सिंहदेवी चोकमा धर्मस्थली द्धार बनिने


धरान । ऐतिहासिक विजयपुर गढीमा अवस्थित धार्मिक मठमन्दिरहरुमा पुग्ने पैदल मार्गको प्रवेशस्थलमा धर्मस्थली द्धार निर्माण हुने भएको छ । विश्व हिन्दु परिषदले धरान १ स्थित सिंहदेवी चोकमा निर्माण गर्न लागेको उक्त द्धारको बुधबार एक समारोहबीच सञ्चार उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्वउपाध्यक्ष भाष्करराज राजकर्णिकारले शिलान्यास गरे ।
यो द्धार एक बर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको परिषदले जनाएको छ । द्धारको डिजाइन तयार भइसकेको छ भने करिब २० लाख रुपैया खर्च हुने प्रारम्भिक अनुमान गरिएको निर्माण समितिका संयोजक अनिल अग्रवालले जानकारी दिए । ‘विजयपुर गढी महत्वपुर्ण धार्मिक क्षेत्र हो, धरानलाई धार्मिक साँस्कृतिक पर्यटकीय शहर बनाउन पनि यो द्धार बनाउन लागेका हौं’–निर्माण समितिका संयोजक अग्रवालले भने । उनका अनुसार द्धारमा विभिन्न जातजातिको सँस्कृतिलाई कुँदेर धर्मस्थली द्धारलाई सँस्कृतिक सहिष्णुताको नमुना बनाइनेछ । विजयपुरका प्रमुख ४ मन्दिरलाई पनि द्धारमा उतारिनेछ ।
विजयपुर गढीमा पौराणिक महत्व बोकेको दन्तकाली, पिण्डेश्वर महादेव, बुढासुब्बा, पञ्चकन्यालगायत महत्वपुर्ण धार्मिक मठमन्दिरहरु छन् । यी मन्दिरको दर्शन गर्न दैनिक सयौं तीर्थालु भक्तजनहरु धरान आउछन् । पहिला स्थानीय एवं बाह्य भक्तजनहरु यही सिंहदेवी चोक हुदै पैदल मार्गबाट मन्दिरहरुको दर्शन गर्न जान्थे । सवारी साधान चल्ने सडक सञ्चालन आएपछि भने यो मार्ग ओझेलमा परेको थियो । करिब २ बर्षअघि विजयपुर आध्यात्मिक मञ्चले सिंहदेवी चोकदेखि दन्तकाली मन्दिरसम्म पक्की सिढी बनाएपछि भने यो मार्गले पुर्नजीवन पाएको छ ।
हालको डिजाइनअनुसार २ तले द्धार बन्नेछ । यसको चौडाई करिब २२ फिट उचाई र २० फुट चौडाई छ । तर, साविकको बाटोमा यो डिजाइन अटाउन नसक्ने भएपछि नयाँ डिजाइन बनाउनु पर्ने धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठले बताए । उनका अनुसार सिंहदेवीका स्थानीयसँग छलफल गरेर के कति जग्गा मिल्छ, त्यही अनुसार पुनः द्धारको डिजाइन हुनेछ । शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजकर्णिकारले सामाजिक, राजनीतिक व्यवस्थालाई सुदृढ बनाउनु अहिलेको आवश्यकता रहेको धारणा राखे । दुई, चार जना महिलाहरु नेतृत्व तहमा पुग्दैमा महिला सशक्तिकरण नहुने भन्दै उनले महिलाहरुलाई उद्यमशीलतातर्फ अघि बढ्न आग्रहसमेत गरेका थिए । आफुले शिलान्यास गरेको धर्मस्थली द्धार एक बर्षभित्र पुरा नगरे व्यक्तिगतरुपमा निर्माण गर्ने जिम्मा आफ्नो भएको पनि उनले प्रतिवद्धता जनाए ।
यसैगरि, विश्व हिन्दु परिषदले प्रसिद्ध पिण्डेश्वर महादेवको मन्दिर परिसरमा महारुद्र त्रिशुल पनि बनाउने भएको छ । पुरात्तत्व विभागबाट स्वीकृती लिएर विशाल त्रिशुल बनाउन लागेको परिषदका अध्यक्ष देवराज अधिकारीले जानकारी दिए । उनका अनुसार ५० फिट उचाई भएको र ६० फिट गहिराई भएको त्रिशुल ठडिने छ । अष्ट धातुबाट निर्माण हुने त्रिशुलको लागि तावा, पित्तल, चादी, सुन, फलामजस्ता अष्ट धातु संकलन गर्ने क्रम शुरु भइसकेको अधिकारीले जानकारी दिए ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे