सनराइज बैंक र टेम्पो व्यावसायीबीच सहुलियत ऋण सम्झौता

धरान । नेपाल सरकारले तोकेको मापदण्ड वमोजिमको टेम्पु खरीद गरी सञ्चालन गर्न सनराइज बैंक लिमिटेड र धरानका चार वटा टेम्पो व्यावसायी संघबीच सम्झौता भएको छ । धरानमा रहेको धरान टेम्पो व्यावसायी संघ, टेम्पो व्यावसायी समिति, कोशी टेम्पो सिण्डिकेट र जनसेवा यातायात सिण्डिकेट र सनराइज बैंकबीच सोमबार सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।
हरियाली सामुदायिक वन समुहको हलमा एक समारोहबीच बैंकका सहायक महाप्रबन्धक रविन नेपाल, रिटेल हेड गणेश रेग्मीको उपस्थितिमा ती संघ तथा सिण्डिकेट र बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । धरान टेम्पो व्यावसायीका अध्यक्ष राम तामाङ, टेम्पो व्यावसायी समितिका अध्यक्ष अशोक राई, कोशी टेम्पो सिण्डिकेटका अध्यक्ष हिमाल श्रेष्ठ र जनसेवाका विकेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । नेपाल प्रदुषण ऐन २०६९ ले तोकेको मापदण्ड वमोजिमका युरो ३ प्रमाणित सवारी साधान मात्रै यो बर्षदेखि सडकमा गुड्न पाउछ । बीस बर्ष अवधि पुगेको सवारी साधानहरुको यो बर्षदेखि नवीकरण हुदैन । टेम्पो व्यावासायीहरुका अनुसार पुरानो टेम्पोलाई प्रतिस्थापन गरी सरकारको मापदण्डअनुसार टेम्पो चलाउन बैंकसँग सम्झौता भएको हो । धरानमा साढे ३ सयको संख्यामा टेम्पोहरु गुड्छने भने यी ४ वटा संघमा ३ सय ४ को हाराहारीमा टेम्पो आवद्ध छन् ।
सनराइज बैंकले साढे ९ प्रतिशत ब्याजदरमा व्यावसायीहरुलाई लगानी गर्ने सम्झौता छ । यो सम्झौता धरानस्थित बजाज टेम्पोको डिलरको पहल एवं समन्वयमा भएको हो । बैंकले ६५ प्रतिशत अर्थात ३ लाख रुपैया लगानी गरिदिनेछ । सम्झौता अनुसार टेम्पो संघ र डिलर ग्यारेण्टी बसेर सिफारिश भएपछि बैंकले व्यावसायी तथा चालकलाई टेम्पो उपलब्ध गराउछ । ती टेम्पो रुट परमिट भएको सट्टा मात्रै दर्ता भएर सञ्चालन हुन पाउनेछन् । सम्बन्धित संघ र नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको सिफारिशमा मात्रै टेम्पोको नामसारी हुन्छ । संघको पहलमा डिलरले बजाज कम्पनीको टेम्पो ४ लाख ६५ हजारमा उपलब्ध गराउने आन्तरिक सहमति छ । यो टेम्पोको खास मुल्य ४ लाख ९० हजार हो ।
सम्झौता पछि खुशी व्यक्त गर्दै मजदुर तथा व्यावसायीहरुले धेरै राहत मिलेको प्रतिक्रिया दिए । साथै उनीहरुले रुट परमिट विनाको टेम्पोहरु जथाभावी बिक्री वितरण भइरहेकोले पछि समस्या आउने हुदा सचेत हुन पनि आग्रह गरेका छन् । ‘२० बर्ष नाघेको पुरानो टेम्पो जसरी पनि रिप्लेस गर्नुथियो, तर बैंकले सहुलियतमा ऋण दिदा दैनिक आम्दानी गरेर जिविका चलाउनेहरुलाई धेरै राहत पुगेको छ’–कोशी टेम्पोका अध्यक्ष हिमाल श्रेष्ठले भने–‘रुट परमिट भएको टेम्पोको सट्टा मात्रै नयाँ दर्ता हुन्छ, यसबारेमा यातायात कार्यालय र सिडिओमा पनि जानकारी गराइसकेका छौं । त्यसैले रुट दिलाउछौं भन्दै बिक्री गर्ने टेम्पो डिलरहरुसँग सबै सचेत हुन आग्रह छ ।’
बैंकका रिटेल हेड गणेश रेग्मीले व्यावसायीहरुको मेहनतलाई साथ दिदै धरानका सबै टेम्पो व्यावसायीहरुलाई नयाँ टेम्पो लिन ऋण प्रदान गर्ने निर्णय भएको सुनाएका थिए । संघबाट सिफारिश भइ आउने व्यावसायीले ५ मिनेटमै सहज र सरल तरिकाले सेवा पाउने उनको दाबी थियो । ‘जो जो इच्छुकहरु हुनुहुन्छ, संघमा आवद्ध सबैलाई ऋण दिने निर्णय भएको छ । तपाईहरुले ५ मिनेटमा नै सहज र सरल तरिकाले सेवा पाउनुहुनेछ’–उनले भने । बैंकका सहायक महाप्रबन्धक रविन लम्सालले ऋण दिएको नभई बैंकले व्यावसायी बनाउने प्रयास गरेको बताए । बैंकका धरान शाखा प्रबन्धक सुर्यबहादुर बलम्पाकीका अनुसार बढीमा ५ बर्षभित्र किस्ता तिरिसक्ने सर्तमा ऋण दिइएको हो । व्यावसायीहरुले चाडै तिर्न चाहेमा त्यो पनि सुविधा दिइएको उनको भनाई छ । ‘संघ र डिलर ग्यारेण्टी बस्ने हो, धितो त टेम्पो नै हुन्छ । धरानमा ४ संघको ३०४ टेम्पोलाई लगानी गर्ने निर्णय भएको छ’–उनले भने । सोही अवसरमा ऋण स्वीकृत भइसकेका १३ जना व्यावसायीहरुलाई बैंकले बजाज रे टेम्पो अर्डर गरेको कागजात पनि प्रदान गरेको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे