लिम्बुवान आन्दोलन तय गर्न राजनैतिक सम्मेलन हुने


धरान । दोस्रो संविधानसभाबाट जारी भएको नयाँ संविधानले आफ्नो माग सम्बोधन नगरेकोमा असन्तुष्ट लिम्बुवानजन्य संघसंगठनहरुबीच लिम्बुवान आन्दोलनको भावी रणनीति एवं योजना तयार गर्न धरानमा दुई दिने वृहत लिम्बुवान राष्ट्रिय राजनैतिक सम्मेलन हुने भएको छ ।
लिम्बु जातीको साझा संस्था किरात याक्थुङ चुम्लुङको समन्वय एवं आयोजनामा बैशाख १३ र १४ गते वृहत राजनैतिक सम्मेलन हुन लागेको हो । यो सम्मेलनले पारित गरेको साझा न्युनतम कार्यक्रम नै लिम्बुवान आन्दोलनको कार्यक्रम हुने चुम्लुङले जनाएको छ । छैटौं महाधिवेशनबाट लिम्बुवान स्वायत्तताको मागलाई अघि सारेको चुम्लुङले लिम्बुवान आन्दोलनलाई एकीकृत गर्न लिम्बुवानजन्य संघसंगठनहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्दै आइरहेको छ । ‘यही संविधानमा हाम्रो माग समेटियुन् भनेर धेरै प्रयास गर्यौं, तर सम्भव भएन । हाम्रो लक्ष्य प्राप्तीको लागि संघीयता र पहिचानवादी शक्तिहरुबीच छलफल गरी साझा मुद्दा तय गरेर मोर्चावन्दी गर्न यो सम्मेलन आयोजना गर्दैछौं’–चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिं थाङदेनले भने ।
उनका अनुसार दुई दिने राजनैतिक सम्मेलनमा अरुण पुर्व लिम्बुवान क्षेत्रमा बसोबास गरिरहेका थातथलो खुलेका जातीय संघसंस्थाहरु सहभागी हुनेछन् भने लिम्बुवानजन्य राजनैतिक दल तथा संगठनहरुको पनि सहभागीता हुनेछ । यस्तै, विभिन्न राजनैतिक पार्टीका लिम्बुवानजन्य भातृसंगठनहरुलाई पनि सम्मेलनमा निमन्त्रणा गरिएको चुम्लुङले जनाएको छ । ‘पहिचान र संघीयता पक्षधर संगठनहरु, लिम्बुवान क्षेत्रमा थातथलो खुलेका जातीय संघसंस्थाबीच छलफल हुन्छ । तीय संस्था र दलको धारणा बुझ्छांै र लिम्बुवान आन्दोलनको रणनीति, कार्यनीति बनाएर अघि बढ्छौं’–अध्यक्ष थाङदेनले भने–‘लिम्बुवान स्वायत्तता प्राप्तीको आन्दोलनलाई यो सम्मेलनले थप उर्जा दिनेछ, सबै शक्तिलाई समेटेर अघि बढ्छौ, मोर्चावन्दी गछौं ।’
चुम्लङलगायत विभिन्न लिम्बुवानजन्य संगठनहरुले अरुण कोशी पुर्वका ९ जिल्लालाई ऐतिहासिकताको आधारमा लिम्बुवान स्वायत्त राज्यको माग गर्दै आएको छ । तर, नयाँ संविधानले पुर्वका १४ जिल्ला समेटेर प्रदेश नम्बर १ बनाएकोमा उनीहरु सन्तुष्ट छैनन् । पहिलो संविधानसभाको बेला खाका कोरिएको १० वा १४ संघीय प्रदेशको आधारलाई टेकेर संघीयता हुनुपर्ने उनीहरुको भनार्ई छ ।
यसैबीच, धरान १५ स्थित चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङको केन्द्रीय बैठक शुक्रबार सम्पन्न भइसकेको भने शनिबार र आइतबार परिषद बैठक बसिरहेको छ । केन्द्रीय बैठकले परिषद बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको थियो । मुल प्राथमिकता लिम्बुवान स्वयत्त प्राप्तिको आन्दोलन नै भएपनि परिषद बैठकमा छलफल पछि मात्र एजेण्डाहरुलाई सार्वजनिक गरिने चुम्लुङले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे