पोएट्री पार्टीमा ‘फालेलुङ र काबेली बजार’को चर्चा

धरान । भित्तैभरि र्याकमा पुस्तक । त्यसमाथि मुर्धन्य साहित्यकारहरुको लहरै तस्बिर । टेबलैभरि दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिका । एक एक गर्दै धरान, तरहरा, इटहरीका दर्जन बढी युवा कवि, साहित्यकारहरु भेला भए । धरान १८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयमा शनिबार बिहान छुट्टै चहलपहल थियो ।
पुस्तकालयले ०४८ सालमा पहिलो पटक आयोजना गरेको युवा कविता महोत्सवमा कवि सन्तोष थेवे प्रथम भएका थिए । उनको कृति ‘फालेलुङ र काबेली बजार’ भर्खर प्रकाशित छ । पुस्तकालयले फरक नाम दिएर आयोजना गरिरहेको ‘पोएट्री पार्टी’को चौथो श्रृंखलाको शुरुवात थेवेबाटै भयो । उनले त्यही कृतिबाट ‘सम्झनाको पुरानो रुमाल’ शिर्षकको गहकिलो कविता सुनाए यसरी,
बिहे–दान
लोग्ने–स्वास्नी
       छोरा–छोरी
  घर–व्यावहार
       छर–छिमेक
     यस्तै त रै’छ नि दुई दिने जिन्दगी
     अब त बिर्सियौ पनि होला ।
स्वर्गीय कवि विमलका बुबा पुर्णबहादुर गुरुङ घरि घरि थर्मसमा चिया बोकेर आउछन्, र कवि, स्रोताहरुलाई बाँड्छन् पनि । उनी पुस्तकालयका संरक्षक, अध्यक्ष हुन् । छोराको स्मृतिमा उनले स्थापना गरेको पुस्तकालयमा आउने जो कोहीलाई पनि निःशुल्क चिया, बिस्कुटको व्यवस्था गरेका छन् । थेवे पछि अर्का प्रखर युवा कवि हेमन यात्रीले थोरै भुमिकासहित कवि थेवेकै नयाँ कृतिबाट ‘मतलवी सपना’ कविता वाचन गरे । ‘छोटो समयमा २ जना कविको पुस्तक निस्किएको छ, यसमा हामीले गर्व गर्नुपर्छ’–उनले भने । थेवेको संग्रह प्रकाशन हुनुअघि कवि सुदिप पाख्रिनको ‘दगुरिहिड्ने चौबाटो’ विमोचन भएको थियो । कवि पाख्रिन पनि हेमन यात्रीकै लहरमा बसेका थिए । थेवेको कृति मोति सँस्मरण समिति धरानले र पाख्रिनको कलरव नामक संस्थाले प्रकाशन गरेको हो । पुस्तक छपाउन राजधानी(काठमाण्डौं) ताक्नुपर्ने बाध्यता तोडेपछि यी दुवै पुस्तकको विमोचन भने कविद्धयले उतै गरेका थिए । कवि हेमन यात्रीले थेवेको कविता वाचन गरे यसरी, ः
कुनै बेला
दुईटा मन
ठ्याप्प जोडिएर एउटै हुँदा
म तिमीलाई सपना, विपना जताततै देख्थेँ ।

‘पोएट्री पार्टी’को चौथो श्रृंखला कवि सन्तोष थेवेमा स्पेशल जस्तै बनेको थियो । उपस्थित अधिकांश कविहरुले उनको नयाँ कृतिको प्रसंसा गर्दै कविता वाचन गरे । युवा कवि सुदिप पाख्रिनले थेवेको कृतिबाट सरु शिर्षकको कविता पढे भने रंगकर्मी राजेन्द्र रिमालले पनि थेवेकै उत्सव शिर्षकको कविता सुनाए । ‘यो कविता मेरै लागि लेखिदिए जस्तो लाग्छ । एक ताका हामी सँगै लेख्थ्यौ, बीचमा ऊ हरायो । हामीले लेख्न छोड्यौं तर उसले लेख्न छोडेनछ । त्यही भएर अहिले किताब निस्कियो’–उत्सव कविता पढ्नुअघि रिमालले थेवेबारे भने । श्रृंखलामा डा.भीम खतिवडाले देशको माया शिर्षकमा कविता सुनाए भने पेम्बा शेर्पाले माइला र बाकस शिर्षकमा सुनाए । पत्रकार एवं कवि प्रदिप मेन्याङ्बो, प्रवेश लिम्बु, तरहराका विवेक विवश, विनय सरगमले पनि कविता र गजल सुनाए ।
नयाँ  र अघिल्लो पुस्ताका कविबीचको दुरी हटाउन पुस्तकालयले अन्र्तक्रियात्मक ‘पोएट्री पार्टी’ श्रृंखला शुरुवात गरेको हो । पहिला कवि विमलले बुद्ध वाचनालयमा धरानका कवि, साहित्यकारहरुलाई भेला गराएर कविता वाचनको कार्यक्रम गर्थे । त्यसैलाई नयाँ तरिकाले शुरुवात गरिएको पुस्तकालयका सचिव चेवन राईले बताए । ‘विमलले बुद्ध वाचनालयमा यस्तै कार्यक्रम गर्थे, त्यसलाई नयाँ तरिकाले पुर्नजीवन दिने प्रया गरेका हौं । नयाँ र अघिल्लो पुस्ताबीचको दुरी हटाएर सम्बन्ध, सम्पर्क बढाउने प्रयास पनि हो’–उनले भने । श्रृंखला हरेक महिना हुन्छ । कवि हेमन यात्रीले एक कवि, लेखकले अरुलाई नजिकबाट बुझ्ने माध्यम भएकोले श्रृंखलाले निरन्तरता पाउनुपर्ने धारणा राखे ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे