भुमाफियासँग मालपोत र नापी कर्मचारीको मिलेमतो, बस्तीमा डोजर लगाउने धम्की

धरान । तीन दशकदेखि बसोबास गरिरहेको मावन वस्तीको जग्गा आफ्नो भएको दाबी गर्दै केही भुमाफियाहरुले धरान २७ पटनालीका स्थानीय बासिन्दाहरुलाई डोजर लगाएर घर भत्काईदिने धम्की दिएको खुलेको छ । फिल्डबुकमै कायम नभएको जग्गालाई बकसमा पाएको भन्दै भुमाफियाहरु प्टनालीस्थित बस्तीलाई नै खाली गराउने प्रयासमा छन् । उनीहरुलाई मालपोत र नापी कार्यालयका कर्मचारीलेसमेत साथ दिएको भेटिएको छ ।
गत शनिबार जग्गा नापी गर्ने भन्दै मालपोत कार्यालय धरानका मुद्दा फाँटका सुब्बा डिल्ली कोइराला र नापी कार्यालयका अमिन डोजेन्द्र काफ्ले पनि पटनाली पुगेका थिए । तर, स्थानीयको विरोधपछि उनीहरु सफल भएनन् । नेपाल बसोबास बस्ती संरक्षण समाजका जिल्ला सचिव घनश्याम रिजालले समेत भुमाफियाहरुकै पक्षमा बोलिदिएको स्थानीयको आरोप छ । पटनालीमा ९० घरधुरी सुकुम्बासीहरु करिब तीन दशकअघिदेखि ऐलानी जग्गामा बसिरहेका छन् भने २०४६ सालतिर जंगल फाँडेर दर्जन घरधुरीको पनि बसोबास छ । ऐलनी जग्गामा रहेका ९० घर सुकुम्बासीलाई ०४५ सालमा बैकुण्ड बहादुर चन्दको अध्यक्षतामा गठित सुकुम्बासी आयोगले लगतसंकलन गरि कित्ताकाटसमेत गरिदिएको स्थानीय बताउछन् ।
स्थानीयका अनुसार धरान विजयपुरका समीर पोख्रेल नामका व्यक्तिले २०१६ सालतिरको तिरो तिरेको भन्दै २ नम्बर रसिद लिएर जग्गा खोज्दै पटनाली पुगेका थिए । पोख्रेल जग्गा कारोबार पनि गर्छन् भने मालपोत र नापी कार्यालयमा रहेर सेवाग्राहीको काम गरिदिने भन्दै विचौलियाको काम पनि गर्ने उनीसँग परिचितहरु बताउछन् । हजुरआमाबाट आफ्नी आमाले वकस पाएको दाबी गर्दै उनी पटनाली आएको स्थानीयको भनाई छ । रसिदमा उल्लेख भएको जग्गा कुन ठाउँमा पुग्छ भन्ने हेक्का नै नभएका पोख्रेलले शुरुमा ऐलनीमा बसोबास गरेको वस्तीमा पुगे । स्थानीयले ४५ सालमा नै सुकुम्बासी आयोगले लगत लिएर कित्ताकाट गरिदिएको बताएपछि उनीहरु वनको जग्गा फाडेर बसेको वस्तीमा पुगेर जग्गा नाप्ने प्रयास गरेका थिए । ‘१६ देखि २६ सालसम्म तिरो तिरेको भन्दै झुटो विवरण ल्याएर हाम्रो जग्गा छ भन्थे । उनीहरुको जग्गा भए २०२७ सालमा नापी हुदा धनी उपस्थित भएर किन श्रेस्ता कायम गरेनन् ?’–पत्रकार सम्मेलन गर्दै स्थानीय राजेन्द्र वाग्लेले भने–‘मालपोत, नापीको कर्मचारी पनि पैसाको लोभमा भुमाफियासँग मिलेको बषौंदेखि बसिरहेको हामीलाई उठिबास लगाउने धम्की दिदैछ ।’
स्थानीयका अनुसार भुमाफियाहरु कहिले प्रहरी, मालपोत र नापीका कर्मचारीसहित आएर डोजर लगाउने धम्की दिने गरेका छन् भने कहिले गुण्डा प्रवृत्तिका युवाहरु ल्याएर तर्साउने गरेका छन् । साविक विष्णुपादुका गाविस धरानमा समायोजन भएर उपमहानगरपालिका बनेको र चतरामा कोशी पुल बनेपछि धरान चतरा बाटोको स्तरोन्नती हुने भएकोले भुमाफियाहरु जग्गा कब्जा गर्ने षडयन्त्रमा लागेको स्थानीयको भनाई छ । ‘जग्गा कहाँ थियो थाहै छैन । सरजिमिन गर्न भन्दै मालपोत, नापीको मान्छे पनि लिएर आएको थियो । सही गर्दिनुस् ५० हजार दिन्छौं, घर बसेको धनीपुर्जा पनि दिलाइदिन्छांै भन्थे’–पुर्णबहादुर निरौलाले भने–‘प्रमाण लिएर आउनुस्, भन्दा तपाईहरु मिल्नु भएन भने डोजर लगाइदिन्छौं, बालबच्चा जोगाउनुस् भन्दै धम्क्याए ।’
पुर्व वडा अध्यक्ष जसबहादुर राईका अनुसार २०२७ सालमा नापी हुदा जग्गा धनी कोही नभेटेपछि नापेर ८ नम्बर ऐलानी भनेर छोडिएको थियो । उक्त जग्गामा ४० सालदेखि हालसम्म ९० घरधुरी सुकुम्बासीहरुको बसोबास छ । पछि, ०४६ सालतिर जंगल फडानी गरेर पुनः अर्को वस्ती बसेको थियो । करिब एक बिघा जग्गामा दर्जन घरपरिवारको बसोबास छ । ‘बसोबास बस्ती संरक्षण समाजका जिल्ला सचिवले पनि सहमति दिनुस्, तपाईको भाग पाउनुहुन्छ, उब्रेको मात्रै उहाँहरुले खाने हो भन्थे’–नाम उल्लेख नगर्न भन्दै एक स्थानीयले भने ।
मालपोतका निमित्त प्रमुख फडिन्द्र भटराईले जग्गा प्रशासनको काम बाहेक कसैको पनि घरजग्गा खाली गराउने अधिकार मालपोतलाई नभएको बताए । निवेदन परेको अवस्थामा विवादित जग्गाको वस्तुस्थिति बुझ्न फिल्ड जानुपर्ने भएपनि पटनालीको जग्गाबारे कार्यालयले आधिकारिकरुपमा कुनै पनि कर्मचारीलाई नखटाइएको बताए । ‘पटनालीको जग्गाबारे कसैको निवेदन परेको पनि छैन, र हामीले कसैलाई आधिकारिकरुपमा पठाएका पनि छैनौं’–मालपोतका प्रवक्तासमेत रहेको भटराईले भने–‘यसबिषयमा के भएको हो, बुझ्छौं ।’ फिल्डबुकमा कायम नभएको जग्गा कसैको नाममा दर्ता गर्नै नमिल्ने उनको भनाई छ ।
मुद्दा फाँटका सुब्बा कोइरालाले भने नापीका अमिन डोजेन्द्र आफ्नो साथी भएको कारण उनको आग्रहमा व्यक्तिगतरुपमा पटनाली गएको स्वीकारे । कार्यालयमा २०१६ सालको मौजाको लिखत लिएर आएपनि त्यसअनुसारको जग्गा कहाँ पर्छ भन्ने मालपोतले हेर्न नसक्ने भएकोले नापी गएर फिल्डमा नाप्न सल्लाह दिएका बताए । ‘म साथीले भनेर मात्रै गएको हो, मेरो २ बिघामा २ घर मात्रै बसेको छ भन्थे, तर त्यहाँ त धेरै घर देखेपछि यो जग्गा तपाईको हुदैन भनिदिएको हुँ’–आफुमाथिको आरोपबारे उनले भने । नापी कार्यालयमा पुग्दा प्रमुख र निमित्त प्रमुख कोही पनि भेटिएनन् । अमिन डोजेन्द्र र जग्गाधनी भनिएको पोख्रेलसँग पनि सम्पर्क हुन सकेन ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे