धरान र पानबारी जोड्ने पुल बन्दै


धरान । धरान –पानवारी हुदै याङशिला पुग्ने तल्लो बाटोमा पर्ने सेउती खोलामा पक्की पुल निर्माण हुने भएको छ । बर्षामा बाढीले धरान बजारसम्म आउजाउ गर्न समस्या झेलिरहेका पानवारीका बासिन्दाहरु सेउतीमा पुल बन्ने भएपछि हर्षित छन् । पुलको मंगलबार सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईले सिलान्यस गरे ।
पुलको लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विनियोजना गरेको बजेटबाट जिविस सुनसरीमार्फत पुल निर्माण हुन लागेको हो । विकासप्रेमी तथा पानवारीबासी मातृका प्रसाद भटराईको बिशेष पहलमा बजेट निकासा भएको हो । पुल निर्माणको ठेक्का बिटि÷शाह जेभी इनरुवाले ४ करोड ७६ लाख रुपैयामा पाएको छ । कम्पनीले १३ मार्च २०१६ मा काम शुरु गरेर २८ फेब्रुअरी २०१८ मा निर्माण कार्य सक्नुपर्ने सम्झौता छ । धरान १५ र २३ वडाको बीचमा पर्ने पुलको लम्बाई १०१.९ मिटर हुनेछ भने चौडाई ७.२ मिटर हुनेछ ।
पानबारीबासी मानबहादुर योञ्जन पुल निर्माण भए विद्यार्थीलाई धरानको कलेज आउन जान, कृर्षिजन्य उत्पादनलाई धरानको बजारसम्म पुर्याउन धेरै छिटो र सहज हुने बताए । ‘बर्खामा त आवातजावत नै बन्द हुन्थ्यो, हामी घुमाउरो बाटो हुदै धरान बजार पुग्नुपथ्र्यो । पुल बनेमा शिक्षा, स्वास्थ्य, कृर्षिजन्य वस्तु बिक्रीमा लैजानको लागि धेरै राहत हुन्छ’–उनले भने । धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले पुल निर्माण भएपछि अलग लगल भएको साविक र नयाँ धरान एकअर्कामा सम्पर्क हुने बताए । पाँचकन्या गाविस धरानमा समायोजन भएर उपमहानगरपालिका बनेपनि सेउतीमा पुल नहुदा सास्ती खेप्नु परेको छ । सेरा खोलामा पुल बनेपछि केही राहत पाएका पानवारीबासीले बर्खायाममा धरान आउन जंगलबाट कोशी राजमार्गको सेउती पुल हुदै जानुपर्छ ।
निर्माण हुन लागेको पुलको बाटोलाई सरकारले चुरे घाटी फेदी सडककोरुपमा विकास गर्ने अवधारणा बनाएकोले पनि यसको महत्व छ । यो बाटो हेटौडादेखि झापाको दमकसम्म ठोकिन्छ । तर, धरानबासीहरुले भने एक समिति बनाएर यो सडकलाई झापाको बाहुनडाँगी हुदै काकडभिट्टासम्म जोड्ने पहल गरिरहेका छन् । ‘दमकसम्म धरानबाट ६१ किलोमिटर मात्र छ । यो बाटोलाई बाहुनडागी हुदै काकडभिट्टासम्म जोड्न पहल गरिरहेका छौं’–समाजसेवी वासुदेव गौतमले भने ।
...................................................................

                                             स्टिमेटभन्दा ३७ प्रतिशत कममा ठेक्का

यो पुल निर्माण गर्न गत बर्ष विस्तृत अध्ययन भएको थियो । अध्ययनअनुसार कुल ७ करोड ९४ लाख रुपैया लागत स्टिमेट भएको थियो । स्थानीय विकास मन्त्रालयले पनि त्यही मात्रामा बजेट विनियोजन गरेको थियो । तर, जिविसले टेण्डर आह्वान गर्दा इनरुवाको कम्पनी बिटि÷शाह जेभीले ४ करोड ७६ लाख ४४ हजार ९ सय २७ रुपैयामा ठेक्का पार्यो । यो रकम मन्त्रालयले स्टिमेट गरेभन्दा करिब ३७प्रतिशत कम हो । सबैभन्दा कम रेटलाई ठेक्का दिने नेपालमा कानुनी प्रावधान छ ।
करिब ८ करोड लागत लाग्ने अनुमान गरिएको पुल पौने ५ करोडमा बन्न सम्भव छ ? सम्भव भएपनि गुणस्तरीय बन्ला ? मंगलबार पुलको सिलान्यास हुदै गर्दा जिविसका इञ्जिनियर र ठेकेदार कम्पनीका प्रनिनिधिले यो प्रश्नको निक्कै सामाना गर्नुपर्यो । जिविसका इञ्जिनियर अरुण भक्तराज लवटले डिजाइन अनुसार काम भए नभएको प्रत्यक्ष हेर्न सरकारको स्थानीय सडक पुल कार्यक्रमअन्र्तगत प्राविधिक खटिने भएकोले तलमाथि नहुने दाबी गरे । ‘नेपाल सरकार र स्वीस सरकारबीच सम्झौता भएअनुसार सुपरभिजनकोलागि छुट्टै प्राविधिक नै खटिएको छ, तलमाथि हुन दिन्नौं’–इञ्जिनियर लवटले भने ।

स्थानीय सडक पुल कार्यक्रमअन्र्तगत सुपरभिजनमा खटिएका प्राविधिक सुर्यनारायण चौधरीले ठेकेदार कम्पनीले लागत स्टिमेट गरेभन्दा ३७ प्रतिशत कममा ठेक्का पारेपनि गुणस्तरको मापदण्डअनुसारका सबै सर्तहरु राखिएको बताए । ‘गुणस्तर कायम गर्नकै लागि म खटिएको छु, के कतिमा पार्यो भन्ने सरोकार हुन्न । सर्तअनुसार काम भयो कि भएन भनेर हेछौं’–उनले भने । गुणस्तर कायम गर्नकै लागि प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा संयोजक रहने गरी सेउती पक्की पुल निर्माण समन्वय एवं अनुगमन समिति गठन भएको छ । समितिले निर्माण कार्य कमसल बन्न नदिन र केही अफ्ठ्यारो आइपरे सहजीकरण गर्ने संयोजक खतिवडाले बताए । उनका अनुसार ठेक्का पाएको कम्पनीले ठेण्डर हाल्दाको कागजात मगाएर उपमहानगरपालिकाको प्राविधिकलाई अध्ययन गराई अनुगमन गरिनेछ । ठेकेदार कम्पनीका जयप्रकाश शाहले निर्माण सामग्री पहिला नै स्टक गरेर राखेको कारण कम मुल्यमा पनि काम गर्न सक्ने भन्दै गुणस्तरमा सम्झौता नहुने दाबी गरे ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे