रमिते डाँडामा रमिता(फोटोफिचर)

कच्ची बाटो छिचोल्दै गर्दा अगाडि भेटियो, स्वागत गेट । गेटको दुवैतिर गाग्रीमा फुल । स्थानीयबासी हातमा खादा, फुल र अबिर बोकेर स्वागत गर्न तम्तयार । गाडीबाट नझर्दै देखिएको यो दृष्यले मन रमायो । चैत १२ गते बिहान सर्दु पारी धरान २४ स्थित रमिते(चिण्डे) डाँडा पुग्दा स्थानीयबाट यति मिठो स्वागत पाइएला भन्ने सोचेका थिएनांै । चौथो माउण्टेन स्पोर्टस फेस्टिवलअन्र्तग धरानमा दुई दिने प्रथम प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप हुदैथियो । त्यसैको उद्घाटनमा सहभागी हुन बराह ज्वेलर्स इण्ड्रष्ट्रिज प्रालिको टिमसँगै पत्रकारहरु रमिते डाँडा पुगेका थियौं । स्थानीयको न्यायो स्वागतपछि प्याराग्लाइडिङको टेकअफ्(उडान)स्थलतिर लम्कियौं । हामीभन्दा अघि नै पुगेका पाइलटहरु र अतिथिको टोलीलाई त डम्फु बजाउदै तामाङ भेषभुषामा सजिएका स्थानीयले भव्य स्वागत गरेछन् । त्यो थाह पाएपछि भने मन खुबै चुकचुकायो ।
पोखराबाट आएका पइलटहरुले अघिल्लो दिन(चैत ११)मा नै रमिते डाँडाबाट टेष्ट फ्लाइट गरिसकेका थिए । पाइलटहरुले आकाशमा उडेर राष्ट्रिय झण्डा पनि फहराएका थिए । एकैपटक आकाशमा थुप्रै प्याराग्लाइडिङ उडेको देख्दा सबैमा चासो बढेको थियो । स्थानीय पत्रपत्रिका, सञ्चारमाध्यमहरुमा पनि यो कार्यक्रमले राम्रै स्थान पाएको थियो । धरानलाई साहसिक खेल पर्यटनको गन्तव्य बनाउने भन्दै कार्यक्रमप्रति सबै सकरात्मक । प्याराग्लाइडिङको रमाइलो दृष्य हेर्न स्थानीय र धरान बजारबाट थुप्रै मानिसहरु उक्लिएका थिए । धरानबाट करीब ४ किलोमिटर पश्चिमउत्तरमा अवस्थित त रमिते डाँडा । डाँडैभरि प्याराग्लाइडिङको रमिता हेर्न भेला भएकाहरुको घुइचो । बच्चादेखि वृद्धवृद्धा सम्म निक्कै चाख मानेर आएका । धरानमा स्कुल पढ्दाका मेरा साथीहरु पनि त्यही भेटिए । उनीहरु धरानबाट हिड्ेरै आइपुगेको । दर्शकको घुइचो देखेर आयोजक नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ संघ(नेफा) र स्थानीय संयोजक एक्स्ट्रीम धरानका पदाधिकारीहरु मख्ख थिए ।
एक्स्ट्रीम धरान संस्था साहसिक खेल पर्यटनसम्बद्ध तमोर रिभ र्याफ्टिङ, बुढासुब्बा प्याराग्लाइडिङ, राइडर्स एण्ड एमटिबि जोन, रोयल इष्टर्न इन्फिल्डर्स, धराने टे«कर, स्टिाटिक इन्ग्रेभर्स, मोडिफिकेशन धरानलगायत मिलेर गठन भएको हो । यो संस्था धरान र पुर्वको साहसिक खेल पर्यटन प्रर्वद्धन र विकासमा सक्रिय छ । त्यही भएर नेफाले विश्वास गरेर राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न दिएको थियो । रसियन, चाइनीजसँगै पोखराबाट ४० जना सोलो र १३ जना टेण्डम पाइलट धरान माथिको आकाशमा उड्दैथिए । त्यसैले, एकुरेसी च्याम्पियनसिप नाम दिइए पनि हामीले प्याराग्लाइडिङ उत्सवकोरुपमा लिएका थियौं । नेपालमा व्यावसायिक प्याराग्लाइडिङ पोखरामा मात्रै फष्टाएको छ । पहिलो पटक पुर्वमा यतिको भव्य कार्यक्रम हुदै थियो । यसले पुर्वमा साहसिक खेल पर्यटनको सम्भावनालाई प्रर्वद्धन गर्ने सबैको अपेक्षा छ । हुन त धरान–भेडेटार सडकखण्डको छोटीमोरङ डाँडाबाट स्काई एडभेञ्चरले व्यावसायिकरुपमा उडान शुरु गरिसकेको छ । अर्को बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले रमिते डाँडाबाट उडान शुरु गर्ने तयारीमा छ । उसले नागरिक उड्यान प्राधिकरणबाट ए.ओ.सि. पाउनमात्र बाँकी छ ।
पहिला पाँचकन्या गाविसमा पर्ने रमिते डाँडा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । यहाँबाट धरान शहरको दृष्य ९५ प्रतिशतभन्दा बढी देखिन्छ । यस्तो अन्यत्र कतैबाट देखिन्न । त्यसैले हाइकिङ गर्दै यहाँसम्म आउने, धरानलाई नियाल्दै थकाई मार्नेहरुको संख्या बढ्दो छ । घुम्न आउनेहरुको संख्या बढेपछि डाँडामा होटल, रिसोर्ट पनि खुलिसकेको छ । केही भिरालो यो डाँडालाई स्थानीयसँग सहकार्य गरेर बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले टेकअफ् स्थलकोरुपमा संरक्षण गरेको छ । पर्यटनको महत्व बुुझेपछि स्थानीयले त प्याराग्लाइडिङ संरक्षण समिति नै बनाएका रहेछन् । समितिका अध्यक्ष दिपेन राईका अनुसार टेकअफको संरक्षण गर्न थालेको ३ बर्ष भइसकेछ । आफुहरुले अपेक्षा गरेभन्दा भव्य कार्यक्रम भएकोमा उनीसँगै स्थानीयबासीहरु खुशी देखिए ।
बिहान ८ बजेभित्र प्याराग्लाइडिङ उडान शुरु गर्ने तयारी थियो । तर, औपचारिक कार्यक्रमले केही ढिलो भयो । प्रमुख अतिथि थिए, धरान उपमहानगरपालिका कार्यकारी अधिकृत टिकादत्त राई । नेफाका उपाध्यक्ष कृष्णहरि सुवेदी, महासचिव शैलेन्द्र राउतलगयत अन्य पदाधिकारी पनि थिए । पर्यटनसम्बद्ध संस्थाहरु, व्यावसायीहरुको पनि उपस्थिति थियो । नेफाका उपाधयक्ष सुवेदीले पाइलटहरुले यो टेकअफ् औधी मन पराएको उल्लेख गर्दै प्रशिक्षण केन्द्रकोरुपमा विकास गर्ने वचन दिए । प्रमुख अतिथि राईले प्राविधिक टोलीका पाइलटद्धय सुरेन गुरुङ र देशविर जिमीलाई ग्लाइडर हस्तान्तरण भएपछि प्रतिक्षाको घडि आयो । पाइलटहरु एकपछि अर्को गर्दै उड्न तयारी थाले । आकाशमा मान्छे उडेको हेर्न ब्यग्र थियौं । सबैभन्दा पहिला टेण्डम फ्लाइट भयो । टेण्डममा एना नामकी अमेरिकी ट्याटु आर्टिष्ट उडिन् । सबैले ताली बजाए । कसैले सिटि फुके । रमिते डाँडामा खुशी, उत्साहको सञ्चार भयो । एक पछि अर्को सोलो पाइलटहरु उड्न थाले । आकाशमा चरा जस्तै जता मन लाग्यो त्यतै जान पनि सकिने । रमिते डाँडामा रमिता नै भो ।
च्याम्पियनसिपमा सहभागी सोलो पाइलटहरु उडिसकेपछि अतिथि उडाउने योजना थियो । झण्डै एघार बजिसकेको थियो । एभिन्युज टिभिका पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेल दाई उडे । त्यसपछि, प्रमुख अतिथि टिकादत्त राई, धरान उपमहनगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, बराह ज्वेलर्स इण्ड्रष्ट्रिज प्रालिका मानबहादुर बिश्वकर्मादेखि ६३ बर्षीय नरबहादुर राई पनि उडे । उनीहरुलाई पाइलटले कति हो कति माथि उडाए । टेण्डम पाइलटहरुले त बेला बेला ‘स्विङ र एक्रोब्याटिक’ कला देखाउदै हामीलाई छक्कै पारे । पाइलटले फन फनी घुम्दा त दुर्घटना भएर खसेको झै लाग्थ्यो । दर्शकहरु के भयो भन्दै चिच्याउथे । एक्स्ट्रीमका अध्यक्ष लेखमणी जिमी, पाइलट देशवीर जिमीलगायतले यो स्टण्ट देखाएको भन्दा मात्रै मन शान्त हुने । एउटा टेण्डम त जहाँबाट उडेको त्यही डाँडामा ठोक्किएला झै गरि आयो । हामी दर्शक त निहुरिनु पर्यो । उनले निक्कैबेर स्टण्ट देखाएर रमाइलो गराए । पहिलो दिन दिउँसो २ बजेपछि च्याम्पियनसिपमा सहभागी पाइलटहरुले फेरी रमिते डाँडाबाट उडान गरेका थिए ।
ल्याण्डिङस्थल धरान १७ स्थित प्रस्तावित एयरपोर्टको जग्गा पश्चिम सर्दु खोला किनारमा बनाइएको थियो । त्यहाँ पहिलो र दोस्रो समापनको दिन सम्हाल्न नसक्ने गरी दर्शकहरुको घुइचो । आकाशमा रंगीविरङ्गी प्याराग्लाइडिङको दृष्यले रोमाञ्चित बनाउथ्यो । मोवाइलबाटै फोटो र भिडियो खिच्नेको भीड । तीन वटा गोलो घेराको मध्यभागमा रातो भाग । त्यसको बीचमा अण्डा राखिएको । पाइलटले ल्याण्डिङको क्रममा त्यो अण्डालाई कुल्चेर फुटाउनुपर्ने ‘टास्क’ । जसले ठिक तरिकाले फुटाउन सक्यो, त्यसैको आधारमा पहिलो, दोस्रो र तेस्रो पुरस्कार पाउने । ज्यादै कम पाइलट मात्रै सफल भए । कोही सर्दुको बगरतिर, कोही खेततिर ल्याण्डिङ गर्थे । पाइलटहरु ल्याण्डिङ हुदै गर्दा दर्शकहरु ताली बजाउदै, चिच्याउदै उत्साह जगाइदिन्थे । पाइलटहरु पनि औधी खुशी थिए ।
चैत १३ गते शनिबार ल्याण्डिङस्थलमा समापन समारोह राखिएको थियो । बिहान च्याम्पियनसिपको उडान सकिएपछि सोलो र टेण्डम पाइलटहरुले फन फ्लाइङ गरेर दर्शकहरुलाई मनोरञ्जन दिलाए । प्रमुख अतिथि रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट र नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठ त्यता नआई टेकअफ्स्थल रमिते डाँडा तिर पो गएछन् । दुवै प्याराग्लाइडिङमा उडेर ल्याण्डिङ गरे । च्याम्पियनसिपमा पाइलट विजय गौतम पहिलो, सागर जलारी दोस्रो र गौरव कँडेल तेस्रो भए । उनीहरुले क्रमशः ट्रफी, मेडलसँगै नगद २५ हजार, १५ हजार र १० हजार पाए । धरानको आकाशमा ८ बर्षअघि पहिलो पटक प्याराग्लाइडिङ गरेर साहसिक खेल पर्यटनको जग बसाल्ने व्यक्ति हुन्, धरान १५ का तारामणी राई । समापन समारोहमा उनी धरानको पहिलो प्याराग्लाइडिङ पाइलटकोरुपमा सम्मानित भए । यस्तै, विगत ६ बर्षदेखि धरानमा नियमितरुपमा प्याराग्लाइडिङ गरेर साहसिक खेल पर्यटनको प्रर्वद्धन एवं विकासमा योगदान गरिरहेका पाइलट तथा प्रशिक्षकद्धय सुरेन गुरुङ र खुम गुरुङ(गुरु बा)लाई पनि बिशेष सम्मान गरियो । उनीहरुबाट धरानबासीले भविष्यमा पनि पर्यटन विकासमा निरन्तर साथ सहयोगको अपेक्षा गरेका छन् । नेफाका पदाधिकारी र राखेपका सदस्य सचिव विष्टले पनि प्याराग्लाइडिङसँगै अन्य साहसिक खेल पर्यटनको विकासमा सहयोग गर्ने वचन दिएका छन् । उनीहरुको प्रतिवद्धता भाषणमा मात्रै सिमित नहोस् । देशको आर्थिक समृद्धिको आधार पर्यटन हो भन्नेमा सबै प्रष्ट छौं । नेतृत्वले आफ्नो प्रतिवद्धता मात्रै सम्झीदिए पुग्छ ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे