साविक विजेता रवि खड्का शीर्षस्थानमा
धरान । साविक विजेता रवि खड्का सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिता २०१३ को तेस्रो दिन ५४ होलको खेल सकिदा कुल ३ ओभर २१३ स्कोरका साथ शीर्षस्थानमा रहन सफल भएका छन् ।
पार ७० को निर्वाणा कन्टी क्लब कोर्षमा ७ ओभर १४७ स्कोरका साथ नवौं स्थानमा रहेर खेल शुरु गरेका उनले लय समाउदै शुक्रबार ४ अण्डर ६६ को उत्कृष्ट कार्ड बनाए । फ्रन्ट नाइनमा एक बर्डि र एक बुगी खेप्दै इभन पार ३५ खेलेका खड्काले ब्याक नाइनमा ४ बर्डिज खेल्दै स्ट्रोक जोगाउदै शीर्ष स्थानमा उक्लिएका हुन् । खड्काले फ्रन्ट नाइनमा दोस्रो होलमा बर्डि खेल्दै स्ट्रोक जोगाएपनि सातैं होलमा बुगी खेल्दै स्ट्रोक खेर फालेका थिए ।
ब्याक नाइनमा भने राम्रो खेल्दै उनले चार वटा होलमा बर्डिज गरे । खड्काले १० औं, १२ औं, १३ औं र १४ औं होलमा बर्डि गर्दै स्ट्रोक जोगाए । शीर्षस्थानमा उक्लिएका खड्काले तेस्रो दिन पटिङले साथ दिएको प्रतिक्रिया दिए । ‘ब्याक नाइनमा ४ अण्डर खेले, पटिङ एकदमै राम्रो भयो’–खड्काले भने–‘अन्तिम दिन पनि राम्रो नै खेल्छु ।’ खड्काले पहिलो दिन १ ओभर ७१ को कार्ड बनाएका थिए भने ६ ओभर ७६ को कार्ड बनाएका थिए ।यस्तै, कुल ५ ओभर २१५ स्कोरका साथ धरानका सुमन राई र उमेश नगरकोटी संयुक्तरुपमा दुई स्ट्रोकले पछि पर्दै दोस्रो स्थानमा छन् । तेस्रो दिनको खेल ४ ओभर १४४ स्कोरको साथ दोस्रो स्थानमा रहेर खेल शुरु गरेका सुमनले शुक्रबार १ ओभर ७१ के कार्ड बनाएका थिए । फ्रन्ट नाईनमा ३ बर्डिज र एक बुगी खेल्दै २ अण्डर ६८ को कार्ड बनाएपनि ब्याक नाईनमा भने समुनले ३ बुगी खेप्दै ३ ओभर ३८ को खराब कार्ड बनाएर शीर्षस्थानमा उक्लिन सकेनन् । उनले पहिलो दिन १ ओभर ७१ र दोस्रो दिन ३ ओभर ७३ को कार्ड बनाएका थिए ।
यसैगरि, ५ ओभर १४५ स्कोरका साथ शुक्रबार तेस्रो स्थानमा रहेर खेल शुरु गरेका उमेश नगरकोटीले लेभर पार ७० को कार्ड बनाएर दोस्रो स्थानमा उक्लिए । फ्रन्ट नाईनमा उनले दुई बर्डि र दुई बुगी खेल्दै इभन पार ३५ को कार्ड बनाए । ब्याक नाइनमा १३ र १४ औं होलमा बर्डिज खेल्दै स्ट्रोक जोगाए पनि १६ औं होलमा डबल बुगी खेल्दै स्ट्रोक खेर फाले । नगरकोटीले पहिलो दिन ६ ओभर ७६ र दोस्रो दिन एक अण्डर ६९ को कार्ड बनाएका थिए ।
दोस्रो दिनको खेल सकिदा एक्लो अग्रता बनाएका स्थानीय व्यावसायिक गल्फर देवराज पाख्रिन र रमेश अधिकारी कुल ७ ओभर २१७ स्कोरका साथ संयुक्तरुपमा चौथो स्थानमा छन् । तेस्रो दिन ३ ओभर १४३ स्कोरका साथ पहिलो स्थानमा रहेर खेल शुरु गरेका पाख्रिनले शुक्रबार ४ ओभर ७४ को कार्ड बनाउदै शीर्षस्थान गुमाए । उनले फ्रन्ट नाईनमा दुई बर्डि र दुई बुगीका साथ इभन पार ३५ को कार्ड बनाएपनि ब्याक नाइनमा भने ४ बुगी खेप्दै ४ ओभर ३९ को कार्ड बनाए । यस्तै, ९ ओभर १४९ स्कोरका साथ दशौं स्थानमा रहेर खेल शुरु गरेका अधिकारीले २ अण्डर ६८ को कार्ड बनाउदै चौथो स्थानमा उक्लिए । उनले फ्रन्ट नाइनमा एक बर्डि र एक बुगी खेल्दै इभन पर ३५ को कार्ड बनाए भने ब्याक नाइनमा दुई बर्डिज खेल्दै दुई अण्डर ३३ को कार्ड बनाए ।प्रतियोगितामा तेस्रो दिनको खेल सकिदासम्म कुल १० ओभर २१० स्कोरका साथ स्थानीय व्यावसायिक गल्फर सविन सापकोटा, थामबहादुर राई, राम थापा, दिपक थापा मगर र मणी राई संयुक्तरुपमा छैटौं स्थानमा छन् । शुक्रबार सविनले ५ ओभर ७५ को कार्ड बनाए भने थामबहादुरले ४ ओभर ७४, राम थापाले ४ ओभर ७४, दिपक थापामगरले ४ ओभर ७४ र मणी राईले १ ओभर ७१ को कार्ड बनाए ।
यस्तै, कुल ११ ओभर २२१ स्कोरका साथ धन थापा ११ औं स्थानमा छन् भने १२ ओभर २२२ स्कोरका साथ संजय लामा १२ औं स्थानमा छन् । यसैगरि, एमेच्योरतर्फ भने दिनेश प्रजापति कुल ११ ओभर २२१ स्कोरका पहिलो स्थानमा छन् भने बबिन्द्र राई १३ ओभर २२३ स्कोरका साथ दोस्रो र धरानका पुर्ण राई १९ ओभर १२९ स्कोरका साथ तेस्रो स्थानमा छन् ।

साविक विजेता रवि खड्का बंकरबाट सट प्रहार गरेपछि वल नियाल्दै ।





Comments
Post a Comment