भेटाएको १२ लाख दुई युवतीले फिर्ता गरे

धरान । कोशी राजमार्गअन्र्तगत धरान इटहरी सडक खण्डमा बिहिबार राती सडक दुर्घटनामा धरान १७ का ओमबहादुर गेलालको मृत्यु भएको थियो । आइएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा १२ लाख रुपैया थियो । घटना पश्चात पैसासहित गेलालको ब्याग हराएको थियो ।
छोराको मृत्युले अभिभावक र परिवारजन शोकविह्वल थियो । साथमा रहेको नगद र कागजात नभेटिदा पीडा झनै थपिएको थियो । परिवारजनले हराएको पैसा भेटिने आशा करिब करिब मरिसकेको थिए । तर, शुक्रबार चतरामा दाहसँस्कर गरेर फर्कदा गेलाल परिवारलाई चकित तुल्याउने खबर आयो । धरान १५ की ज्योति राई र मोरङ उर्लाबारी–८ की सुनिता राईले पैसासहितको ब्याग भेटेका रहेछन् । उनीहरु ब्यागका धनी वा तिनका परिवारको खोजीमा रहेछ । यो खबरले दुःखको सागरमा डुबेको परिवारलाई केही भएपनि राहत मिल्यो ।
शनिबार तिनै ज्योति र सुनिताले मृतक गेलालका बुबा दल बहादुर गेलाललाई १२ लाख रुपैया फिर्ता गरिदिए । धरान १० स्थित सैनिक भवनमा १२ लाख हातमा लिदै गर्दा दलबहादुर निक्कै भावुक बने । छोराको वियोगले शोकमा डुबेका उनले माया मारिसकेको पैसा पाउदा बोल्नै सकेनन् । पैसा फिर्ता दिने ज्योति र सुनितालाई उनले मायाको चिनो प्रदान गरे । गला अवरुद्ध बनेका दलबहादुर कान्छा छोरा रामको साथमा बाहिरिए । ‘यो समयमा पनि निःस्वार्थी मान्छे भेटिदो रहेछ, हामीले त पैसा भेटिने आशा मारिसकेका थियौं’–रामले भने–‘पैसा भन्दा महत्वपुर्ण त दाई नै हुनुहुन्थ्यो । तर पनि पैसा फिर्ता पाउदा बुबा केही बोल्नै सक्नुभएन ।’ उनका अनुसार बुबाले रिंगटा लाग्यो भनेपछि हलबाट बाहिर निकाल्नु परेको थियो ।
बिहिबार साँझ करिब ७ बजेतिर विश्वकर्मा मन्दिर मुनि जंगल क्षेत्रमा गेलाल चढेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको टेम्पो ठक्कर खाएको थियो । गेलाल चेढेको मोटरसाइकल विनोद दियालीले चलाएका थिए । उनको खुट्टा भचिएको छ भने एउटा हातको कुम पनि खुस्किएर उपचार भइरहेको छ । इटहरीबाट स्कुटीमा धरान फर्किरहेको सुनिता र ज्योतिले पैसासहितको गेलालको कालो ब्याग भेटाएका थिए । धरान १५ का बाँझगरा वन समुहका पुर्वअध्यक्ष टिका पाख्रिनलाई पैसाबारे सुनाए । पाख्रिनले धरान १७ स्थित उदय वन समुहको अध्यक्ष मिन सुनुवारलाई सम्पर्क गरि अन्ततः मृतक गेलालको परिवारजनलाई पैसा फिर्ता गराउने चाजोपाजो मिलाइदिएका हुन् ।
‘पैसा भएको ब्याग भेटेपछि डर लागिरहेको थियो, त्यत्रो पैसा देखेको पनि थिएनौं । त्यसैले कति छ भनेर चेक पनि गरेनौं । हामीलाई ब्यागभित्र पैसा छ भन्ने मात्रै थाह थियो’–सुनिताले भनिन्–‘जस्को हो, उहाँकै परिवारलाई जिम्मा दिन पायांै, मन हल्का भएको छ ।’ उनीहरुले एक करोड ३२ लाख रुपैया उल्लेख भएको पासबुकसमेत बुझाएका छन् । पैसा र ब्याग भेटेपछि उनीहरुले प्रहरीमा बुझाउन खोजेका थिए । तर, आफन्तले सिधै परिवारलाई भेटेर नै बुझाउन सल्लाह भएपछि उनीहरु मृतक गेलालको परिवार खोज्न थालेको उनले बताइन् । सुनिताका अनुसार पैसा भेटेको राती डरले सुत्न पनि सकेनन् । दुर्घटना भएकै राती टिका पाख्रिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पनि पुगे । तर, गेलालको मृत्यु भइसकेकोले सहज भएन । शुक्रबार बिहान पनि पाख्रिन बीपी प्रतिष्ठान गएका थिए । तर जिम्मेवार मान्छे फेला परेन । उनैले प्रहरी, अफन्त सबैतिर बुझेपछि मात्रै ज्योति र सुनिताले पैसा जिम्मा लगाएका हुन् ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे