इतिहासले विर्सिएका लिम्बुवानका योद्धा सोपाहाङको सालिक बनाइने

धरान । गोर्खा–लिम्बुवान युद्ध हुदा शाहदात प्राप्त गरेपनि इतिहासले विर्सिएका सागापहाङ नाल्बो लिम्बूको स्मृतिमा पुर्ण कदको सालिकसँगै स्मृति प्रतिष्ठान बनाइने भएको छ । ताप्लेजुङको सान्थाक्रामा सागापहाङको स्मृतिमा आगामी बैशाख १६ गते स्मरण कार्यक्रमको तयारीसमेत भइरहेको छ ।
सागापहाङ स्मरण बर्ष मुल आयोजक समिति २०७३ ले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी बर्षमा स्मृति प्रतिष्ठानसँगै उनको पुर्ण कदको सालिक पनि निर्माण गर्ने जानकारी गराएको छ । समितिका संयोजक एवं पुर्व सभासद राजकुमार नाल्बोले स्मृति प्रतिष्ठान र सालिकसँगै लिम्बुवान सहिद स्मारक र लिम्बुवान संग्रहालय पनि निर्माण गर्ने तयारी भइरहेको बताए । ‘लिम्बुवान स्वाधिनताको लागि लड्दा लड्दै वीरगति पाएका योद्धाको सम्मानको लागि लागिपरेका छौं । युद्धको बेला एउटा गणको नेतृत्व गरेको योद्धा हुन् सागापहाङ तर इतिहासको ठेलीमा छुटेका व्यक्ति हुन्’–संयोजक नाल्बोले भने–‘एउटा वीर योद्धा इतिहासका ठेलीबाट कसरी हरायो, हामी खोजी गरिरहेका छौं ।’
२०७३ सालदेखि सान्थाक्रामा सालिक, स्मारक र संग्रहालय निर्माणको कार्य थालनी हुने समितिले जनाएको छ । लागत करिब  एक करोड रुपैया लाग्ने अनुमान छ । स्थानीयबासीले हालसम्म ३० रोपनी जग्गा दिइसकेका छन् भने थप उपलब्ध हुने क्रम जारी रहेको संयोजक नाल्बोले बताए । हस्त लिखित नाल्बो वंशावली अनुसार अहिलेभन्दा १२ पुस्ता अघिका तुम्याङसाङका जेठा छोरा थिए सागापहाङ । उनी गोर्खा लिम्बुवान युद्धमा संखुवासभाको चैनपुरस्थित हाङलुङमा मारिएको बताइन्छ । इतिहासविद एवं लिम्बु फेदाङ्मा रणध्वज सेरेङ चोङबाङका अनुसार लिम्बुवानको मेवा खोलामा सेनाको मेरिङदेन गण थियो । सागापहाङ त्यही गणका महारथी(सेना प्रमुख) थिए । त्यो पदलाई त्यसबेला थक्थुङ्वा भनिन्थ्यो । उनले १८२७ मा जिम्मेवारी पाएका थिए । युद्धमा १८३१ मा युद्धमा चैनपुरमा मारिएको खोजको क्रममा भेटिएको इतिहासविद् सेरेङ चोङवाङले बताए ।

अर्का इतिहास खोजकर्ता एवं लेखक अर्जुनबाबु माबुहाङका अनुसार लिम्बुवानका अरु सबै गोर्खालीतिर लागेपनि सागापहाङ भने विरुद्धमा उभिने योद्धा हुन् । त्यही भएर उनलाई चैनपुरको सिद्धिपुरभन्ने स्थानमा मारिएको भन्ने कथन रहेको पनि बताए । राज्यसत्तासँग नजोडिएको कारण नाल्बोहरुको इतिहास सामाजिक इतिहास मात्रै बनेको उनको भनाई छ । थरपिच्छेको इतिहास टुंगो नलागेसम्म लिम्बुको इतिहास तयार नहुने पनि माबुहाङले बताए । संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिंदेनले सागापहाङ जस्ता चेतनशील योद्धा भएकै कारण लिम्बुवान गोर्खा राज्यमा विलय नभई स्वायत्त रहेको बताए । ‘स्मारक शहर बजारको चोकमा बनाउने चलन छ, तर सागापहाङको सालिक गाउँमा बन्न लागेको रहेछ । यो लिम्बुवान स्वायत्तताको आन्दोलनको सफलता मान्नुपर्छ’–उनले भने–‘आन्दोलन मन्त्री बन्न मात्रै होइन, पुर्खाको इतिहासलाई ज्युदो राख्न र गाउँ गाउँमा पुर्याउने अभियान पनि हो ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे