रति रुचि नहुदा जातीय पहिचान र अस्तित्व नै संकटमा पर्छ, त्यसैले युवाहरुलाई आर्कषित गर्न पनि सामुहिकरुपमा उत्सव मनाएका हौं’–अध्यक्ष चोङबाङले भने ।
लिम्बू समुदायले पहिलो दिन मंगलबार विजयपुरमा अवस्थित हाङयुक्नामा पुगेर सामुहिकरुपमा चासोक पूजा गरेका थिए भने श्रीजंगाको ३०९ औं जन्मदिन पनि मनाएका थिए । यस्तै, दशाग्रह नलागोस् र जीवन रक्षाको कामना गर्दै रातभर चमेन तङ्सीन अनुष्ठान गरेका थिए । सोही अनुष्ठानको क्रममा मुन्धुमले भनेवमोजिमका साँस्कृतिक खेलहरु बुधबार आयोजना गरिएको थियो । साँस्कृतिक खेल पक्लुङ लेप्मा(छेलो हान्ने) प्रतियोगितामा अमृत काङबा बोखिमले विजेता हुदै कुखुराको भाले जिते भने थाक्थाक्मा(तान बुन्ने) प्रतियोगितामा विजेता हुदै निर्मला लिम्बूले कुखुराको पोथी जितिन् । ‘तोङ आप्मा(तीर हान्ने), ली आप्मा(गुलेली हान्ने), हक्चुम लक्मा(लङ जम्प), च्याब्रुङ नाच प्रतियोगिताहरु पनि क्रमशः आयोजना हुन्छन्, यसले हाम्रो परम्परागत खेल र सँस्कृतिको प्रर्वद्धन हुन्छ’–अध्यक्ष चोङबाङले भने–‘हाम्रो सँस्कृतिलाई जोगाउदै व्यावसायिकरण पनि गर्नुपर्छ भन्ने पूर्नजागरणको सन्देश पनि दिन्छ, यसको लागि राज्यले पनि प्रोत्साहित गर्नुपर्छ ।’
 उत्सवस्थलमा निर्माण गरिएको लिम्बू जातिको परम्परागत घर याक्थुङ हिम सबैको आर्कषण बनेको छ । आधुनिकीकरणले लोप हुदै गएको र गाउँघरमा मात्रै सिमित हुन पुगेको घरबारे युवा पुस्तालाई जानकारी गराउन राखिएको आयोजकको भनाई छ । उक्त घरमा खेतीपाती गर्दा प्रयोग हुने कृर्षि सामग्रीहरुसँगै हलो, जुवा, ढिकी जातो, पेरोङ्गो, झोलालगायतका सँस्कृतिक बस्तु एवं सामानहरु प्रर्दशनीमा राखिएका छन् । लिम्बू जातिको विभिन्न परिकारका स्टलहरु पनि छन् भने प्रत्येक साँझ दिपक लिम्बू, तारा लक्समलगायत चर्चित गायक गायिकाहरुको प्रस्तुती र नृत्यहरु पनि आयोजना हुन्छन् ।
























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे