धरानको अग्र्यानिक गाउँ 'वसन्तटार'


गाउँको नाम नै बसन्तटार । सेउती खोलाको काठे पुल तरेर केही उत्तर लागेपछि वसन्तले स्वागत गर्छ । घरैपिच्छे हरियो तरकारी खेती । हरियो तरकारीको बोटले घरहरुलाई घेरेको छ । मास्तिर डाडैभरि गाउँलेहरु मिलेर संरक्षण गरेको घना सालको जंगल । यहाँ पुगेपछि मन त्यसै रमाउछ । यो काठेपुल(सेउती खोला) पहिला धरान र पाँचकन्या गाविसको सिमाना थियो । गाविस धरानमा समायोजन भएपछि उपमहानगर भयो । अहिले वसन्तटार धरानको वडा २० मा पर्छ ।
वसन्तटारको परिचय यतिमै सिमित छैन । ‘अग्र्यानिक गाउँ’ भनेर यो ठाउँको सुवास फैलदो छ । त्यही गाउँमा फागुन ९ गते बिहान अग्र्यानिक अभियन्ता एवं कृर्षिविद् मदन राई गाउँले कृषकसँग भलाकुसारी गर्न आउने खबर आयो । वसन्तटारका युवा कृषक कृष्ण राईको सोताङ अग्र्यानिक एग्रीकल्चर सेन्टरमा म र दिनेश गजमेर ढिला गरि पुग्यौ । कृष्ण जीले ‘अग्र्यानिक स्वागत छ है’ भन्दै कुर्सीमा बसाले । पत्रकार भोजराज श्रेष्ठ, धरान रनसम्बद्ध युवाहरु अघि नै पुगिसकेका रहेछन् । पाहुनाहरुको गलामा हरियो सागको माला थियो । हेर्दै आनन्द लाग्ने ।
खोटाङको रतन्छा गैरीगाउमा जन्मिएका कृर्षिविद मदन राईलाई पहिलो पटक टिभिमा अन्र्तवार्ता दिदै गर्दा देखेको हँु । त्यसबेलाका पत्रपत्रिकाहरुमा भने कृषकले तरकारी वालीमा अत्यधिक बिषादी प्रयोग गरेको र मानव स्वास्थ्यलाई पनि जोखिम बढाएको बिषय प्रमुखताका साथ छापिन्थ्यो । उनी भने टिभिमा बिषादीरहित अग्र्यानिक खेतीको बारेमा बताउदै थिए । कृर्षिविद् भनेर परिचित तिनै ६६ बर्षीय राईले ९ बर्षसम्म त स्कुल नै नदेखेको रे । धेरै दुःख गरेर पढेका रहेछन् । पढेर नेपालकै पहिलो कृर्षि प्राविधिक बने । तर, उनी अहिले आफ्नो त्यो नियुक्तीलाई पहिलो बिष बाड्ने अधिकृत पो भन्छन् । त्यसबेला उनको काम किसानलाई रासायनिक मल र किरा मार्न भन्दै बिषादी प्रयोग गर्न सिकाउने, वितरण गर्ने । अहिले उनी रासायनिक मल र बिषादी प्रयोगको गर्न हुदैन है भन्दै हिड्छन् ।
मुस्ताङमा अहिले फल्ने स्याउमध्ये ८० प्रतिशत उनले आफनै हातले रोपेका रहेछन् । स्याउ फल्न थालेपछि बजार नपाउदा शुरुमा निक्कै तनाव भएछ । पछि जुक्ति निकालेछन्, घुम्न आउने पर्यटकलाई बिक्री गर्ने । कृर्षिलाई पर्यटनसँग जोड्न सकेको भन्दै उनी खुशी देखिए । उनका अनुसार मुस्ताङको आम्दानी कृर्षि पर्यटनले थेगेको छ । नेपालीको सरदर आम्दानी ७० हजार हुदा त्यहाको प्रतिबर्ष ४ लाख पुग्छ रे । गजबको कुरा सुनाए ।
उनले आफ्नो विगतका तितामिठा अनुभव बाड्दै विरुवालाई माया गर्न सिकाए । देश विदेशमा पढेर, डुलेर भेला पारेको ३ किलो सर्टिफिकेटले पनि काम नदिएपछि ५० बर्षको उमेरमा फेरि ३, ४ कक्षाको विज्ञान किताब पढेको सुनाउदा चकित परे । अबको ५० बर्षभित्र नेपाललाई अग्र्यानिक देश बनाउने अभियानमा छन् उनी । एमाओवादी परित्याग गरेका नेता डा.बाबुराम भटराई उनलाई खोज्दै घरमा पुगेछन्, र उनको अभियानलाई सघाउने वचन दिएपछि उनी पनि नयाँ शक्तिमा गएका रहेछन् । हामीले फोहोर भनेर फल्ने गु र मुत विरुवाको मुख्य खानेकुरा रे । त्यसलाई विरुवामा नहाली अन्यत्रै फाल्नाले प्रकृतिको चक्र टुटेको र रासायनिक मल प्रयोग गर्नुपरेको उनले बताए । अग्र्यानिक खेती भनेको प्रकृतिको चक्रमा बस्नु हो, उनले यसो भने । गु र मुतको महत्व सुनेर दंग पर्यौं हामी । सुन्दा असहज लागे पनि उनले ठेट नेपाली शब्द भन्दै गु र मुत नै भनिरहे ।
विरुवाले अक्सिजन दिन्छ र नै हामीले सास फेछांै । पानी पिएर पिसाब फेछौं । खाना खाएर दिसा गछौं । विरुवाले जे दिन्छ, त्यसलाई उपभोग गरेर फाल्छौं । हामीले फालेको ती तत्व पनि विरुवालाई नै त चाहिन्छ । तर, हामीले फेर्ने सासबोहक गु र मुतलाई विरुवामा नहाली अन्यत्रै फाल्छौं । यसले वातावरण,प्रकृतिलाई पनि दुषित बनाइरहेको छ । कति सरल भाषामा गहन कुरा बुझाइदिए मदन दाईले । उनी त घर र अफिसमा बाल्टिङमै हक्छन् रे । जता गए पनि मुत संकलन गर्ने भाडो बोक्दा रछन् । गु र मुत विरुवामा हाल्छन् । त्यसो गरे पानीको पनि खपत कम हुने । सबैलाई गु र मुत छुट्ट छुट्टै बाल्टिमा संकलन गरेर विधिपुर्वक विरुवामा हाल्ने तरिका सिकाई दिए । स्कुल, कलेजका विद्यार्थीलाई माटो छुन, विरुवा बुझ्न लगाउनुपर्छ, अनि मात्रै देशको उन्नति हुन्छ भने । कति उत्तम धारणा ।
मदन दाईले भनेजस्तै अभ्यास अहिले धरानको वसन्तटारमा भइरहेको छ । यसको अगुवाई ३२ बर्षे युवा कृष्ण राईले गरेका छन् । उनकै सोच र प्रयासमा गाउँभरि अग्र्यानिक खेती अभियान चलिरेको छ । यहाँको खेती प्रविधि हेर्न थुप्रै जिल्लाबाट किसानहरु आइपुग्छन् । बर्षिकरुपमा करोडको हाराहारीमा यहाँका किसानहरुले गाउँमा तरकारी बिक्री गरेर भित्र्याउछन् । अग्र्यानिक खेतीमा नमुना गाउँ बनेको छ, वसन्तटार । हरियो सिवि, टमटर लटरम्म फलेको छ । साग, धनिया, फर्सिको गट्ठालगायतले फागुनमा पनि नाम जस्तै खुलेको छ वसन्तटार ।  
यही वसन्तटारमा डेढ दशकअघिसम्म उब्जाउ केही नहुने । गाउँले बिहानै जंगल गएर दाउरा ल्याउथे । दिउसो धरान बजारमा बिक्री गर्न जान्थे, र साँझमा साग,सब्जी, चामल बोकेर फर्कन्थे । त्यतिबेला वसन्तटार होइन, गाउँको नाम ‘बोक्सीटार’ थियो । ०५६ सालतिर कृष्णले आफ्नै बारीमा काउली रोप्दा गाउँलेहरुले ‘फलाएर त देखा, कान काटिदिन्छु’ सम्म भने । उनले मेहनत गरेर काउलीसँगै टमटर, सिवि, काक्रो, बोडी पनि फलाए । त्यसपछि मात्र छरछिमेकहरु तरकारी खेतीमा तानिए । गाउँको नाम पनि फेरिएर वसन्तटार भयो ।
उनै कृष्णले ०६२ सालदेखि रासायनिक मल र बिषादी न्युनिकरण अभियान शुरु गरेका थिए । अग्र्यानिक खेतीको कुरा गर्थे । सबैले अग्र्यानिक भाई भन्न थाले । तर, उनले हरेस खाएनन् । गाउँमा मल र बिषादी पुर्णरुपमा निषेध गर्ने गरि ५ बर्षे कार्ययोजना तयार गरेछन् । विकल्पमा झारपातहरु संकलन गरेर कम्पोष्ट मल बनाउन थाले । घरमै वंगुर फर्म खोले । गाउँघरको मल पनि किनिदिए । अभियानले ०६७ मा सफलता पायो । वसन्तटारको ९५ घरधुरीमा अहिले अग्र्यानिक खेती मात्र हुन्छ । रासायनिक मल र बिषादी पुर्णरुपमा निषेध छ । दुई दर्जन जति घरधुरी व्यावसायिकरुपमा नै तरकारी खेतीमा छन् । अग्र्यानिक तरकारी खरीद गर्न गाउँमै व्यापारी पुग्छन् । गाउँलेको आम्दानी मनग्ये छ । सधै हसिलो मुद्रामा भेटिने कृष्ण जीको सफलताको कथा सधै सुनिरहुँ लाग्छ ।
अग्र्यानिक तरकारी खेती र विधि हेर्न विभिन्न जिल्लाबाट कृषक समुहहरु अध्ययन भ्रमणमा आइरहन्छन् । छलफल चलिरहदा धरान उपमहानगरपालिकाका योजना शाखा प्रमख इञ्जिनियर सुरज श्रेष्ठ, युएन ह्याबिटयाटका कर्मचारीसहित अग्र्यानिक खेती अवलोकन गर्न आइपुगे । धरान उपमहानगरपालिकाले पाँचकन्यालाई बिशेष कृर्षि क्षेत्र बनाउने नीति लिएको छ । केही सहकार्य गर्न सकिन्छ कि भनेर ह्याबिट्याटका मान्छेलाई देखाउन ल्याएका रहेछन् । गाउले किसान मिलेर वसन्तटार कर्षि सहकारी संस्था गठन गरेका रहेछन् । संस्थामा ५३ जना सेयर सदस्य छन् । यसले कृषकसँग रहेको साना पुजी वचत गर्ने र कृषकलाई नै सस्तो ब्याजमा ऋण दिन्छ । एनजिओसँग मिलेर कृर्षिको विकासको लागि कार्यक्रम पनि गर्छ ।
वसन्तटार धरानको भानुचौकदेखि करिब अढाई किलोमिटर मात्र पुर्वमा छ । धरानेहरु बिहान पैदल हिडेर जादा हुन्छ । फर्कदा साथमा हरियो ताजा तरकारी बोकर आउने । पसिना पनि निस्कने । अग्र्यानिक तरकारी पनि पाइने । स्वास्थ्यको लागि फाइदै फाइदा । दुई पंग्रे, चार पंग्रे सवारी पनि सजिलै पुग्छ । इकोसान चर्पीबाट छुट्टै दिसा र पिसाब संकलन विधि, तिरीमिरी खेती, पुर्वमै पहिलो पटक इन्सेक्ट नेटसहितको पोली हाउस विधिको तरकारी खेती हेर्न पाइने । गैडा जत्रो वंगुर । पोलीब्याग प्रविधिबाट ढुंगा माथि पनि तरकारी फलेको छ । च्याउ खेती छ । भर्खर मात्र वंगुरलाई दाना उत्पादन परीक्षण शुरु भएको छ । अग्र्यानिक गाउँ वसन्तटारमा गएर हेर्ने, सिक्ने थुप्रै कुराहरु छन् ।
 ......................................................................................................................................................

                                                     कृष्ण राई, प्रोपाइटर
                                         सोताङ अग्र्यानिक एग्रीकल्चर सेन्टर
 अग्र्यानिक खेती गर्दा मल, बिषादी, भिटामिन, हर्मोन्सलगायत खरीद गर्नु पदैन । खर्च घटेको छ । माटोको उर्बराशक्ति बढेर उत्पादन पनि बढीरहेको छ । माटो राम्रो हुदा किरा, रोग पनि नलाग्दो रैछ । स्वास्थ्य र वातावरण पनि स्वच्छ रहने । अग्र्यानिक तरकारीको माग बढीरहेको छ ।
उत्पादन क्षमता बढाउन र बाह्रै महिना कसरी फलाउने भनेर केन्द्रीत छौं । अग्र्यानिक तरकारीको आउटलेट, अग्र्यानिक रेष्टुरेष्ट र होम स्टे शुरु गर्ने योजना छ । त्यसको लागि उत्पादन बढाउन कम्मर कसेका छौं । अर्को बर्ष गाउँमै कृर्षि मेला गर्ने योजनामा छौं ।
..............................................................................................................................................
                                            मदन राई, कृर्षिविद् एवं अग्र्यानिक अभियन्ता


यहाँ अग्र्यानिक खेतीको धेरै राम्रो अभ्यास भइरहेको रहेछ । कृर्षिलाई पर्यटनसँग जोड्न सक्नुपर्छ । यहाँ अग्र्यानिक खानाको लागि पर्यटन केन्द्र बनाउनुस् । मान्छे आउछन्, बसेर खान्छन् । फर्कदा तरकारी किनेर लैजान्छन् । अग्र्यानिक रेष्टुरेष्ट खोल्दा राम्रो ।
हम्रा केटाकेटीहरु किताब पढ्छन्, डिस्टिङसन हान्छन् । तर, म शिक्षकलाई विद्यार्थीहरुलाई माटो छुन लगाउ भन्छु, टिचर नै पो मान्दैनन् । सानैदेखि रुखविरुवा चिन्न लगाउनुर्छ नानीहरुलाई । तब मात्रै उ बन्छ, र देश बनाउन सक्छ । देश गरिब भएको कारण नै विरुवा हेर्ने, रेखदेख गर्ने मान्छेलाई सम्मान नभएर हो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे