पूर्वको आकासमा प्याराग्लाइडिङ


प्याराग्लाइडिङ भन्नेबित्तिकै सबैको आँखामा पर्यटकीय नगरी पोखरा झल्कन्छ । पोखराको साराङकोट डाँडा प्याराल्याइडिङको लागि चर्चित ठाउँ हो । दैनिक सयौं पर्यटकहरु त्यही डाँडाबाट प्याराग्लाइडिङको मजा लिन्छन् । पोखरामा व्यावसायिकरुपमा प्याराग्लाइडिङ फष्टाएको दशक नाघिसक्यो । अन्य पर्यटकीय क्षेत्रमा भने व्यावसायिकरुपमा प्याराग्लाइडिङ अझै फष्टाउन सकेको छैन । तर, यही चैत दोस्रो ११, १२ र १३ गते पुर्वको सुन्दर नगरी धरान माथिको आकाश प्याराग्लाइडिङमय बन्यो । चौथो माउण्टेन स्पोर्टस फेस्टिवलअन्र्तगत आयोजित प्रथम प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप २०१६ ले धरानमा मात्रै होइन, समग्र पुर्व क्षेत्रमा नै प्याराग्लाइडिङमार्फत साहसिक खेल पर्यटनको प्रर्वद्धनसँगै विकास र सम्भावनाको पनि ढोका खोल्यो ।
राष्ट्रिय खेलकुद परिषदमाआवद्ध नेपाल प्याराग्लाइडिङ एण्ड ह्याडग्लाइडिङ एशोसिएशन(नेफा)को आयोजना तथा एक्स्ट्रीम धरानको संयाजनमा तीन दिने च्याम्पियनसिप भएको थियो । च्याम्पियनसिपमा ४० जना सोलो पाइलट र १३ जना टेण्डम पाइलटहरु धरान २४ स्थित रमिते डाँडाबाट उडेका थिए । धरानको आकास ३ दिनसम्म प्याराग्लाइडिङ उडानले रंगिएको थियो । प्याराग्लाइडिङ सम्बन्धित राष्ट्रियस्तरको कार्यक्रम यसअघि पुर्वमा कही भएको थिएन । पुर्वमा पनि प्याराग्लाइडिङको व्यावसायिक उडान फष्टाउन सक्छ भन्ने सन्देश दिन यो च्याम्पियनसिपले सफल भयो ।

                     पुर्वमा प्याराग्लाइडिङको शुरुवात 

पुर्वमा सबैभन्दा पहिला धरानमा नै प्याराग्लाइडिङको परीक्षण उडान(टेष्ट फ्लाइट)भएको थियो । उडान गर्ने पाइलट धरान १५ का तारामणी राई थिए । उनले करिब ८ बर्षअघि अर्थात सन् २००८ मा पहिलो पटक भेडेटार नजिकैको स्कुल डाँडा(देवीथान)बाट परीक्षण उडान गरेका हुन् । उनले स्कुल डाँडा पछि धरान वरीपरिका अन्य उपयुक्त डाँडाहरु चहार्दै नियमितरुपमा परीक्षण उडान गरिरहे । ०६७ सालमा तत्कालीन धरान नगरपालिकाको स्वर्ण महोत्सव र बुढासुब्बा गोल्डकपमा पनि पोखराबाट आएका अन्य पाइलटसँगै उनले प्याराग्लाइडिङ गरेका थिए । त्यसैले धरान र पुर्वमै पहिलो पटक परीक्षण उडान गरेर प्याराग्लाइडिङको जग बसाल्ने श्रेय तारामणीलाई जान्छ । राईका अनुसार उनी पोखरामा प्रशिक्षण लिदा मात्र दुई तिन वटा कम्पनीले व्यावसायिक उडान थालेको थियो । प्याराग्लाइडिङको भविष्य देखेर आफ्नै ठाउँमा पनि केही गर्ने सोचले उनी धरान आएर परीक्षण उडान गर्न थालेका थिए ।
धरानको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने पहिलो पाइलटकोरुपमा उनी सम्मानित पनि भइसकेका छन् । यद्यपी, उनीभन्दा अघि नेपालकै पहिलो पाइलट राजेश वम्जनले फ्लाइङ गरेको चर्चा छ । तर कहिले र कुन स्थान हो ? तारामणी भन्दा अघि वा पछि ? भन्ने यकिन छैन । ‘विदेशीले पनि फन् फ्लाइङ गरेको भन्ने चर्चा छ, उनीहरुले उडाए पनि एक दुई पटक फन फ्लाइङ गरे होलान् । नियमित टेष्ट फ्लाइट गर्ने तारामणी नै पहिलो व्यक्ति हुन्’–धरानस्थित बुढासुब्बा प्याराग्लाइडिङ प्रालिसम्बद्ध राम राई भन्छन् । नियमित परीक्षण उडान थालेपछि अरुलाई पनि प्याराग्लाइडिङप्रतिको रुचि बढ्यो । धरानका लेखमणी जिमी, राम रार्ई, देशवीर जिमी, चुमन सुनुवार, मणी तामाङलगायत पोखरामा गएर प्रशिक्षण लिए । यो सन् २०११ तिरको कुरा हो । यिनै युवाहरुले तारामणीले खनेको गोरेटोलाई अझ फराकिलो बनाउने काम गरे ।
पोखराबाट फर्किए पछि लेखमणी जिमी, राम राई, चुमनलगायत युवाहरु मिलेर धरान प्याराग्लाइडिङ क्लब गठन गरेका थिए । पहिलो पटक परीक्षण उडान गरेको स्थान स्कुल डाँडा भन्दा केही तलको छोटीमोरङ्ग डाँडालाई टेक अफ्स्थलकोरुपमा रोजे । झाडीले घेरिएको उक्त डाँडालाई उनीहरुले सफाई गरेर टेकअफस्थलकोरुपमा विकास गरे भने रमिते डाँडाबाट पनि परीक्षण उडान गरिरहे । ‘कोर्ष सकेर आएपछि हामी पुर्वाधार निर्माणमा केन्द्रीत भयौं । धरान आसपासको डाँडाबाट टेष्ट फ्लाइट गर्ने र उपयुक्त ठाउँलाई टेकअफ्स्थल बनाउन तिर लाग्यौं’–प्याराग्लाइडिङको शुरुवाती समय स्मरण गर्दै बुढासुब्बा प्याराग्लाइडिङका अध्यक्ष एवं एक्स्ट्रीम धरानका संयोजक लेखमणी जिमी भन्छन् ।

                                         व्यावसायिक उडान 

छोटीमोरङ्गको टेकअफ्स्थल खरीद गरेर अहिले धरान स्काई एडभेञ्चर प्रालिले त्यहाँबाट व्यावसायिक उडान शुरु गरिसकेको छ । स्काईले २ जना टेण्डम पाइलट राखेका छन् । स्काईका सञ्चालन रोशन अधिकारीका अनुसार धरानमा विस्तारै प्याराग्लाइडिङ गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । तीन दिने प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपले पनि सर्वसाधारणमा प्याराग्लाइडिङप्रति धेरै चासो र आकर्षण बढाईदिएको छ । लामो समयदेखि पुर्वाधार निर्माणमा मात्रै केन्द्रीत रहेको लेखमणी जिमी, राम राई मिलेर स्थापना गरेको बुढासुब्बा प्याराग्लाइडिङ प्रालि पनि व्यावसायिक उडानको तयारीमा छ । यो प्रालिले सबै प्रक्रिया पुरा गरिसकेको भएपनि एओसी पाउन भने बाँकी छ ।

                                      प्रचुर सम्भावना 

गर्मी एवं मनसुनको बेला छिमेकी मुलुक भारतको विहार, पश्चिम वंगालबाट थुप्रै भारतीय पर्यटकहरु भेडेटार घुम्न आउछन् । ती पर्यटकहरुलाई प्याराग्लाइडिङले आकर्षित गर्नसक्छ । सरकारले किमाथांका नाका खोल्न प्राथमिकता दिएको छ । यो नाका सुचारु हुदा चीनीया पर्यटकहरु आगमन हुन्छ । उनीहरुको रोजाईमा पनि प्याराग्लाइडिङ हुनेछ । पोखरामा प्याराग्लाइडिङ गर्ने पर्यटकहरुमा अधिकतर चीनीयाहरु नै छन् ।
अबको केही बर्षमा पोखरामा क्षेत्रीय विमानस्थल तयार हुनेछ भने प्याराग्लाइडिङ व्यावसायलाई सिमित क्षेत्रमा सिमित बनाउनेछ । किनभने, पोखराको आकाशमा ठुलो क्षेत्र उडान निषेधित क्षेत्र हुनेछ । त्यसैले प्याराग्लाइडिङ कम्पनीहरु पोखराको विकल्पमा उपयुक्त थलोको खोजीमा छन् । उनीहरुको रोजाईमा पुर्व क्षेत्र(धरान) पर्नसक्छ । ‘पोखरामा पनि एक दुई बर्षमा नै प्याराग्लाइडिङले व्यावसायिक फड्को मारेको होइन, दश बाह्र बर्ष लाग्यो’–बुढासुब्बाका अध्यक्ष जिमी भन्छन्–‘प्याराग्लाइडिङ पुर्वमा पनि प्याराग्लाइडिङको सम्भावना छ, तर समय लाग्छ ।’
व्यावसायिक प्याराग्लाइडिङ शुरु भएपछि रोजगारी सृर्जना हुन्छ । एउटा कम्पनीमा ६ जना टेण्डम पाइलटले रोजगारी पाउछन् भने टेकअफस्थल पुर्याउने र ल्याण्डिङस्थलबाट पर्यटक ल्याउन यातायातले काम पाउछ । होटल व्यावसाय पनि फष्टाउछ । अहिले पोखरामा ६४ कम्पनी छ । एउटा कम्पनीमा ६ जना पाइलटले रोजगारी पाएका छन् ।  नेपालमा प्याराग्लाइडिङ शुरु भएको झण्डै दुई दशकमा गत असोजमा सरकारले पहिलो पटक पाइलटलाई लाइसेन्स वितरण पुर्वका ६ जनाले पनि पाएका थिए । टेण्डम पाइलटको लाइसेन्स पाउनेहरु देवविर जिमी, मणिराज तामाङ, एरोन राई(प्रज्वल), जीवनकुमार थेवे, लाक्पा शेर्पा र नरेश राई हुन् ।

                                              भावी योजना 

लामो समयदेखि प्याराग्लाइडिङको पुर्वाधार निर्माणमा जुटेका लेखमणी जिमी व्यावसायिक उडानसँगै स्कुल(प्रशिक्षण केन्द्र) सञ्चालन गर्ने योजनामा छन् । नेपाल सरकारले पनि स्कुलको अवधारणा अघि बढाएकोले धरानमा पनि यो सम्भव भएको उनी बताउछन् । धरान २४ स्थित रमिते डाँडालाई स्कुलकोरुपमा विकास गर्ने उनको योजना छ । गएको एकुरेसी च्याम्पियनसिपको मुख्य आयोजक नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ संघ(नेफा)ले रमिते डाँडालाई प्रशिक्षण केन्द्रकोरुपमा विकास गर्न पहल गर्न प्रतिवद्धता जनाएको छ । संघले सम्भाव्यता अध्ययन गर्ने वचन पनि दिएको छ ।
प्याराग्लाइडिङ स्कुल सञ्चालन गर्न सके धेरै पाइलट उत्पादन हुने र प्याराग्लाइडिङले व्यावसायिक फड्को पनि मार्ने जिमीको भनाई छ । ‘स्कुल नभई नयाँ पाइलट उत्पादन हुदैन, पाइलट नभई व्यावसायिक कम्पनीले उडान गर्न सक्दैन’–जिमी भन्छन्–‘पुर्वको युवाहरु प्याराग्लाइडिङको पाइलट कोर्ष गर्न पोखरा पुग्नैपर्ने बाध्यता छ, यही स्कुल भयो भने खर्च जोगिएर धेरै राहत हुन्छ ।’ नेपालमा पहिलो स्कुलकोरुपमा सानुबाबु सुनुवारको बाबु एडभेञ्चरले स्याङ्जाको शिरकोटमा सञ्चालन गर्ने सरकारबाट अनुमति पाएको छ । हाल नेपालमा ५ सयको हाराहारीमा पाइलट आवश्यक छ, तर पर्याप्त जनशक्ति नभएको नेफाले जनाएको छ ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे