गोलीकाण्डमा सहमति भएपनि प्रहरीले कारबाही नरोक्ने

धरान । एक महिनाअघि नेकपा एमाले र संघीय समाजवादी पार्टीबीच भएको गोलीकाण्डको विवादमा राजनैतिक सहमति भएको छ । तर, उक्त घटनामा आएको उजुरीलाई प्रहरीले मुद्दा दर्ता गरिसकेकोले कानुनी प्रक्रियाबाट भने सजिलै उन्मुक्ति मिल्ने अवस्था छैन ।
दुवै पार्टीबीच गोलीकाण्डलाई नचर्काउने, युवाहरुबीच मेलमिलापको वातावरण तयार गर्ने र घटना दोहोरिन नदिनेलगायतको पाँच बुँदे सहमति भएको छ । गत बुधबार भएको उक्त सहमतिमा समाजवादी पार्टीको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज भिम राई र जिल्ला अध्यक्ष गजेन्द्र इस्पोले हस्ताक्षर गरेका छन् भने एमालेको तर्फबाट जिल्ला कमिटि सदस्य एवं नगर इञ्चार्ज प्रदिप भण्डारी र नगर अध्यक्ष तारा सुब्बाले हस्ताक्षर गरेका छन् । दुवै पार्टीले राजनीतिक सहमति भएको भन्दै गोलीकाण्डलाई राजनीतिक घटना बनाउन खोजेपनि मुद्दा दर्ता भइसकेको घटनालाई फिर्ता गराउनु पर्याप्त हुदैन ।
‘मुद्दा दर्ता भइसकेको अवस्थामा बाहिर मिलेर आउदैमा विट मार्ने काम हुदैन’–इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले भने–‘प्रहरीले अनुसन्धान पुरा गरेर अदालत पठाउछौं, कागजात र प्रमाणको गहनता हेरेर अदालतले मात्रै पुपुर्छमा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने फैसला गर्छ ।’ उक्त घटना राजनीतिक भएको भनेर दुवै पार्टीबीच सहमति भएपनि प्रक्रिया पुरा गरेर मात्रै फिर्ता हुनसक्ने उनले बताए । डिएसपी थापाले भने–‘राजनीतिक मुद्दा हो भन्छ भने त्यसको पनि प्रक्रिया छ, मुद्दा फिर्ता लिन मन्त्रिपरिषदबाट निर्णय हुनुपर्छ ।’ डिएसपी थापाले गोलीकाण्डमा सहमति गरिसकेको भन्दै प्रहरी कार्यालय पुग्ने नेताहरुलाई यस्तै जवाफ दिइसकेका छन् ।
एमालेका जिल्ला सदस्य पदम इस्पोले भने घटना व्यक्तिगत नभई चुनावको भएकोले राजनीतिक घटना मान्नुपर्ने बताए । दुवै पार्टीबीच राजनीतिक सहमति भइसकेको भन्दै उनले घटनालाई राजनीतिकरुपमा नै साम्य बनाउने प्रयास भइरहेको बताए । ‘दुवै पार्टीबीच यो बिषयलाई बढाई चढाई नगर्ने, उजुर नालेस नगर्ने, युवाहरुबीच मेलमिलाप गराउने र एमालेले पनि यो बिषयमा केही नगर्ने भनि राजनीतिकरुपमा सहमति भइसकेको छ’–नेता इस्पोले भने–‘चुनावको बेलाको घटना व्यक्तिगत होइन, राजनीतिक सहमतिलाई त्यही ढंगले लिनुपर्छ ।’
समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र इस्पोले पनि दुवै पार्टी र आफ्ना युवाहरुबीच द्धन्द नबढाउन तथा संगठनिक काममा असर नहोस भनेर सहमति गरेको बताए । तथापी, कानुनी प्रक्रियालाई टुंग्याउने जिम्मेवारी एमाले आफैले लिनुपर्ने उनले बताए । ‘व्यवहारिकताको लागि हामीले सहमति गरेका हौं, घटनालाई चर्काउनु भन्दा राजनीतिक दलबीच सहमति गर्नु नै उचित ठान्यौं । तर, कानुनी प्रक्रियामा हामी जिम्मेवारी हुदैनौं’–उनले भने ।
गत कार्तिक १४ गते बिहानै धरान ११, स्थित शान्ति चोकमा एमालेको भातृसंगठन युवा संघका जिल्ला सदस्य तथा नगर इञ्चार्ज दिवस राईले संघीय समाजवादीका जिल्ला उपाध्यक्ष पारस काङमाङ राई र क्षेत्रीय उपसचिव तथा सुनसरी क्षेत्र नं १ निर्वाचन परिचालन कमिटिका उपाध्यक्ष मदन तामाङलाई गोली प्रहार भएको समाजवादीको आरोप थियो । दुवैले दिवसविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । यो घटनाले चुनावको मुखमा दुवै पार्टीबीचको द्धन्दलाई झनै चर्काएको थियो । दुवै पार्टीका युवाहरुबीच भिडन्तको त्रास पनि फैलाएको थियो । एमालेले भने आरोप झुटो भएको दाबी गर्दै गोलीकाण्डलाई समाजवादीको प्रोपोगण्डा मात्रै भएको प्रतिक्रिया दिएको थियो । घटनाका आरोपित राई भने हालसम्म फरार छन् । प्रहरीले उनको घरमा पटक पटक छापा मारेपनि फेला पार्न सकेको छैन । चुनाव अघि एमालेले आयोजना गरेको मोटरसाइकल र्यालीमा भने उनी खुलेआम निस्केका थिए । तरपनि, प्रहरीले समाउन सकेन ।

                       (०७० मंसिर १७ गतेको नागरिक दैनिकमा प्रकाशित)

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे