१० औं डिपो कप पुष अन्तिमदेखि हुने

धरान । १० औं ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता आगामी पुष २९ देखि माघ १० गतेसम्म आयोजना हुने भएको छ । आयोजक डिपोट उच्चमाविले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
यसपटक प्रतियोगिताको पुरस्कार राशी बढाउनुका साथै प्रतियोगितालाई जिल्लास्तरीय बनाइएको पनि आयोजकले जानकारी दिएको छ । ‘यो पटक नगद पुरस्कार बढाएका छौं र प्रतियोगितामा सुनसरी जिल्लाभरिका विद्यालयहरुलाई समावेश गराउदैछौं’–आयोजक विद्यालयका प्राचार्य राजकुमार राईले भने–‘प्रतियोगितामा कुल १६ वटा टिमको सहभागीता रहनेछ ।’ प्रतियोगितामा सहभागीताको लागि जिल्लाभरका विभिन्न विद्यालयहरुलाई पत्राचार गरिसकेको उनले बताए । यसअघिका सँस्करणहरुमा भने धरान नगरक्षेत्रका विद्यालयहरुलाई मात्रै सहभागीताको लागि आयोजकले पत्राचार गर्ने गरेको थियो ।
यो सँस्करणको विजेताले रनिङ शिल्डसहित नगद पुरस्कार ७ हजार पाउनेछ भने उपविजेताले नगद ५ हजार र तृतीयले नगद ३ हजार पाउनेछ । यसअघिका सँस्करणहरुमा भने विजेताले ५ हजार, उपविजेता र तृतीय हुने टिमले क्रमशः ३ हजार र २ हजार नगद पुरस्कार पाउने गथ्र्यो । यसैगरि, प्लेट च्याम्पियनसिपतर्फ पनि पुरस्कार बढाएर विजेतालाई शील्डसहित ३ हजार र उपविजेतालाई २ हजार दिइने भएको छ । विगतका प्रतियोगिताहरुमा भने प्लेट च्याम्पियनसिपको राशी विजेता र उपविजेतालाई क्रमशः २ हजार र एक हजार थियो । प्रतियोगितामा सहभागी विद्यालयका खेलाडी कक्षा ५ सम्मका मात्रै हुनुपर्ने, उचाई ४ फुट १० इञ्च उचाई र उमेर १२ बर्षमुनिकामात्रै हुनुपर्ने मापदण्ड बनाइएको पनि प्राचार्य राईले जानकारी दिए । गत सँस्करणमा करिब  एक लाख ३५ हजार खर्च भएको जानकारी दिदै प्राचार्य राईले यसपटक एक लाख ६९ हजार ६ सय ९० रुपैया खर्च हुने अनुमान गरिएको बताए ।

                 प्लेट च्याम्पियनकपलाई एक लाखको अक्षय कोष

डिपो कपअन्र्तगत पहिलो चरणमा हार व्यहोर्ने टिमहरुबीच प्लेट च्याम्पियन कपको लागि पुनः खेलहरु आयोजना हुने गर्छ । डिपो कपमा उक्त प्लेट च्याम्पियनसिप भूपू अध्यक्ष स्वर्गीय दिलकुमार लिम्बूले शुरुवात गरेका थिए । प्रतियोगितामा साना विद्यार्थीहरु सहभागी हुने भएकोले पहिलो खेलमा हार हुँदा उनीहरुको मन, मास्तिष्कमा नराम्रो छाप पर्छ भनेर उनले डिपो कपअन्र्तगत नै पुनः प्लेट च्याम्पियन कप भनेर शुरु गराएका थिए । यसपटकदेखि उनकै स्मृतिमा दिलबहादुर प्लेट च्याम्पियन कप नाम दिएर प्रतियागितामा प्लेट च्याम्पियन आयोजना गरिने भएको छ ।
प्लेट च्याम्पियनको लागि स्वर्गीय लिम्बूका परिवारले एक लाख रुपैयाको अक्षयकोष पनि स्थापना गरिदिएका छन् । स्वर्गीय लिम्बूकी धर्मपत्नी इन्द्रमाया लिम्बूले बिहिबार आयोजित पत्रकार सम्मेलनमा एक लाखको चेक आयोजकलाई हस्तान्तरण गरिन् । उक्त चेक विद्यालय व्यावस्थापन समितिका उपाध्यक्ष नन्दबहादुर राई र प्रतियोगिताका संयोजक भीमराज लिम्बूले संयुक्तरुपमा लिएका थिए । ‘डिपो कपमा प्लेट च्याम्पियनसिपको शुरुवात गर्ने नै स्वर्गीय दिलकुमार लिम्बू हुनुहुन्थ्यो, त्यसैले अक्षयकोष बनेपछि उहाँकै स्मृतिमा प्लेट च्याम्पियनसिप खेलाइन्छ’–विद्यालयका प्राचार्य राईले भने । यसअघि, डिपो कपको लागि पनि भूपू अध्यक्षद्धय ललित लिम्बू र अम्बर लिम्बूले एक एक लाखको अक्षयकोष स्थापना गरिदिएका थिए । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे