माओवादी पार्टीलाई घर टहरा हटाउन ३ दिनको अल्टिमेटम

धरान । वनको जग्गा अतिक्रमण गरी निर्माण गरेको घर टहरा हटाउन बाँझगरा सामुदायिक वन उपभोक्ता समुहले एमाओवादी र नेकपा–माओवादीका नेताहरुलाई ३ दिनको अल्टिमेटम दिएको छ । समुहले अतिक्रमण गरी निर्माण गरेको घरमा बुुधबार सुचना टाँसेर चैत २६ गते भित्र घर टहरा हटाई जग्गा खाली गर्न अनुरोध गरेको हो ।
उक्त समयसिमा भित्र घर टहरा नहटाएमा कानुन वमोजिम कार्वाही प्रक्रिया अघि बढाउने समुहले चेतावनीसमेत दिएको छ । ‘हाम्रो आग्रह, पुर्वाग्रह केही पनि छैन । वनको जग्गा अतिक्रमणमा परेकोले संरक्षणको लागि यो कदम चालिएको हो’–समुहका अध्यक्ष राजन मोक्तानले भने–‘विजुली मिटर जडान गर्न सिफारिश दिएकोबारे उपमहानगरपालिका र विद्युत प्राधिकरणमा पनि गएर बुझ्यौं ।’ उनका अनुसार उपमहानगरपालिकाले वडा समितिबाट प्रक्रिया पुर्याएर आएपछि सुकुम्बासीको लागि अस्थायी प्रकृतिको विजुली मिडर जडान गर्ने प्रावधान भएको जवाफ दिएको थियो ।
विद्युत प्राधिकरणमा भने ६ जनाले जनआन्दोलन वस्ती महादेव चोक भनेर स्थायी विजुली जडान गर्न निवेदन पेश गरेको भेटिएको छ । तर, प्राधिकरणले महादेव चोकस्थित हिमाली डिष्टिलरी उद्योग भित्रको वनको जग्गामा निर्माण भएको टहरामा विजुली जडान गरेको हो । पाँच हजार धरौटीमा अस्थायी मिटर जडान गरेको प्राधिकरणले जनाएको छ । यसको समयसिमा ६ महिनाको हुन्छ । ‘जनआन्दोलन वस्तीको लागि भनेर ६ जनाले मिटर जडानको निवेदन दिएको रहेछ, तर स्थलगत हेर्दा नै उद्योग भित्रको जग्गा देखेपछि पनि कसरी जडान भयो ?’–अध्यक्ष मोक्तानले भने । अतिक्रममित जग्गामा ज्योति लिम्बुको नाममा एउटा टहरामा विद्युत मिटर जडान भइसकेको छ ।
..................................

                                               मुठभेटको स्थिति सृर्जना

वन समुहले घर टहरा हटाउन सुचना टाँसे पनि राजनैतिक दल र नेताको आडमा अतिक्रमण शुरु गरेकाहरु अटेर गरेर बसिरहेका छन् । टहरा बनाए पनि अघिल्लो दिन(मंगलबार)सम्म कोही परिवार बसेका थिएनन् । बुधबारदेखि भने लत्ताकपडासहित घर टहरामा बस्न शुरु गरेका छन् भने थप टहराहरु बनाउन थालेका छन् । उनीहरुलाई एमाओवादी पार्टी र केन्द्रीय नेता मुक्साहाङ मेन्याङबो, नेकपा–माओवादी पार्टी र त्यसको नेता शिशिर राईको संरक्षण छ । एमाओवादी नेता अग्नी सापकोटा वनमन्त्री भएकोले पनि उनीहरु त्यसैको आडमा वनको सार्वजनिक जग्गा गैरकानुनीरुपमा हडपेर बसेका हुन् ।
वन समुहले यसअघि नै जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला वन कार्यालय, वन उपभोक्ता महासंघलगायतमा निवेदन दिएर भत्काउने तयारी गरेको थियो । यो थाह पाएपछि पार्टी र नेताको आडमा उनीहरु हट्न नमानेपछि मुठभेडको स्थिति बन्दै गएको छ । चैत २६ भित्रमा घर टहरा नहटाए प्रशासनसँग सुरक्षा माग गरेर जर्बजस्ती खाली गराउने वन समुहको तयारी छ । उता, जग्गा अतिक्रमण गरि बसेका माओवादी नेता, कार्यकर्ताहरु पनि भिड्न तम्तयार भएर बसेका छन् । हिमाली डिष्टिलरी उद्योगले ०४७ सालदेखि नै वन क्षेत्रको करिब साढे ५ कट्ठा जग्गा अतिक्रमण गरी भोगचलन गरिरहेको थियो । राजश्व छलीको मुद्दा परेपछि उद्योग लामो समयदेखि बन्द अवस्थामा छ । वन समुहले ०६२/०६३ मा मात्रै उद्योगले जग्गा अतिक्रमण गरेको थाह पाएपनि राजश्व विभागले उद्योगमा सिलबन्दी गरेको कारण कम्पाउण्ड वाल भत्काउन सकेको थिएन ।
माओवादी शान्ति प्रक्रियामा आएपछि बन्द उद्योगमा एक दशकअघि माओवादीको वाईसिएलले क्याम्प खडा गरेर बसेको थियो । पछिल्लो समय एमाओवादी नेता मुक्साहाङ, नेकपा–माओवादीका कोचिला बिशेष कमिटि सदस्य शिशिरसहित ५ परिवार बस्दै आएको छ । कर फछ्यौट गरेर मुद्दा किनारा लगाइसकेको हुनाले उद्योग पुनः सञ्चालनमा आउने भएपछि ती परिवार उद्योगले भोगचलन गरिरहेको वनको खाली जग्गामा घरटहरा बनाई सर्न लागेको हो । नेताहरुले उद्योगको पुर्वपटिको कम्पाउण्ड भत्काएर गेट बनाएको छ भने गिटी विछ्याएर बाटो पनि बनाएको छ । नेताहरुले भने आफुले नभई भुमिहिनहरुले घर टहरा बनाएको जिकिर गर्दै आइरहेका छन् । एमाओवादी धरान उपमहानगर इञ्चार्ज रामकुमार आङबुहाङले बुधबार एक विज्ञप्ती जारी गर्दै उद्योगले राजश्व छलीबाट उन्मुक्ति पाएपछि हाल उक्त जग्गामा भुमाफियाको चलखेल बढेको दाबी गरेको छ । भुमाफियाको चलखेल र राजश्वमा भएको घोटला ढाकछोप गर्न कुप्रचार गरेको विज्ञप्तीमा दाबी छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे