होटल एशोसिएशनद्धारा गायक एपी शेर्पा सम्मानित
धरान । चर्चित गायक एपी शेर्पा होटल एशोसिएशन अफ धरानद्धारा बिहिबार सम्मानित भएका छन् । एशोसिएशनको आठौं अधिवेशनको क्रममा बिहिबार सुनसरी उद्योग वाणिज्य संघको सेमिनर हलमा गायक शेर्पा सम्मानित भएका हुन् ।अधिवेशन उद्घाटन सत्रका प्रमुख अतिथि रहेका कोशी अञ्चल प्रहरी कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) यादवराज खनालले गायक शेर्पालाई सम्मान पत्र प्रदान गरेका थिए । गायक शेर्पा विगत दश बर्षदेखि धरानलाई सांगीतिक कर्मथलो बनाएर सक्रिय छन् । गीत, संगीतको माध्यमबाट धरानलाई प्रर्वद्धन गर्न योगदान पुर्याएको भन्दै होटल एशोसिएशनले उनलाई सम्मान गरेको जनाएको छ ।
सोही कार्यक्रममा होटल व्यावसायीहरुले प्रहरी प्रशासनबाट मापसे जाँच, राती चाडै होटल बन्द गर्नुपर्नेलगायत नियम लगाएर सहजरुपमा व्यावसाय गर्न नदिदा पर्यटन क्षेत्रलाई नै नकरात्मक असर पुगिरहेको गुनासो पोखेका थिए । उनीहरुले होटल व्यावसायलाई व्यवस्थित गर्न आफुहरु तयार रहेको भन्दै राज्यले होटल व्यावसायलाई हेर्ने पूर्वाग्रही नजर परिवर्तन गर्न पनि आग्रह गरेका थिए । होटल व्यावसायी महासंघका कोशी अञ्चल संयोजक मणिन्द्र कटवालले अवैध काम भइरहेको होटलहरुलाई अनुगमन गरेर व्यवस्थित गर्न सहकार्य गर्न आफुहरु तयार रहेको भन्दै राम्रा होटलहरुलाई अवरोध नगर्न प्रहरी प्रशासनसँग माग गरे ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले आचारसंहिता बनाएर अघि बढ्न आग्रह गर्दै शान्तिपुर्णरुपमा ढुक्कले व्यावसाय गर्ने वातावरण बनाउन सबैलाई आह्वान गरे । प्रमुख अतिथि रहेका कोशी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) यादवराज खनालले व्यावसायलाई असर पुर्याउन नभई दुर्घटना हुन नदिन मात्रै मापसे जाँच गरिएको बताए । होटलमा पिउन कुनै अवरोध नहुने तर पिएर सवारी चलाउन भने नपाउने उनले प्रष्ट पारे । होटल सञ्चालकले व्यवस्थित सुरक्षा अपनाउने र शान्ति सुरक्षामा खलल नपुर्याउने हो भने राती १२ बजेसम्म पनि होटल खोल्न दिन आफु तयार रहेको उनले प्रष्ट्याए । त्यसको लागि होटलमा सिसिटिभी, सुरक्षा गार्डको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।





Comments
Post a Comment