बीपीमा सिसिटिभीबाट उपचार र सुरक्षाको निगरानी


















धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरविन्द सिन्हा आफ्नो कार्यकक्षमा रहदा घरी घरी कम्प्युटरतर्फ आँखा पुर्याउछन् । त्यहाँ(कम्प्युटरमा) उनलाई कुनै जरुरी काम गर्न ढिलाई भएर होइन, कम्प्युटरको स्क्रिनमा अस्पतालको विभिन्न विभाग एवं कक्षको दृष्य हेर्नलाई हो ।

        उपचारमा लापरवाही एवं ढिलासुस्ती हुने गरेको सर्वसाधारणको गुनासोसँगै अनावश्यक दबाब तथा दुव्र्यवहार खेप्नु परेको भन्ने चिकित्सकबाट पनि गुनासो बढेपछि प्रतिष्ठानले दुवै पक्षको गतिविधिलाई निगरानी गर्न अस्पतालमा सिसिटिभी जडान गरेको छ । ती सिसिटिभीले कैद गरेको दृष्यलाई प्रतिष्ठानका अस्पताल निर्देशक डा. सिन्हा आफैले कार्यकक्षबाट हेर्ने गरेका छन् ।
सिसिटिभी जडान गरेर आफ्नो गतिविधिहरु अस्पताल निर्देशक स्वयमले निगरानी गर्न थालेपछि चिकित्सक एवं कर्मचारीहरुको व्यावहार विगतको भन्दा फेरिन थालेको छ । सिसिटिभीकै मद्दतले कामप्रति गैरजिम्मेवार हुने दुई प्राविधिकलाई अस्पताल प्रशासनले कारबाहीसमेत गरिसकेको छ । ‘चिकित्सक, कर्मचारीहरु काम गरिरहेको छ, छैन भनेर हेर्न त्यही पुग्नु पदैन, म यहीबाट अनुगमन गरिरहेको हुन्छु’–अस्पताल निर्देशक डा.सिन्हाले भने–‘दुई जना प्राविधिकलाई कारबाही भएको छ । कोही स्टाफ छैन भने, काम राम्रो गरिरहेको देखिएन भने म तत्काल नै फोन गरिहाल्छुँ ।’ कुनै पनि बेला फोन आउनसक्छ भनेर कर्मचारीहरुमा कामप्रति लगनशील हुनथालेको उनले बताए ।
प्रतिष्ठानले चिकित्सक र सर्वसाधारणबीच बढीमात्रामा विवाद भएर गुनासो आउने आकस्मिक कक्षमा मात्रै दर्जन बढी सिसिटिभी क्यामेरा जडान गरेको छ । यस्तै, ल्याब, रेडियोलोजी विभाग, लाइब्रेरी, गाइनो वार्ड, मुख्य गेट, स्क्रिनिङ गेटलगायत स्थानलाई सिसिटभीको निगरानीमा राखेको छ । अत्यधिक घुइचो हुने प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार ढिलाई हुने गरेको सर्वसाधारणहरुको बढी गुनासो हुने गर्छ । यसबाहेक सेन्ट्रल ल्याब तथा रेडियोलोजी विभागमा पनि ढिलासुस्ती हुने, रिपोर्ट समयमा नै नदिने गरेको गुनासो छ । विगतमा विरामीका आफन्तजन र चिकित्सक, प्राविधिक कर्मचारीबीच हातपातसमेत हुने गरेको थियो । ‘यस्तो घटना नियन्त्रण होस भनेरै सिसिटिभी राखेका हौं, चिकित्सक र प्राविधिकहरुको काममा पनि चुस्तदुरुस्त हुन थालेको छ’–प्रशासन शाखा, आन्तरिक सुरक्षा प्रमुख महेश्वर राई भन्छन्–‘कुनै घटना भयो भने यथार्थ के भएको हो भनेर पत्ता लगाउन सजिलो भएको छ ।’
सुरक्षा प्रमुख राईका अनुसार विगतमा अत्यधिक संख्यामा मोटरसाइकल हराउने गरेको थियो । तर, अहिले चोरी नियन्त्रणमा आएको छ । यस्तै, प्रतिष्ठानभित्रको एक्स रे फिल्टर चोरी गर्नेलाई सिसिटिभीकै सहयोगमा पक्राउ गरेर कारबाहीसमेत भइसकेको छ । प्रतिष्ठान प्रशासनका अनुसार हाल विभिन्न ठाउँमा करिब ४० वटा सिसिटिभी जडान भएको छ ।
प्रतिष्ठानको सुरक्षा जिम्मा लिएको ठेकेदार कम्पनी जिफोरएसले पनि थप विभिन्न स्थानमा १९ वटा सिसिटिभी जडान गरेर सुरक्षा निगरानी गरिरहेको छ । प्रतिष्ठानसँग सुरक्षा ठेक्काको सम्झौता हुदा १२९ स्थानमा सिसिटिभी राख्नुपर्ने प्रस्ताव गरेको थियो । ती मध्ये पहिलो चरणमा सुरक्षा चुनौती रहेको मुख्य क्षेत्रहरुमा राखिएको जिफोरएसको सुरक्षा इञ्चार्ज वलराम निरौलाले बताए । ‘हाम्रो डिउटी सुपरभाइजरसँग मोटरसाइकल हुन्छ, कतै केही घटना भएको देखियो भने तत्काल उनीहरु त्यहाँ पुगिहाल्छन्’–निरौलाले भने–‘मोटरसाइकलको चोरी र अन्य घटनाहरुमा पुरै कमी आइसकेको छ ।’

 
जिफोएसका सुरक्षा इञ्चार्ज वलराम निरौला कन्ट्रोल रुममा सिसिटिभीको दृष्य नियाल्दै(माथि) ।


सिसिटिभी क्यामेराले कैद गरेको दृष्य आफ्नै कार्यकक्षमा नियाल्दै प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरबिन्द सिन्हा(माथि)  ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे