कर्मचारी संघको आर्थिक हिनामिना विवाद चर्कदै

धरान । नेपाल राष्ट्रिय संयुक्त कर्मचारी संघ सुनसरीको अध्यक्ष र अन्य पदाधिकारीबीचको आर्थिक हिनामिना विवाद चर्कदै गएको छ ।  संघका अध्यक्ष भोलाप्रसाद चौधरीले आफुहरुलाई थाहै नदिई संस्थाको रकम व्यक्तिगतरुपमा खर्च गरेको अन्य पदाधिकारीको आरोप छ । उनीहरुले शुक्रबार अध्यक्ष चौधरीले संस्थाको रकम आर्थिक अपचलन गरेकोले छानबिन गरि कार्वाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् भने सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चौधरीले संस्थाको अढाई लाख बढी रकम व्यक्तिगतरुपमा खर्च गरेर हिनामिना गरेकोसमेत सार्वजनिक गरेका थिए ।
अध्यक्ष चौधरीले पनि सोमबार नै पत्रकार सम्मेलन गर्दै संस्थाको रकम खर्च गरेर विल भपाई नबुझाउने केही पदाधिकारीले मित्थ्या आरोप लगाएको दाबी गरे । आर्थिक अपचलन गर्ने ती ४ जना पदाधिकारीलाई संघले निलम्बन गरिसकेको पनि उनको दाबी छ । संस्थाका वरिष्ठ उपाध्यक्ष झलकबहादुर श्रेष्ठ, महासचिव भेगलाल श्रेष्ठ, सचिव कृष्णकुमार श्रेष्ठ, भवन निर्माण समितिकी अध्यक्ष मञ्जु भण्डारी, जग्गा दाता एवं भवन निर्माण समितिका सचिव कुमार श्रेष्ठलगायतले सोमबार अध्यक्ष विरुद्ध पत्रकार सम्मेलन गर्दै आर्थिक हिनामिना गरेकोले कारबाही हुनुपर्ने माग गरे । संघ दर्ता भएको ५ बर्ष बितिसक्दा पनि साधारण सभा नगरी तदर्थ समितिले नै काम चलाइरहेको र संस्थाको रकम निर्णय नै नगरी जथाभावी झिकेर व्यक्तिगत खर्च गरेको उनीहरुको आरोप छ ।
धरान २१ खैरेनीटारमा जग्गा प्राप्त भएपछि भवन बनाउनको लागि धरानका १९ वटै वडामा निवृत्त कर्मचारीहरुबाट आजिवन सदस्यता शुल्क वापत २ लाख १३ हजार ३ सय ५१ रुपैया संकलन भएको थियो । त्यसमध्ये ६२ हजार २ सय १९ रुपैया मात्रै संस्थाको विभिन्न काममा खर्च भएको असन्तुष्ट पदाधिकारीहरुको भनाई छ । बाँकी १ लाख ५१ ह्जार १ सय ३२ रुपैयामध्ये ७६ हजार ४ सय २६ रुपैया मात्रै कृर्षि विकास बैंकमा जम्मा भएको भेटिएको थियो । बाँकी  ७४ हजार ७ सय ६ रुपैया भने अध्यक्ष चौधरीले व्यक्तिगतरुपमा खर्च गरेको र अहिले बैंकमा भएको पैसा पनि निकालेर अपचलन गरेको पाइएको उपाध्यक्ष श्रेष्ठले बताए ।
यस्तै, धरान ८ निवासी आजिवन सदस्य लोकनाथ कोइरालाले आफ्नो जग्गा विवाद मिलाइदिए वापत संस्थालाई दिएको एक लाख रुपैया पनि संस्थागत निर्णय बेगर नै अध्यक्ष चौधरीले निकालेर खर्च गरेको पाइएको अन्य पदाधिकारीको भनाई छ । धरानको मितेरी बैंकमा दाता कोइराला, महासचिव भेगलाल श्रेष्ठ, कोषाध्यक्ष र अध्यक्ष चौधरीको नाममा संयुक्त खाता खोलेर एक लाख जम्मा गरिएको थियो । चेकमा अध्यक्ष चौधरीको अनिवार्य र दाता कोइरालाको हस्ताक्षर चल्ने गरि जम्मा गरिएको थियो । तर, उक्त रकमबारे आफुहरुलाई एक वचन पनि नसोधी अध्यक्षले निकालेको महासचिव श्रेष्ठले बताए । ‘मलाई त नाम मात्रैको महासचिव बनाएको छ, कागजपत्र माइन्युट, स्टाम्प केही छैन । सबै अध्यक्षकै जिम्मामा छ । समितिको निर्णय विना नै अध्यक्षले जथाभावी पैसा निकालेको रहेछ’–उनले भने ।
यस्तै, शान्तिको लागि विकास कार्यक्रमअन्र्तगत संस्थाको भवन निर्माणको लागि ३० लाख रुपैया पञ्चबर्षीय योजनामा परेअनुसार आर्थिक बर्ष ०७१/०७२ मा पहिलो किस्तावापत ३ लाख रुपैया विनियोजन भएको थियो । भवन निर्माणको लागि मञ्जु भण्डारीको संयोजकत्वमा समिति चयन गरेर काम शुरु भएपछि अध्यक्ष चौधरीले पहिलो किस्ता निकासा पछि ३० हजार रुपैया कमिशन मागेको र नदिदा जिल्ला प्राविधिक कार्यालयमा गएर निकासा रोक्कासमेत गरेको निर्माण समितिका सचिव एवं जग्गा दाता कुमार श्रेष्ठले बताए । अध्यक्षलाई पछि २० हजार रुपैया दिएपछि मात्रै रोक्का फुकुवा भई विल भपाई तथा फारफारक हुन सकेको उनले बताए । यस्तै, आर्थिक बर्ष २०७२/०७३ मा २ लाख ६० हजार विनियोजन भएकोमा कसैलाई पनि जानकारी नदिई आफै निर्माण समितिको अध्यक्ष भएको झुटो माइन्युट लेखेर धरान उपमहानगरपालिका र जिल्ला प्राविधिक कार्यालयमा बुझाएको भेटिए पनि बैठक बसेर पुरानै निर्माण समितिले काम गर्ने र ०७३ बैशाख पहिलो साताभित्र साधारण सभा गरिसक्ने निर्णय भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।
आरोपित अध्यक्ष चौधरीले भने ४ लाख ६० हजार रुपैयाको विल भपाई बुझाउन नसकेपछि निलम्बनमा परेका व्यक्तिहरुले आफुमाथि झुटो आरोप लगाएको दाबी गरेका छन् । आजिवन सदस्य कोइरालाबाट आएको एक लाख रुपैया सहयोग पुनः उनैलाई फर्काइदिएको चौधरीको भनाई छ । ‘आर्थिक अनियमितता गरेकोले संस्थाले बैशाख ९ गते संघका उपाध्यक्ष झलकबहादुर श्रेष्ठ, भवन निर्माण समितिका अध्यक्ष मञ्जु भण्डारी, सचिव कुमार श्रेष्ठ र कोषाध्यक्ष पर्शुराम बिकलाई निलम्बन गरेको छ, अहिले उनीहरु नै मलाई हिनामिना गरेको आरोप लगाउदैछन्’–अध्यक्ष चौधरीले भने । उनका अनुसार संघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ३० हजार लगेको दुई बर्ष बितेपनि हिसाब बुझाएका छैनन् भने कोषाध्यक्षले ७३ हजार लगेर पनि विल भपाई दिएका छैनन् । यस्तै, निर्माण समितिकी अध्यक्ष भण्डारीले पनि २२ हजार लिएको र अरु सबै पैसाको जिम्मा निर्माण समिति सचिव श्रेष्ठसँग भएको उनको जिकिर छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे