भेडेटारमा भेडाको मुर्तिसहित भ्यु टावर बन्ने
धरान । पुर्वको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारको पहिचान झल्काउने गरी शैलुङ्ग डाँडामा भेडाको मुर्तिसहित नयाँ भ्यु टावर निर्माण हुने भएको छ । स्थानीयबासी, भेडेटार होटल एशोसिएशनको पहलमा जिविस धनकुटा र झापाको काकडभिट्टास्थित पर्यटन कार्यालयले भेडेटारको पहिचान झल्कने टावर निर्माण गर्न लागेको हो । नयाँ निर्माण हुने भएपछि दुई पटकको भुकम्पले क्षतिग्रस्त भएको भ्यु टावर भत्काउन थालिएको छ ।
नयाँ टावर निर्माण गर्न भुवनबहादुर लिम्बुको अध्यक्षतामा भेडेटार भ्यु टावर निर्माण समिति गठन भइसकेको छ । अध्यक्ष लिम्बुका अनुसार कलात्मक हुने भनिएको नयाँ टावरको निर्माण लागत ५३ लाख हुने अनुमान छ । पर्यटन कार्यालयबाट १४ लाख र जिविसले १२ लाख बजेट बिनियोजन गरिसकेको छ भने आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिने आश्वासन पाएको उनले बताए । ‘भ्यु टावर कस्तो बनाउने भनेर वृहत छलफल गर्यौ, भेडेटारको पहिचान झल्काउने भएकोले भेडाको मुर्तिसहितको टावर बनाउनेमा सहमति जुट्यो’–निर्माण समिति अध्यक्ष लिम्बुले भने । साउन १५ सम्म काम सक्ने लक्ष्य रहेको उनले बताए ।
उहिल्यै भेडेटारसम्म भोजपुर, संखुवासभा, तेह्रथुमलगायत हिमाली पहाडी क्षेत्रबाट मानिसहरु भेडा चराउदै आएर बास बस्ने गरेको बुढापाका एवं जानकारहरु बताउछन् । दुई तीन सयको भेडाको हुल लिएर मानिसहरु आउथे । त्यही हप्ता दश दिनसम्म बसेर भेडाको ऊन कात्थे अनि भेडालाई नै बोकाएर धरान बिक्री गर्न झार्थे । धरानबाट नुन, तेललगायत आवश्यक वस्तु किनेर उनीहरु फर्कन्थे । भेडेटारस्थित शैलुङ्ग डाँडामा बेलायतका युवराज चाल्र्सले समेत पाइला टेकेपछि चाल्र्स प्वाइन्टको नामले डाँडा प्रख्यात भयो । डाँडामा ०५७ सालमा ४ तले भ्यु टावर निर्माण भएको थियो । टावरलाई ०६७ साल र गत बैशाख १२ को भुकम्पले पुनः क्षतिग्रस्त बनाएपछि चढ्न निषेध गरिएको थियो । घुम्न आउने पर्यटकहरु टावर चढेर बादल र भेडेटार बजारले लुकामारी खेलेको दृष्य हेर्न लालयित हुन्छन् ।
Comments
Post a Comment