एमाले धरानको सातौं अधिवेशनः सर्वसम्मतको सम्भावना न्युन
धरान । नेकपा एमाले धरान उपमहानगर बिशेष इलाका संगठन कमिटि धरानको ७ औं नगर अधिवेशन शुक्रबारदेखि शुरु हुदैछ । धरानको भानुचौक हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । बिहिबार पत्रकार सम्मेलन गर्दै एमालेले अधिवेशनको सम्पुर्ण तयारी पुरा भइसकेको एमालेले जनाएको छ ।
अधिवेशन तयारीमा सम्पुर्ण पार्टी पंक्ति परिचालन गरिएको जनाउदै एमाले अध्यक्ष तारा सुब्बाले उद्घाटन समारोहमा १५ हजार जनताको सहभागीता हुने बताए । अधिवेशनको उद्घाटन सत्र भानुचोकमा भएपनि बन्दसत्र भने दिउँसो ४ बजेपछि सदन सभा हलमा हुनेछ । प्रत्येक वडाबाट ब्यानरसहित जुलुस निस्केर भानुचौकमा सभामा परिणत हुनेछ । दुई दिने अधिवेशनको बन्दसत्रबाट धरानमा एमालेको ६१ सदस्यीय नयाँ नेतृत्व चयन पनि हुनेछ ।
धरानमा स्थानीय र संसदीय निर्वाचनमा वर्चश्व कायम राख्दै आएको कारण कार्यकर्ता र सर्वसाधारण तहमा कस्तो नेतृत्व आउला भन्ने निक्कै चासो छ । तेस्रो कार्यकालको लागि पुनः अध्यक्षमा उठ्ने चाहना गरेका सुब्बाले जनता, कार्यकर्ताहरुको अपेक्षालाई पुरा गर्ने सक्षम नेतृत्व अधिवेशनबाट चयन हुने बताए । ‘कार्यकता, जनताले अपेक्षा गरेजस्तो नै अधिवेशनबाट सक्षम नेतृत्व आउनेछ भन्ने विश्वास लिएका छौं’–उनले भने–‘प्रतिनिधि छनौट अत्यन्तै सौहार्दपुर्णरुपमा भएकोले अधिवेशनको बन्दसत्र र नयाँ नेतृत्व छनौट पनि सौहार्दपुर्ण हुन्छ ।’
अधिवेशनको पुर्वसन्ध्यामा दुई पटक नेतृत्व हाँकिसकेका सुब्बाले अध्यक्ष पदमा खुलेर आकाक्षी देखिएका छन् । तर, सर्वसम्मत हुने सम्भावना भने न्युन छ । मदन भण्डारी फाउण्डेशनका जिल्ला सचिवसमेत रहेका ब्लाष्ट टाइम्सका सम्पादक÷प्रकाशक किसोरकुमार कार्कीको पनि अध्यक्षमा उम्मेद्वारी दिने चर्चा छ । स्वयम कार्कीले पनि यो चर्चालाई नकार्न सकेनन् । ‘पार्टीमा सक्रियरुपमा थिएँ, त्यसैले नेतृत्वमा जाने सम्भावना रहन पनि सक्छ । त्यसैले चर्चा भएको हो’–उनले भने–‘अब नेतृत्वमा जानुपर्छ भन्ने मानसिकता बनाएको छुँ, साथीहरुसँग छलफल हुदैछ रुचाइयो भने जानुपर्छ ।’ तर, उनी यसअघि कमिटिमा सदस्य पनि नभएकोले सिधै अध्यक्ष पदमा उठ्न नपाउने पनि मत छ ।

सदस्य पदमा आकांक्षीहरु अधिकांश युवाहरु छन् । सदस्यमा शेरबहादुर परियार, नवराज राई, सुवास पौडेल, हिमाल लिम्बु, विद्यार्थी नेता टिका माङले, सन्तोष कोइराला, सुसिल सुवेदी, लक्ष्मी बाँनिया, राजेन्द्र राई, ठाकुर कार्की, दिवस राईलगायत आकांक्षी भएको एक नेताले बताए । विधानले ३५ सदस्यीय कमिटि बनाउने व्यवस्था गरेपनि अधिवेशनबाट ६१ सदस्यीय चयन हुने अध्यक्ष सुब्बाले बताए । माथिल्लो कमिटिबाट स्वीकृति लिएर सदस्य संख्या बढाउन मिल्ने प्रावधान रहेको छ ।
अधिवेशनको लागि बैशाख १३ गते सबै शाखा कमिटिहरुबाट सर्वसम्मत प्रतिनिधि चयन भइसकेको छ । खुलातर्फ ३ बराबार एक जना र महिला तथा दलितमा २ जना बराबर एक जना गरी ३ सय ७४ प्रतिनिधि चयन भएका छन् । विधान वमोजिम छनौट भएका प्रतिनिधिको संख्याको ५ प्रतिशित मनोनयन गर्न पाउने व्यवस्थाअनुसार थप १९ जना मनोनयन गरिएको पनि एमालेले जनाएको छ । ती प्रतिनिधिमध्ये १ सय ६२ महिला र ३७ दलित छन् । उद्घाटन सत्रमा विभिन्न क्षेत्रमा बिशेष योगदान पुर्याएका ७ व्यक्तिहरुलाई सम्मान पनि गरिनेछ ।
Comments
Post a Comment