मृगौला प्रत्यारोपणको भ्रम चिर्न फुटबल

धरान । करिब ४ बर्षअघि दुवै मृगौला काम नलाग्ने भएको थाह पाउदा मुसिकोट नगरपालिका ६, रुकुमका भीमबहादुर खत्री र उनको परिवार छागोबाट खसे झै भए । खत्रीलाई त्यसबेला आफु बाँचेर पहिला झै सहज जीवन होला भन्ने एक मनमा पनि थिएन ।
खर्च जुटाएर ०६९ असार तेस्रो साता राजधानीको वीर हस्पिटलमा उनको मृगौला प्रत्यारोपण सफल भयो । समाजमा मृगौला प्रत्योपरण गरिएको व्यक्ति अरु सामान्य मानिस जस्तै बाँच्न सक्दैन भन्ने धारणा व्यप्त छ । त्यसविपरीत उनी विगत झै सामान्य जीवनमा फर्किएका छन् । उनी पुर्ण स्वस्थ्य छन् । अरुले गर्ने सबै काम गर्छन्, गाह्रो केही हुन्न । उनी जस्तै थुप्रै मृगौला प्रत्यारोपण गरिएका व्यक्तिहरु बुधबार धरानमा फुटबल खेलेर त्यही सन्देश बाँडे । ‘अहिले म एकदमै स्वस्थ्य छुँ, पहिला जस्तै सबै काम गर्छु’–उनले नागरिकसँग भने–‘दिनमा ५, ७ लिटर पानी पिउनुपर्छ, खानपिनमा केयर गरेपछि केही हुन्न ।’ उनलाई आफ्नै बुबाले एउटा मृगौला दिएका थिए । आफु नियमित औषधी सेवन गर्नुपरे पनि बुबाले भने औषधी सेवन गर्नु नपर्ने उनले बताए ।
मृगौला प्रत्यारोपण गरिएका व्यक्तिप्रतिको भ्रम चिर्न बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मैदानमा समाजका विभिन्न क्षेत्रका व्यक्तिको एउटा टिम र प्रत्यारोपण गरिएकाहरुको एक टिमबीच मैत्रीपुर्ण स्पर्धा भएको थियो । सातौं नेपाल प्रत्यारोपण खेलकुद २०७३ अन्र्तगत भएको एक घण्टाको खेलमा मृगौला प्रत्यारोपण भएका व्यक्तिहरुले आफु स्वस्थ्य रहेको सन्देश दिदै ५–२ गोलले विजेतासमेत बने । समाजसेवीहरुको टिममा राष्ट्रिय फुटबल टिमका प्रशिक्षक राजुुकाजी शाक्य, पुर्व मुख्य सचिव लिलामणी पौडेल, बीपी प्रतिष्ठानका उपकुलपति बीपी दास, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, संसद सचिवालयका सचिव सोमबहादुर श्रेष्ठलगायत प्रतिष्ठित व्यक्तिहरु पनि मैदानमा उत्रिएका थिए । यस्तो खेलकुद यसअघि काठमाण्डौं, चितवन, पोखरामा मात्रै भएको थियो ।
‘मृगौला फेल भएपछि मान्छे जीवन मरणको दोसाधमा पुगेको हुन्छ, उपचार गर्दा गर्दा सम्पत्ति स्वाहा पारिसकेको हुन्छ । त्यस्तो व्यक्ति पनि मृगौला प्रत्यारोपण गरेपछि स्वस्थ्य भएर समान्य मानिस झै प्रतिस्पर्धात्मक जीवन जीउन सक्षम हुन्छन्’–मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले भने–‘उनीहरु सक्षम हुन्छन्, व्यापार व्यावसाय, रोजगारी र खेलकुदमा पनि सामान्य जीवन जिउन सक्छन्, समाजमा कुनै पनि रुपमा पछि पदैन । त्यही सन्देश छर्न यो खेलकुद कार्यक्रम भएको हो ।’ उनका अनुसार नेपालमा हजार व्यक्तिको मृगौला प्रत्यारोपण गरिएको अनुमान छ । ती मध्ये साढे ५ सयको प्रत्यारोपण नेपालमै भएको हो । प्रत्यारोपण गरिएका अधिकांशको जीवन उच्चस्तरको स्वस्थ्य रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
चिकित्सकहरुका अनुसार अंग प्रत्यारोपण गरिएका व्यक्तिले मासिकरुपमा करिब १५ हजार जतिको नियमित औषधी सेवन गर्नुपर्छ । औषधी सेवन गरिरहनुपर्दा संक्रमण हुने खतरा हुन्छ । त्यसबाट जोगिन समान्य मानिसले झै स्वास्थ्य रहन खानपिनमा गर्नुपर्ने सावधानी मात्रै गरिदिए पुग्छ । अंग लिने व्यक्ति भन्दा अंग दान गर्ने व्यक्ति बढी स्वास्थ्य र लामो आयु बचेको एक अध्ययनले देखाएको छ । ‘यो कुरा सुन्दा अनौठो लाग्नसक्छ, तर संसारको अध्ययनमा यही देखियो । अंग दान गर्नेको स्वास्थ्य नियमित जाँच गरिरहनुपर्छ र स्वास्थ्यमा तलमाथि केही हुन पाउदैन । त्यसैले अंगदाता सतप्रतिशत सफल हुन्छन्’–डाक्टर श्रेष्ठले भने–‘मृगौला फेल भएको थाह हुनेबित्तिकै परिवारको एक जनाले अंग दान गरेर पुरै परिवारलाई स्वास्थ्य रहन सहयोग गर्नुस्, किनभने जति ढिलाई भयो, त्यति नै अस्पताल धाईरहनुपर्छ र सम्पत्ति स्वाहा हुन्छ । परिवार नै पीडित बन्छन् ।’ भर्खर बनेको अंग प्रत्यारोपण ऐनले अंग दाताको सम्बन्धलाई फराकिलो बनाएको डाक्टर श्रेष्ठले बताए । उनका अनुसार क्रस म्याच फेल भएको दुई परिवारबीचमा मिलेको अवस्थामा अंग साटासाट गर्ने पनि व्यावस्था छ ।
कार्यक्रमका संयोजक एवं बीपी प्रतिष्ठानका मृगौला, मुटु रोग बिशेषज्ञ डा.सञ्जीव शर्माले मृगौला फेल भएका व्यक्तिलाई प्रत्यारोपण गर्नु नै उत्तप विकल्प भएपनि रोग लाग्नै नदिनु सबैभन्दा बुद्धिमानी हुने बताए । ‘प्रत्यारोपण गरेपछि मासिक १० देखि २० हजार बराबर औषधी खानुपर्ने हुदा जोकोहीलाई गाह्रो हुनसक्छ, त्यसैले रोग लाग्नै नदिनु सबैभन्दा राम्रो हो’–डाक्टर शर्माले भने–‘त्यसको लागि केही गर्नुपदैन, नियमितरुपमा सुगर, प्रेसर, पिसाबलगायत जाँच गराए हुन्छ ।’







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे