प्रहरीको नजर फरार भनिएका दिवसले सहयोग बाँडे

 धरान । ज्यान मार्ने उद्योगको अभियोग लागेका एमालेको भातृसंगठन युवा संघका जिल्ला सदस्य दिवस राईले मंगलबार पुर्नस्थापना गृह पुगेर असहाय बालबालिकाहरुलाई सहयोग गरे ।
प्रहरीले फरार रहेको बताइरहेपनि उनी धरानमै बेला बेला सार्वजनिक कार्यक्रममा निस्कने गरेका छन् । मंगलबार पनि धरान ४ स्थित छाताचोकमा रहेको पुर्नस्थापना गृहमा पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेका राईबारे प्रहरीले बेखबर झै बन्यो । आफ्ना केही सहयोगी र आफु निकट पत्रकारका साथ गृह पुगेका राईले चामल, दाल, आलु, बन्दाकोपी, टमटरलगायतका खाद्यान्न एवं तरकारी सहयोग गरेका थिए । यस्तै, चार जोर वैशाखी पनि प्रदान गरेका थिए । गृह प्रमुख भिम राईलाई सहयोग सामग्री हस्तान्तरण गरेका तस्वीरहरुलाई राई आफैले फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।
गृह प्रमुख राईका अनुसार दिवसले सहयोग गर्ने बारेमा बिहान मात्रै खबर गरेका थिए । गृहलाई २ सय ५० केजी चालम, ३० केजी प्याकको १ बोरा दाल, २ बोरा(सय केजी) आलु, २० केजी टमाटर सहयोग गरेका थिए । ‘उहाँले बिहानै मात्र सहयोग गर्ने खबर आएको हो’–गृह प्रमुख राईले भने ।
गोलीकाण्डले निक्कै आलोचित बनेका राईले आफ्नो छवि सुधार्ने प्रयास स्वरुप सहयोग गरेको आंकलन गरिएको छ । कार्तिक १४ गतेको उक्त गोलीकाण्ड प्रकरणयता उनी प्रहरीको नजरबाट छलिदै हिडिरहेका छन् । उनीमाथि संघीय समाजवादी पार्टीका जिल्ला नेतालाई गोली प्रहार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । संघीय र एमाले पार्टीबीच गोलीकाण्डलाई नचर्काउने, युवाहरुबीच मेलामिलापको वातावरण बनाउने, उजुर नालेस नगर्नेलगायत सहमति भएपनि प्रहरीले भने मुद्दा दर्ता भइसकेकोले कारबाही प्रक्रिया नरोक्ने प्रतिक्रिया दिएको थियो । तर, उनी सार्वजनिकरुपमा हिडिरहदा पनि प्रहरीले पक्रन भने सकेको छैन ।
इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक मुकुन्द रिजालले भने फरार राईको खोजी भइरहे पनि फेला पर्न नसकेको बताए । ‘मुद्दा दर्ता भइसकेकोले कारबाही प्रक्रिया रोकिन्न, खोजी भइरहेको छ तर फेला परेको छैन’–उनले भने–‘सिभिलमा प्रहरी खटाएका छौं, कहाँ लुकेर बस्छ भन्ने थाह भएको छैन ।’ धरानमा गोप्य सुचना संकलन गर्न प्रहरीको अञ्चल प्रहरी कार्यालयबाट ४ जना र इलाका प्रहरी कार्यालयबाट थप २ जना घुमुवा प्रहरीहरु छन् । फरार राईको खोजीमा पनि प्रहरीले ति घुमुवाहरुमा भर परेपनि अहिलेसम्म कुनै उपलब्धी भएको छैन । ‘सर्वसाधारणबाट पनि सुचना आएको छैन, र घुमुवाहरुबाट पनि उसको बारेमा फलना ठाउँमा छ भनेर कुनै खबर आउन सकेको छैन’–इलाका प्रहरी कार्यालयका अर्का प्रहरी निरीक्षक ओमप्रसाद खनालले भने । घुमुवा र फरार दिवसबीच पहिलादेखिकै उठबस भएको कारणले पक्राउ पर्न नसकेको आशंका भइरहेपनि प्रहरी निरीक्षक खनाल यसलाई अस्वीकार गर्छन । उनले भने–‘उठबस भएको र भगाउन कुनै प्रकारले सहयोग गरेको देखियो भने कारबाही हुन्छ ।’
गत कार्तिक १४ गते बिहानै धरान ११, स्थित शान्ति चोकमा एमालेको भातृसंगठन युवा संघका जिल्ला सदस्य तथा नगर इञ्चार्ज दिवस राईले संघीय समाजवादीका जिल्ला उपाध्यक्ष पारस काङमाङ राई र क्षेत्रीय उपसचिव तथा सुनसरी क्षेत्र नं १ निर्वाचन परिचालन कमिटिका उपाध्यक्ष मदन तामाङलाई गोली प्रहार भएको समाजवादीको आरोप थियो । दुवैले दिवसविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । एमालेले भने आरोप झुटो भएको दाबी गर्दै गोलीकाण्डलाई समाजवादीको प्रोपोगण्डा मात्रै भएको प्रतिक्रिया दिएको थियो ।
........................................................................

मंगलबार धरानको छाताचोकमा पुर्नस्थापनागृहमा खाद्यान्न वितरण गर्दै फरार भनिएका दिवस राई ।

तस्वीर स्रोत: दिवस राईको फेसबुकबाट ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे