प्रधानमन्त्रीले भनेजस्तो धरानमा बाइपास सम्भव होला ?

 धरान । जोगवनी–किमाथांका जोड्ने कोशी राजमार्ग सडक मापदण्डअनुसार विस्तार हुदा धरानको मुख्य बजार क्षेत्रको घरहरु भत्कने भएकोले स्थानीयहरु निक्कै चिन्तित थिए । तर, शुक्रबार एमाले धरानको ७ औं अधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले बजार क्षेत्रका घरधनीलाई खुशी दिलाउने गरि भाषण गरे ।
उनले राजमार्ग विस्तार हुदा घर भत्कने चिन्ताग्रस्त धरानेहरुलाई भने–‘तपाईहरुले चाहनुभएको सेउती खोलाको साइडबाट बाटो लैजाने र यो बजारको स्वरुप नबिग्रार्ने होइन ? म त्यो गर्दिन्छु । यो बजेटमै पार्छु । तपाईहरुको एकता र साथ चाहिन्छ ।’ बजारको स्वरुप नबिग्रने गरी सेउती खोलाको किनार हुदै वाइपास निकाल्ने प्रस्तावले पनि मुर्तरुप लिन सकेको थिएन । प्रधानमन्त्री ओलीको आश्वासनसँगै भानुचौकमा उपस्थिति सयौंले ताली बजाएर स्वागत गरेका थिए ।
कोशी राजमार्गको सडक मापदण्ड मिचेर बसेको धरानको मुख्य बजार क्षेत्रलाई जोगाउदै प्रधानमन्त्री ओलीले भनेजस्तै धरानमा कोशी राजमार्गको बाइपास सडक खुलाउन सम्भव छ ? कि प्रधानमन्त्रीले फुस्रो आश्वासन मात्रै बाडेको हो ? जवाफमा धरान उपमहानगरपालिकाका योजना शाखा प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठ भन्छन्–‘प्रधानमन्त्रीले नै चाहेको हो र मन्त्रीपषिदले निर्णय गर्ने हो भने यो सम्भव छ ।’ उनका अनुसार धरान उपमहानगरले दुई साताअघि मात्र सेउती किनारबाट बाइपास सडकको प्रस्ताव राष्ट्रिय योजना आयोगमा पेश गरेको छ । उक्त प्रस्तावमा सेउती कोरिडोरबाट १२ किलोमिटरको बाइपास रोड फुस्रेमा निकालेर पुनः कोशी राजमार्गमा जोड्ने योजना छ । यसको लागि एक किलोमिटर बराबर अढाई करोडको दरले खर्च हुने अनुमान छ । ‘सरकारले ३०, ३५ करोड बजेट व्यवस्था गरिदियो भने धरानमा बाइपास निकाल्न सम्भव छ’–इञ्जिनियर श्रेष्ठले भने–‘त्यसो गर्दा मुआब्जा वा क्षतिपुर्तिको समस्या पनि हुदैन, बजार र विकास पनि बिकेन्द्रीत हुन्छ ।’
सडक मापदण्डअनुसार कोशी राजमार्ग ५०(सेन्टरबाट २५/२५) मिटर हुनुपर्छ । सडकसँग जोडिएको कसैको निजी जग्गा छ भने थप ६ मिटर छोड्नुपर्छ । यसहिसाबले राजमार्ग कुल ६२ मिटर चौडा हुनुपर्छ । तर, धरान बजार क्षेत्र भने कोशी राजमार्ग मिचेर बसेको छ । बजार क्षेत्रमा मात्र १५ मिटर चौडा सडक छ । सडक मिचेर बनेको घर तथा भवनहरुलाई उपमहानगरपालिकाले पनि नक्सा पास गर्दै बैधता दिएको छ । जोगवनी किमाथांका जोड्ने यो राजमार्ग विस्तार गर्नुपर्दा ती सबै घर एवं संरचनाहरु भत्काउनुपर्ने हुन्छ । उपमहानगरका इञ्जिनियर श्रेष्ठले राजमार्गकै मापदण्ड पालना गर्नुपर्ने भएपनि धरानमा ०४५ सालदेखि नगर विकास समितिले बनाएको मापदण्डअनुसार नक्सा पास गर्नुपर्दा समस्या निम्तिएको बताए । ‘तत्कालीन नगर विकास समितिको मापदण्डलाई फ्लो गर्दा यो स्थिति आयो । सरकारले पनि समयमै चासो दिन सकेन’–उनले भने । अहिले भने स्थानीय विकास मन्त्रालयले सडक क्षेत्रमा सडक ऐन आकृष्ट हुने भएकोले त्यसअनुसार नै गर्नुभन्दै परिपत्र पठाएपछि नगर विकास समितिको मापदण्डअनुसार नक्सा पास प्रक्रिया रोकिएको छ ।
झापाको दमकस्थित पुर्वाञ्चल सडक डिभिजन कार्यालयका प्रमुख शिवहरी सापकोटाले भने धरानमा कोशी राजमार्गको बाइपास लैजानेबारे विभाग र डिभिजन कार्यालयले तत्काल केही नसोचेको बताए । बजार क्षेत्रमा नगर विकास समितिको मापदण्डले समस्या निम्त्याएको स्वीकार्दै उनले त्यसबारे कसरी समन्वय गर्ने भनेर आफुहरु पनि गम्भीर रहेको उनले खलाए । ‘धरानमा बाइपास बारे केही सोचेकै छैन, अहिलेसम्म राइट अफ वे २५÷२५ मिटर नै हो । राजपत्रमा अर्को निस्केको छैन’–सडकका पुर्वाञ्चल क्षेत्रीय निर्देशक सापकोटाले भने–‘बाइपास गर्ने हो भने आवाज उठ्नुपर्छ, र सडक विभागले आदेश दिएपछि सम्भाव्यता अध्ययन गरेर मात्रै सम्भव हुन्छ ।’
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ समयमै कोशी राजमार्गको विकल्प नखोज्ने हो भने धरानले ठुलो क्षति व्यहोर्नुपर्ने बताउछन् । उनका अनुसार अहिले पनि बजार क्षेत्रका घरधनीहरु ठुलो मारमा छन् । नयाँ घर बनाउन खोज्दा उपमहानगरपालिकाले के गर्ने भनेर प्रष्ट भन्न सक्दैन भने बैंकमा धितो राखेर ऋण निकाल्न खोज्दा बैंक पनि दोधारमा पर्छ । ‘बैंकले ऋण नै दिदैन, बाटोले धेरै जग्गा काटिदिन्छ कि भन्ने दोधारले बैंकहरुले घरजग्गाको मुल्यांकन नै गर्दैन’–श्रेष्ठले भने–‘धेरैले हामीलाई गुहारेका छन्, यसबारेमा समयमै पहल नगर्ने हो भने पछि ठुलो समस्या निम्तिन्छ ।’

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे