धरान–चतरा–बराहक्षेत्र सडकका लागि तत्काल पाँच करोड

धरान । बषौदेखि दयनीय अवस्थामा रहेको धरान–चतरा–बराहक्षेत्र सडक खण्डलाई पक्की बनाउन तत्कालको लागि पाँच करोड निकासा हुने भएको छ ।
मंसिर दोस्रो साता बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका अर्थमन्त्रीले यो सडक खण्डप्रति चासो दिदै लागतस्टिमेट तयार गर्न निर्देशन दिएपछि बजेट निकासाको गृहकार्य भइरहेको हो । थप बजेट भने आगामी आर्थिक बर्षमा क्रमागतरुपमा बिनियोजन गरिने भएको छ । अर्थमन्त्री शंकर कोइरालाको निर्देशनलगत्तै सडक डिभिजन कार्यालय विराटनगरले लागतस्टिमेट सडक विभागमा पठाइसकेको छ । अर्थमन्त्रीको चासो र निर्देशनपछि लागतस्टिमेटसमेत तयार भएपछि स्थानीयबासी र बराहक्षेत्र काठमाण्डौं समन्वय समितिको एक टोली सम्बन्धित निकाय एवं मन्त्रालयमा डेलिगेशन गएका थिए ।
‘यहाँबाट हामी दुई जना र बराहक्षेत्र काठमाण्डौं समन्वय समितिको टोली सडक विभाग, अर्थमन्त्रालय र भौतिक मन्त्रालयमा डेलिगेशनमा गयौं’–स्थानीय दलबहादुर पौडेलले भने–‘तत्कालको लागि ५ करोड निकासा हुने र बाँकी बजेट आगामी आर्थिक बर्षमा विनियोजन हुने आश्वासन पाएका छौं ।’ उनका अनुसार हाल चतरास्थित जगतगुरु बालसन्त मोहनशरण देवाचार्य पनि यही सडक खण्डलाई बजेट निकासाको लागि पहल गर्न काठमाण्डौं गएका छन् । मंगलबार सुनसरी आएका स्थानीय विकास मन्त्री विद्याधर मल्लिकलाई पनि स्थानीयबासीले यो सडकखण्ड पक्की बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । ‘अब भने यो सडक पक्की बन्छ भन्नेमा विश्वस्त छौं, बराहक्षेत्रबासी सबैमा आशा पलाएको छ’–उनले भने ।
मंसिर दोस्रो साता बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका अर्थमन्त्री कोइराला चतरास्थित बालसन्तको आश्रममा पनि पुगेका थिए । महाकुम्भको तयारी गरिरहेका बालसन्त एवं कुम्भमेला आयोजक समितिले सडक कालोपत्रे बनाउन माग गरेपछि अर्थमन्त्री कोइरालाले त्यसैबेला सम्बन्धित कार्यालयमा लागतस्टिमेट तयार गर्न निर्देशन दिएका थिए । निर्देशनलगत्तै विराटनगस्थित सडक डिभिजन कार्यालयले लागतस्टिमेट तयार गरेर सडक विभागलाई पठाएको थियो । स्थानीय पौडेलका अनुसार निकासा हुने बजेटले कुम्भमेलास्थलदेखि चतरा, वयरवन हुदै खार खोलासम्मको करिब ५ किलोमिटर सडकलाई प्राथमिकता दिएर पक्की बनाइनेछ ।
झापाको दमकस्थित क्षेत्रीय निर्देशनालयका निर्देशक दयाकान्ता झाका अनुसार लागतस्टिमेट सडक विभाग हुदै अर्थमन्त्रालयमा पेश भइसकेको र बजेट निकासाको प्रतिक्षा भइरहेको छ । उनका अनुसार धरानदेखि चतरा हुदै बराहक्षेत्र मन्दिर नजिकसम्मको सडक पक्की बनाउन २१ करोडको लागतस्टिमेट पेश भएको छ । ‘लगातस्टिमेट २१ करोडको भएपनि यो बर्ष जति निकासा हुन्छ, त्यसैवमोजिम काम हुन्छ’–निर्देशक झाले भने–‘निकासा भएलगत्तै बोलपत्र आह्वान गरेर काम शुरुवात गरिहाल्छौं ।’
यो सडक खण्डलाई पक्की बनाउन केन्द्रीयस्तरसम्म पहल गर्नको लागि स्थानीयले एक उपभोक्ता समिति पनि गठन गरिसकेका छन् । त्यही समितिले गत बर्ष पुष र चैतमा पनि जिविस र विभिन्न मन्त्रालयमा डेलिगेशन गइसकेको थियो । चतरामा आगामी चैत १७ गतेदेखि बैशाख १९ गतेसम्म महाकुम्भमेला आयोजना हुदैछ । त्यही कुम्भ मेलालाई लक्षित गरेर यसपाली सरकारले यहाँ बजेट निकासा गर्न लागेको हो । कुम्भमेलाको समयमा अत्यधिक सवारीसधान आवतजावत हुँदा यो सकड खण्डको अवस्था झनै दयनीय हुन्छ । धरान चतरा सडक खण्डलाई पक्की बनाउनुपर्ने चर्चा पटक पटक उठेपनि प्राथमिकतामा नपर्दा स्थानीयबासीहरु निराश छन् । यो सडक खण्डमा खहरे खोलाहरु भएको कारणले पनि बर्षायाममा ग्राभेल सडकलाई बगाएर लथालिंग बनाइदिने गरेको छ । सरकारले मर्मतसम्भार शिर्षकमा बर्षेनी बजेट विनियोजन गरेपनि त्यसको सही सदुपयोग हुन नसकेको स्थानीयको गुनासो छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे