एमाले धरानको अधिवेशन शुरु, देश र जनताको भलाई सोच्न प्रधामन्त्रीको आग्रह(फोटोफिचर)

धरान । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत राजनैतिक दलहरुलाई देश र जनताको भलो सोच्न आग्रह गर्दै पुनः वार्तामा आउन आह्वान गरेका छन् । एमाले धरान उपमहानगर बिशेष इलाका संगठन कमिटि शुक्रबार ७ औं नगर अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफुले भनेको मात्रै हुनुपर्छ भन्ने मानसिकता त्याग्न आग्रहसमेत गरे । चित्त नबुझेका बिषयहरुलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकार तयार रहेको उनको भनाई थियो ।
‘सरकार वार्ता, कुराकानीको लागि तयार छ, भोली शनिबार बिहान सर्वदलीय वैठक डाकेको छु, आउनुस् । चित्त नबुझेको बिषयमा छलफल गरौं’–प्रधानमन्त्री ओलीले भने–‘देशको भलाई जे सुकै होस्, मैले भनेको हुनुपर्छ भन्ने मानसिकता ठिक होइन । अरु दल, साथीभाई र जनताको कुरा सुनौ । दशको भलाई के मा छ, त्यो गरांै ।’ संविधानप्रति असन्तुष्टी जनाउदै आएको गठबन्धनले पुनः आन्दोलन शुरु गरेको बेला वार्तालाई जोडदिदै प्रधानमन्त्री ओलीले संविधान अपरिवर्तनिय नभएकोले क्रमशः संशोधन एवं सुधार गर्दै जान सकिने बताए । लामो समयदेखिको जनताको सपना साकार बनाउने क्रममा संविधान जारी भएको र अब कार्यान्वयन मुख्य अभिभारा रहेको ओलीले बताए । ‘अब अल्मलिनु हुदैन, संविधान अपरिवर्तनीय होइन, संशोधन गरेर देखाई सकेका छौं । त्यसैले सबै मित्र, पक्ष र पार्टीहरुलाई आग्रह गर्छु, संविधान कार्यान्वयन मुख्य अभिभारा हो’–उनले भने–‘यो सरकारको ध्यान जनता र देशको विकासमा मात्रै छ, अरुतिर छैन ।’
भुकम्प र नाकाबन्दीले असाधारण क्षति पुर्याएको मुलुकमा अब सबै मिलेर पुर्ननिर्माणमा जुट्न पनि प्रधानमन्त्रीले आग्रह गरे । भुकम्प पीडितहरुलाई सरकारले बर्खा अघि नै सामुहिक आवास बनाएर भएपनि यो बर्ष झरीमा बिजोग हुन नदिने उनले बताए । पुर्ननिर्माण ढिलाई भएकोमा आलोचना गर्नेप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले स्वास्थानी ब्रतकथामा जस्तो एकैछिनमा घर निर्माण नहुने भन्दै क्षतिग्रस्त ८ लाख घर बनाउन शुरुवात भइसकेको बताए । ‘हामीले ८ लाख घर बनाउने हो, कागजमा इञ्जिनियरले कोर्दा पनि कति समय लाग्ला ? स्वास्थानीको ब्रतकथामा जस्तो महादेवले पर्दा च्यात्दा सतिदेवीले दरबर देखेजस्तो त हुदैन’–प्रधानमन्त्री ओलीले भने–‘क्षतिग्रस्त ठाउँमा इञ्जिनियरहरु खटाइसकेका छौं, विपन्न, वृद्धवृद्धा, अपांग, बालबच्चा र सुत्केरीलाई प्राथमिकता दिएर निर्माण गर्नुभनेको छुँ । जेठभित्र ठुलो ट्रष्ट हालेर सामुहिक घर पनि बनाउछौं र झरीमा बस्नु नपर्ने वातावरण मिलाउछौं ।’
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले तालिम दिएर कार्यकर्तालाई पुर्ननिर्माण अभियानमा स्वयमसेवककोरुपमा परिचालन गर्न लागेको खुलाउदै अन्य पार्टीहरुलाई पनि आग्रह गरेको बताए । महन्थ ठाकुरलाई समेत आन्दोलन मात्रै नगरेर कार्यकर्तालाई पुर्ननिर्माणमा पठाउन भनेको उल्लेख गर्दै उनले यसले जनस्तरमा पनि सम्बन्ध सुदृढ हुने अपेक्षा जताए ।
उद्घाटन समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका ७ व्यक्तिहरुलाई सम्मान गरिएको थियो । फुटबल प्रशिक्षक राजुकाजी शाक्य, रंगमञ्च एवं अभिनय क्षेत्रबाट प्रेम सुब्बा, गायन क्षेत्रबाट सुरेशमान गन्धर्व, फरक क्षमताकी साहित्यकार लक्ष्मी राई सरगम, साहित्य सेवा गरेवापत पुर्णबहादुर गुरुङ, शिक्षा सेवी टेकबहादुर राई र पार्टीमा योगदान पुर्याएकी राधा गुरुङलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रधानमन्त्री ओलीले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।


                         ‘नीति,कार्यक्रम तथा बजेटले तर्सिए’

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले ल्याउन लागेको नीति, कार्यक्रम तथा बजेटबाट केही मान्छे तर्सिएको बताए । यो नीति, कार्यक्रम देशको विकास गर्न मात्रै ल्याउने भन्दै उनले कसैको पनि नाम उल्लेख नगरी नआत्तिन आग्रह गरे । ‘०५१ सालमा गृहमन्त्री हुदा त्यस्तो बजेट आयो, अहिले त प्रधानमन्त्री छ । यो सरकारले नीति, कार्यक्रम, बजेट ल्यायो भने उद्युमै गर्छ भन्दै केही मान्छे आत्तिएको छ’–मनमोहन अधिकारी प्रधानमन्त्री हुदाको बजेटलाई स्मरण गर्दै ओलीले भने–‘तर, कोही आत्तिनु पर्ने छैन, देशको विकास गर्न बजेट ल्याउने हो ।’ देशको चित्र र आवश्यकतालाई आफुले बुझेको जिकिर गर्दै ओलीले आफ्नो सरकारको ध्यान अरुतिर नभई जनता र देशको विकासमा मात्रै केन्द्रीत रहेको बताए ।

                                    नेतृत्व चयन शनिबार


प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको नगर अधिवेशनको बन्दसत्र र नेतृत्व चयन शनिबार मात्रै हुनेछ । धरान १५ स्थित सदन सभाहलमा हुने बन्दसत्रले ६१ सदस्यीय नयाँ नेतृत्व चयन पनि हुनेछ । अधिवेशनको लागि खुलातर्फ ३ बराबार एक जना र महिला तथा दलितमा २ जना बराबर एक जना गरी ३ सय ७४ प्रतिनिधि चयन भएका छन् भने थप १९ जना मनोनयन भएका छन् । ती प्रतिनिधिमध्ये १ सय ६२ महिला र ३७ दलित छन् ।
अधिवेशनको पुर्वसन्ध्यामा दुई पटक नेतृत्व हाँकिसकेका सुब्बाले अध्यक्ष पदमा खुलेर आकाक्षी देखिएका छन् । पदाधिकारीहरु दोहोराउने भनिएपनि सर्वसम्मत हुने सम्भावना भने न्युन छ । मदन भण्डारी फाउण्डेशनका जिल्ला सचिव किसोरकुमार कार्कीले पनि अध्यक्षमा उम्मेद्वारी दिने चर्चा छ । यस्तै, सचिव वा उपसचिव पदमा सचिवालय सदस्य हर्कजंग एभेङ उम्मेदवारी दिने तयारीमा छन् । हाल उपाध्यक्षमा नारायण सुवेदी, सचिवमा राजमणी निरौला र उपसचिवमा धनप्रसाद राई छन् ।
अधिवेशन आयोजक कमिटि ८४ जनाको छ । तर, अधिवेशनबाट ६१ जनाको मात्रै कमिटि चयन हुने भएकोले नेतृत्वलाई सहमति जुटाउन कठिन हुनेछ । धरानमा ओली पक्ष कमजोर मानिन्छ । तर, यसपटक भने ओली पक्षले अध्यक्ष, सचिवलगायत पद र सदस्यहरुमा पनि उम्मेद्वारी उठाउने आन्तरिक तयारीमा छन् । सदस्यमा युवाहरु बढी आकांक्षी देखिएका छन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे