कांग्रेस युवा नेताको घर खानतलासी गरेकोमा आपत्ति

धरान । नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर १ का सदस्य तथा तरुण दलको जिल्ला उपसभापति प्रविन राईको धरान १८ स्थित घरमा सोमबार मध्यराती प्रहरीले छापा मारेको शैलीमा खानतलासी गरेर अनाहकमा दुःख दिएको भन्दै कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेस क्षेत्रीय र धरान उपमहानगर कमिटिले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै मध्यरातमा युवा नेता राईको घरपरिवार, छारछिमेकमा आतंक मच्याएको र प्रतिष्ठामा आँच पुर्याएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी ढकेन्द्र खतिवडालाई विभागीय कारबाही गर्न माग गरेको छ । ठोस प्रमाण र कानुनी प्रक्रिया विना युवा नेताको घरमा छापामार शैलीमा खानतलासी गरेर चरित्रमा दाग लगाएकोले डिएसपी खतिवडाविरुद्ध कानुनी उपचारको बाटोमा जाने र छानबिन नगरे चरणबद्ध आन्दोलनमा जाने कांग्रेसले चेतावनी दिएको छ । ‘हाम्रो युवा नेता राईको घरमा विना अनुमति र विना कारण गैरकानुनीरुपमा एउटा आतंकवादी, कुख्यात फरार अपराधीको घरमा छापा मारेको शैलीमा गाडी र पुरै घर खानतलासी गरेपनि केही फेला परेन, यो घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो गैरकानुनी कार्यको ठाडो निर्देशन दिने प्रमुख डिएसपीलाई छानबिन गरेर कारबाही नगरे चरणवद्ध आन्दोलनमा उत्रन्छौं’–क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले भने ।
डिएसपी खतिवडाले भने कसैलाई दुःख दिने नियतले नभई निलो गाडीमा हतियार छ भन्ने सुराक आएकोले गाडीमा मात्रै खान तलासी लिएको बताए । घरमा खानतलासी गरेको भन्ने आरोप झुटो भएको उनले दाबी गरे । ‘निलो गाडीमा हतियार छ भन्ने सुराक आएकोले तलासी गरेका हौं, हामीले निलो गाडी ४ वटामा तलासी लिएका छौं, त्यसमध्ये उहाँकोमा पनि भएको हो’–डिएसपी खतिवडाले भने–‘कसैलाई दुःख दिने नियतले भएको होइन । घरभित्र तलासी लिएका पनि छैनौं ।’
उता, राईले भने अनसार राती करिब ११ बजेको समयमा प्रहरी निरीक्षक प्रकाश श्रीमलको नेतृत्वमा प्रहरीको एक टोली उनको घरमा आएको थियो । प्रहरीले चाबी मागेर निलो गाडीमा पटक पटक खानतलासी गरेको थियो । त्यहाँ केही फेला नपरेपछि जर्बजस्ती घरमा प्रवेश गरेर परिवारलाई आतंकित तुल्याउने गरि खानतलासी पनि गरेको राईको भनाई छ । ‘मैले किन यसरी छापा मार्नुभएको भनेर सोध्दा निलो गाडीमा लागुऔषध बोकेको सुचना आएको छ भन्यो । बिहान सोध्दा हतियार राख्ने गरेको सुचना आएको भन्यो’–उनले भने–‘ठोस प्रमाण विना मध्यरातमा कसैको घरमा आतंकित बनाउने गरि, प्रतिष्ठामा आँच पुग्ने गरि छापा मार्न पाइन्छ ?’ पत्रकार सम्मेलनमा उपस्थित कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङले धरान प्रहरी पुर्वग्राहीढंगले पार्टीका जिम्मेवार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य युवा नेताहरुकोविरुद्ध अभिव्यक्ति दिर्दै फसाउने षडयन्त्र गरिरहेको आरोप लगाए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे