पुर्नजीवन पाउदै चन्द्रपुर (पुरानो) बजार

धरान । आधुनिक धरान शहर स्थापनाको जग मानिए पनि सरकारी वेवास्था र स्थानीयको निष्क्रियताले लामो समय अव्यवस्थित रहेको चन्द्रपुर बजार (पुरानो बजार)ले पुर्नजीवन पाउदैछ । धरान उपमहानरपालिका र स्थानीयबासीको पहल तथा लगानीमा व्यवस्थित ड्रेन, फुटपाथसहित तीब्र गतिमा पक्की सडक निर्माण भइरहेको छ । धरान ४ स्थित लक्ष्मी चोकदेखि धरान १ स्थित सिंहदेवी चोकसम्म विभिन्न चरण र प्याकेजमा सडक विस्तार गरेर ड्रेन, फुटपाथ र सडक निर्माण हुदैछ ।
यो सडकको लम्बाई १३ सय मिटर हो । स्थानीयले ५० फिट सडक बनाउन मापदण्ड वमोजिम दुवैतर्फको घर तथा भौतिक संरचनासमेत भत्काएर सहयोग गरेका छन् । स्थानीयबासी एवं व्यापारीहरुले व्यवस्थित सडक निर्माणसँगै पुरानो बजारमा पुनः बजार विस्तार हुने र व्यापारीक चहलपहल बढ्ने अपेक्षा गरेका छन् । यो सडकलाई उपमहानरपालिकाले प्राथमिकताका साथ रणनीतिक योजनामा समेटेको थियो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्सेरले वि.स.१९५८ मा चन्द्रपुर बजार(हाल पुरानो बजार) बसालेर धरान शहरको जग हालेका थिए । कुनै समय व्यापारिक केन्द्रकोरुपमा गुल्जार पुरानो बजार कोशीराजमार्ग सञ्चालनमा आएपछि भने उजाड र सडक जीर्ण भएको थियो । लामो प्रयास हुदा पनि यो सडक र बजारको स्वरुप फेर्न सम्भव भएको थिएन ।  
हाल निर्माणाधिन धरान ४ स्थित लक्ष्मी चोकदेखि धरान १ स्थित सिंहदेवी चोकसम्मको योजना कुल ४ करोड ८० लाख रुपैयाको हो । त्यसमध्ये १५ प्रतिशत जनसहभागीता हो । पाँच वटा प्याकेजमा निर्माण सम्पन्न हुने योजनामा उपमहानगरपालिकाले ३ वटा प्याकेज स्थानीय विकास मन्त्रालयको जगेडा कोष र २ वटा प्याकेज नगर विकास कोषबाट बजेट व्यावस्था गरेको हो । आर्थिक बर्ष ०७१÷०७२ देखि लक्ष्मी चोकबाट महालक्ष्मी मार्गसम्म निर्माण कार्य थालेर यो सडकलाई पुर्नजीवन दिन शुरु भएको थियो । दुई चरणमा ६०÷६० लाख बजेटमा यो व्यवस्थित ढल, फुटपाथसहित यो सडकखण्ड निर्माण सकिएको थियो । हाल महालक्ष्मी मार्गदेखि गोपाल मार्गसम्म ६० लाख रुपैया लागतमा निर्माण कार्य भइरहेको छ भने सिहंदेवी चोक उत्तर पृथ्वीपथसम्म ३ सय मिटर ६० लाख रुपैयामा नै निर्माण कार्य जारी छ । अगामी आर्थिक बर्षसम्म सिंहदेव चोकसम्म ५० फिट पक्की सडक तयार भइसक्ने उपमहानगरपालिकाले जनाएको छ ।
‘यो क्षेत्र धरान स्थापनाकालको बजार हो, कालान्तरमा क्षीण हुदै गएर स्वरुप नै बिग्रेको थियो, अहिले पुर्नजीवन दिदैछौं’–उपमहानगरपालिकाका योजना शाखा प्रमुख तथा इञ्जिनियर सुरज श्रेष्ठले भने–‘यो बजार र सडकको महत्व छुट्टै छ, कोशी राजमार्गको विकल्पकोरुपमा पनि हेरिएकोले यो सडकलाई विकास गर्न आवश्यक ठान्यौं ।’ उनका अनुसार सिंहदेवी चोकदेखि दक्षिण माछा भौडीसम्म र त्यहाँदेखि भानुचौकसम्मको देशीलाइन सडक खण्ड पनि ५० फिटको विस्तार हुनेछ । ती क्षेत्रका स्थानीय उपभोक्तासँग सकरात्मक छलफल भइरहेको र स्थानीय पनि सडक विस्तार गर्न उत्सुक रहेको उनले बताए । कोशी राजमार्गले सवारी साधनको चाप थेग्न नसक्ने अवस्था सृर्जना हुदै गएकोले विकल्पमा भानुचौकदेखि देशीलाइन हुदै लक्ष्मी चोकसम्म वान वे बनाउन उपमहानगरपालिकाको सोच छ । यो बीचमा सहायक ८ वटा लिंक रोड पनि भएकोले समस्या नहुने इञ्जिनियर श्रेष्ठको भनाई छ ।
स्थानीय एवं सिंहदेवी चोकदेखि पृथ्वीपथसम्मको सडक खण्डका अनुगमन समिति सदस्य युगलकुमार श्रेष्ठले खुशी व्यक्त गर्दै पुरानो बजार क्षेत्रमा पनि बैंक, आधुनिक मार्केट आउने आशा व्यक्त गरे । ‘हामी त धेरै खुशी र आशावादी छौं, त्यसैले घर भत्काएर बाटो छोडिदियांै, पैसा पनि लगानी गर्यौं’–उनले भने–‘अब यो क्षेत्र पनि चम्कन्छ भन्ने आशा छ ।’ सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठले पनि धरान स्थापना भएको क्षेत्र पुनः व्यापारिक केन्द्र बन्ने सम्भावना भएको बताए । ‘धरान बजार यही पुरानो बजारमा बसेको थियो, नयाँ बजार त पछि सडक बनेपछि मात्रै बसेको हो । मुख्य बजार त यतै थियो ।’–अध्यक्ष श्रेष्ठले भने–‘ऐतिहासिक क्षेत्र पुनः व्यापारिक केन्द्र बन्छ  ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे